Hindi Films

गोली प्रहारबाट गुण्डा नाइके ‘चरी’ घाइते

Unknown | 03:01 | 0 comments

२२ असार, काठमाण्डौ । गुण्डा नाइके एवम् एमाले युवा संघ धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष दिनेश अधिकारी ‘चरी’ आफ्नै समूहका असन्तुष्ट व्यक्तिहरुको गोली प्रहारबाट घाइते भएका छन् ।
प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा गरेको पत्रकार सम्मान कार्यक्रममा सहभागी भएर काठमाडौँ र्फकंदै गर्दा चरी सवार गाडीमा गएराति करिब साढे नौ बजेतिर न्हैकापमा गोली प्रहार भएको हो । गाडीको सिसा छिचोलेर गएको गोली चरीको दाहिने पाखुरामा लागेको छ । गाडी चरी आफैंले चलाएका थिए । चरीसँगै गाडीमा रहेका अरु चार जना सकुशल छन् । चरीको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनापछि चरीको गाडीको ठक्करबाट आक्रमणकारीमध्येका राजेन्द्र लामा घाइते भएका छन् । ‘म प्रेस चौतारीको कार्यक्रमबाट काठमाडौँ र्फकंदै थिएँ, अनलाइनखबरसँग कुरा गर्दै चरीले भने, ‘१५/२० जनाको समूह बाटो कुरेर बसेको रहेछ । मलाई देख्ने बित्तीकै गाडीमा गोली हाने ।’ चरीले आफ्नो हत्या गर्ने उद्देश्यका साथ गोली प्रहार भएको बताएका छन् । आफूलाई काठमाडौँ बाफलका समीरकान्त बस्नेत र राधे भन्डारीको समूले गोली हानेको दाबी चरीले गरेका छन् । उनले दुवै जना राजमार्गमा यात्रुबस लुट्ने काममा सक्रिय रहेको बताए । चरी काठमाडौँको नयाँबजार र बालाजु क्षेत्रलाई आधार बनाएर संगठित गुण्डागर्दी गर्दै आएका छन् । उनीविरुद्ध प्रहरीमा आधा दर्जन बढी मुद्धा छन् । चरी प्रहरीको फरार सूचीमा छन् । प्रहरीबाट जोगिन उनी एक वर्षअघि एमाले प्रवेश गरेका हुन् । त्यसयता उनी खुलेआम गुण्डागर्दीमा संलग्न रहँदै आए पनि एमाले नेताहरुको दबाबमा प्रहरीले पक्रन सकेको छैन । पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला ।

Category:

0 comments