एमालेमा गुण्डा देख्नुभयो भने कारवाही गर्छु : गृहमन्त्री
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
६ असार, काठमाडौं । गृहमन्त्री वामदेव गौतमले नेकपा एमालेभित्र कसैले गुण्डा देखाए त्यस्ता गुण्डलाई कारवाही गर्ने बताएका छन् । गुण्डामाथि गृहमन्त्रालयको कारवाही जारी रहेको मन्त्री गौतमको भनाइ छ ।
‘नेकपा एमालेमा कुनै गुण्डा प्रवेश गर्न पाउँदैन । कोही गुण्डा प्रवेश गरेको छैन,’ शुक्रबार राजधानीमा आयोजित केपी ओली पक्षको पत्रकार सम्मेलनमा मन्त्री गौतमले भने-’तपाईले गुण्डा प्रवेश गरेको देख्नुभयो भने त्यसलाई तुरुन्तै कानूनी कारवाही गरिन्छ ।’
एमाले उपाध्यक्षसमेत रहेका मन्त्री गौतमले भने- ‘म उपाध्यक्षको नाताले पनि भन्न चाहन्छु, गृहमन्त्री उतै कुर्सीमा छाडेर आउनुपर्छ भन्नुहुन्छ भने पनि केही फरक पर्दैन, त्यस्ता व्यक्तिलाई कारवाही गरिन्छ । ‘
गुण्डा तह लगाउने गृहमन्त्रालयको अभियान जारी रहेको मन्त्री गौतमले बताए । ‘हाम्रो अभियान जारी छ । गृहमन्त्रालयबाट गुण्डागर्दी गर्ने, कानून हातमा लिने र देशमा दण्डहीनता कायम गर्ने, अस्थिरता सिर्जना गर्ने, शान्ति भंग गर्नेहरुमाथि कारवाही छ, कारवाही भैरहेको छ, उनले भने- ‘आगामी दिनमा पनि त्यत्तिकै सशक्तरुपमा हुनेछ । हामी त्यसलाई रोक्नेवाला छैनौं ।’
ओलीको छेउमा बेग्लै कुरा
बरिष्ठ नेता केपी ओलीको अगुवाइमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका कार्यवाहक प्रधानमन्त्री गौतमलाई पत्रकारले गुण्डागर्दीबारे पुरानो अभिव्यक्ति स्मरण गराउनुपूर्व उनले पार्टीमा सबैखाले मान्छेले प्रवेश पाउनुपर्ने बताएका थिए ।
गुण्डा तह लगाउँछु भन्नुअघि माधव नेपालको आलोचना गर्दै मन्त्री गौतमले भने- ‘आज बिहानमात्रै कामरेड माधव नेपालको अन्तरवार्तामा सुनेको थिएँ, गुण्डागर्दीले पार्टी ध्वस्त हुन्छ, पार्टी ध्वस्त भएपछि नेपाल ध्वस्त हुन्छ, नेपाल समाप्त हुन्छ भन्ने कुरा गर्नुभयो । यस्तो किसिमको आरोपको कुनै धरातल छैन । समाजमा रहेका सबै किसिमका मानिसहरु पार्टीमा आउन चाहन्छन् । उनीहरुले पुराना कामहरुबाट पश्चाताप गरेर आफूलाई राम्रो बनाउनका निम्ति एउटा अवधि राख्नुपर्छ । पार्टीले निरीक्षण गर्दै ती व्यक्तिलाई प्रवेश गराउनुपर्छ ।’
गृहमन्त्री गौतमले भने-’हाम्रो समाजमा रहेका कुरीतिमा लाग्न बाध्य भएका मानिसहरुलाई पार्टीमा छुन पनि नदिने, पार्टीको काम गर्न पनि नदिने गरेर पार्टी निर्माण गर्न सक्दैनौं । कामरेड केपी ओलीले सधैंभरि भन्नुभएको छ, नेकपा एमाले एउटा यस्तो किसिमको भट्टी हो, जहाँ गलत विचार भएकाहरु खारिन्छन्, आफूलाई सुधार गर्छन्, पश्चाताप गर्छन्, आत्मालोचना गर्छन् र पार्टीमा प्रवेश गर्छन् । पार्टीमा अगाडि बढ्छन् ।’
गृहमन्त्री वामदेव गौतमले मन्त्री बनेको केही हप्तासम्म आफ्ना सम्पूर्ण भाषणहरुमा गुण्डाहरुको नाम लिन छुटाउँदैनथे । गुण्डागर्दी गर्ने र कानून हातमा लिनेहरुका दिन गए भन्ने वाक्यांश गृहमन्त्रीको प्रत्येक भाषणमा सुन्न पाइन्थ्यो । तर, शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गौतमले नेकपा एमालेलाई ‘भट्टी’को संज्ञा दिँदै त्यसमा सबैखाले मान्छेलाई प्रवेश दिइने बताएका हुन् । यद्यपि पत्रकारले पुारनो कुार सम्झाउँदा उनले भनिहाले – ‘नेकपा एमालेमा कुनै गुण्डा प्रवेश गर्न पाउँदैन ।’
‘महाधिवेशनमा सरकारी गाडी चढ्नु दुरुपयोग हैन’
पार्टीको महाधिवेशनमा मन्त्रीहरुले सरकारी गाडीको प्रयोग गर्ने बताउँदै कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गौतमले यसलाई सरकारी स्रोत रसाधनको दुरुपयोग भन्न नमिल्ने तर्क गरे ।
‘महाधिवेशनमा जाँदा मन्त्रीहरुले राज्यले दिएकै गाडी प्रयोग गर्नुहुन्छ, त्यसलाई दुरुपयोग भनिँदैन, अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले महाधिवेशनमा सरकारी स्रोत साधन दुरुपयोग हुने आंशका व्यक्त गरिरहेका बेला ओली पक्षका नेता गौतमले भने -’अन्य हिसाबले सरकारी सम्पत्तिको कुनै पनि किसिमले दुरुपयोग पनि हुनेछैन, सदुपयोग पनि हुनेछैन ।’
साइरिङ बजाउँदै पार्टीको पत्रकार सम्मेलनमा पुगेका मन्त्री गौतमले भने- ‘अहिले म गृहमन्त्री, उपप्रधानमन्त्री र कार्यबाहक प्रधानमन्त्रीको हैसियतले यहाँ उपस्थित भएको छैन, नेकपा एमालेको उपाध्यक्षको हैसियतले मात्रै यहाँ उपस्थित भएको छु । त्यसो भएता पनि मन्त्रीहरु केही घण्टाको निम्ति मन्त्रालयमै मन्त्री पद छाडेर, मन्त्रालयमै गृहमन्त्री पद छाडेर आउँदैनन् ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: TV Show




0 comments