Hindi Films

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या १ करोड २२ लाख, ८ गते नामावली प्रकाशन

Unknown | 09:37 | 0 comments

अघिल्लो निर्वाचन भन्दा ५४ लाख कमः काठमाडौं, श्रावण १ । दोस्रो संविधानसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा १ करोड २२ लाख जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । देशभरका निर्वाचन कार्यालयमा १ करोड २२ लाख १ हजार ९ सय २० जनाले नामावली दर्ता गराएको निर्वाचन आयोगले आज जनाएको छ । नामावली दर्ता गर्ने अन्तिम दिन हिजो एकै दिन मात्र देशभरबाट १ लाख ५६ हजार जनाले नाम दर्ता गराएको आयोगले जनाएको छ । देशैभरका निर्वाचन कार्यालयमा अन्तिम दिन नाम दर्ता गराउनेको घुँइचो लागेको थियो ।
आयोगले हिजो मध्यराति साढें १२ बजेसम्म पनि मतदाता नामावली संकलनको काम गरेको थियो । काठमाडौं लगायतका कतिपय निर्वाचन कार्यालयमा भने हिजो लाइन बसेर टिकट लिएकाहरुको आज पनि नाम दर्ता गरिएको छ । अघिल्लो निर्वाचनमा १ करोड ७६ लाख मतदाता रहेकोमा यस पटक मतदाता संख्या ५४ लाखले घटेको देखिएको छ । आयोगले विगतमा सम्बन्धित ब्यक्ति नभए पनि अरुले नै नाम दर्ता गरिदिने, एउटै व्यक्तिले धेरै ठाउँमा नाम दर्ता गर्ने गरेका कारण मतदाताको संख्या बढी देखिएको दाबी गरेको छ । यसपटक मतदाता स्वंय उपस्थित भई फोटोसहितको नाम लेखाउनु पर्ने भएकाले मतदाता घटेको तर्क आयोगको छ । विज्ञहरुले भने अघिल्लो निर्वाचनमा नागरिकता नभएकाहरु पनि मतदाता बन्न पाउने सुविधाका कारण मतदाता संख्या अत्यधिक पुगेको बताएका छन् । आयोगले असार मसान्तभित्र संकलन गरेको मतदाता नामावली साउन ८ गते पहिलो नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसैगरी साउन ८ गतदेखि नामावलीमा रहेको त्रुटि सच्चाउने, नामावलीमा दाबी, विरोध गर्ने र दोहोरो नाम हटाउने काम सम्पन्न गरी साउन २२ गतेसम्म जिल्लादेखि गाविससम्म अन्तिम नामावली प्रकाशन गरिसक्ने जनाएको छ । एउटै ब्यक्तिले धेरै जिल्लाबाट नामावली दर्ता गरेको भए आयोगले पछिल्लो पटक दर्ता नामावलीलाई मान्यता दिएर अन्य नामावली खारेज गर्ने जनाएको छ ।

Category:

0 comments