Hindi Films

कुनै च्वाँक स्त्री देख्दा सहबास गर्ने इच्छा पनि जाग्दैन ?

Unknown | 02:03 | 0 comments

काठमाडौंको इन्द्रचोकका भट्टराई खलक कुनै राणाजीको विवाह समारोहमा भाग लिने क्रममा भारतको लखनउनजिकैको शाहजाँहपुर जिल्लामा पुग्छ । त्यही जन्मन्छन्, अच्युतम् भट्टराई । तन्नेरी उमेरमा उनी विराटगर आउँछन् । २०४५ सालमा काठमाडौं छिरेका अच्युतम् सुरुमा विभिन्न कम्पनीका उत्पादनहरुको मार्केटिङमा लाग्छन् । सानैदेखि लेखनमा रुची भएकाले २०५० सालतीर उनी पत्रकारितामा प्रवेश गर्छन् । ‘जनधारणा’, ‘नव आवाज’, ‘जनआस्था’ र ‘प्रकाश’जस्ता साप्ताहिक पत्रिकामा स्वतन्त्र लेखन गर्दै आएका अच्युतम् पछि राजधानी दैनिकको डेस्कमा अनुबन्धित हुन्छन् । फिचर र विदेश पृष्ठको डेस्कमा कार्यरत रहँदा उनी पत्रकारिता क्षेत्रमा स्थापीत हुन्छन् । सक्रिय पत्रकारहरुको सर्कलमा उनी परिचित हुन्छन् । दश वर्षसम्म सक्रिय पत्रकारिता गरेका अच्युतम्को जीवनमा एघार वर्षअघि अनौठो परिवर्तन हुन्छ । २०६० सालतिर उनी सन्यासी बन्छन् । आइरन लगाएको सर्ट र पाइन्टमा सजिएर कार्यक्षेत्रमा आउने अच्युतम् गेरुवा वस्त्र लगाउन थाल्छन् । राजनीतिक उहापोहका बारेमा खरो तर्क र बहस गर्ने अच्युतम् ज्ञान र ध्यानको कुरा गर्न थाल्छन् । पत्रिका आध्यात्मिक लेख लेख्ने अच्युतम् अन्ततः आफै सन्यास मार्गमा लाग्छन् । बाबा र माताहरुको सँगत गर्न थाल्छन् । यसरी पत्रकार अच्युतम्को अवसान हुन्छ र जन्म हुन्छ, सन्यासी ज्ञानमित्रको । ज्ञानमित्र आखिर किन सन्यासी भए ? प्रस्तुत छ, पत्रकारिताको भागदौडभन्दा पर बानीयाँटारको जगालस्थित अहिर्नस आश्रममा सन्यासी जीवन बिताइरहेका ज्ञान मित्रसँग रातोपाटीका लागि कुसुम भट्टराई (स्वामी धर्म विवेक) ले गरेको कुराकानी : gyaan 1संवोधन कसरी गरौं ? अच्युतम् या ज्ञान मित्र ? अच्युतम् केशवम् कृष्ण दामोदारम् जे पनि भन्न सक्नुहुन्छ । तपाई मलाई कसरी हेर्न चाहनुहुन्छ, त्यसमा तपाई स्वतन्त्र हुनुहुन्छ । मेरो पुरानो साथी अच्युतम्को त अवसान भइसकेछ, तपाईसँग म पत्रकार कुसुम भट्टराईको नाताले कुरा गर्दिन । अबका प्रश्नहरु तपाईलाई ओशो सन्यासी स्वामी धर्म विवेकले गर्नेछ । ओशो सन्यासीबाट म सम्यक प्रश्नको अपेक्षा गर्छु । अर्हिनस आश्रमका दिनहरु कसरी व्यतित भइरहेका छन् ? सन्यासी जीवन थालेको नै एघार वर्ष भैसक्यो । यहाँ बस्न थालेको त डेढ वर्ष मात्र भयो । यहाँ कहिलेसम्म बस्छु त्यो निश्चीत छैन । भोली उठी कहाँ जाने केही थाहा छैन । जहाँ रहे पनि यही धर्तीकै कुनामा आकाश मुनी बस्ने न हो । एउटा स्थापीत पत्रकार कसरी सन्यासी बन्यो त ? पत्रकारितामा शक्रिय हुँदा नै ममा आध्यात्मिक प्यास थियो । म आध्यात्मिक विषयवस्तुका लेख लेखिरहन्थें । विस्तारै सतसँगमा लागें । जीवन र जगत बुझ्दै जाँदा संसारको भागदौड निरर्थक लाग्यो । जीवन र जगतलाई अझ गहिरो गरी बुझ्न पहिला आफैलाई बुझ्नुपर्छ भन्ने बोध भयो । अनी सन्यास धारण गरियो । मित्र, कुनै त्यस्तो घटना थियो, जसले तपाईलाई सन्यासी बन्न प्रेरित गरेको ? कुनै बियोग या सपनामा देउता आएकोजस्तो ? त्यस्तो कुनै घटनाबाट म प्रेरित भइन । मेरो अभ्यन्तरमा जुन आध्यात्मिक प्यास थियो, त्यसले नै प्रेरित गरेको हो । भौतिक कारणहरुले भन्दा पनि मलाई मेरो चेतनाले त्यसतर्फ डो¥यायो । मुलुकमा विभिन्न आयाममा रुपान्तरणको प्रकृया चलिरहेको बेला तपाईंले त आफैलाई पो रुपान्तरण गर्नुभएछ हैन ? हो, संसारको असली रुपान्तरण भनेको आफैमा रुपान्तरण हो । पहिला आफैलाई रुपान्तरण गर्नुपर्छ । भगवान बुद्धजस्तो राजकुमार भिक्षु बनेर हिंडेपछि त्यसबेला धेरै राजकुमार उनको पथमा हिंडेका थिए । तपाईले सन्यास धारण गरेपछि तपाईका समकालीन पत्रकार साथीहरु को को यो मार्गमा लागे ? अब हेर्नुस्, कुसुमजी तपाई पनि स्वामी भइसक्नुभएको छ । छत्र कार्की, घनश्याम खड्काजस्ता पत्रकार साथीहरु पनि आध्यात्मिक मार्गमा लाग्नुभएको छ । एकजना विशाल खत्री भन्ने पत्रकार हुनुहुन्थ्यो, उहाँ त म भन्दा पनि चर्को सन्यासी हुनुहुन्थ्यो, पछि कहाँ जानुभयो, के भयो मैले कुनै खबर पाइन । पत्रकार मनोज दाहाल पनि आध्यात्मिक सोच राख्नुहुन्छ । पत्रकार साथीहरुमा पनि आध्यात्मिक जागरण आएको छ । संसारिक जीवन र सन्यासी जीवनमा के फरक हुँदो रहेछ ? म अहिले पनि संसारमै छु । संसार आफ्नो ठाउँमा छ, सन्यास आफ्नो ठाउँमा । फरक यत्ति हो, मेरो एटीच्युड बदलिएको छ । पहिला म ठान्थें, नम्बर वान पत्रकार मै हुनुपर्छ । काठमाडौंमा मेरो आलिशान घर हुनुपर्छ । बैंकमा टन्न पैसा हुनैपर्छ । राम्री तरुनी मेरै हुनुपर्छ । मदिरा जमघटपछि त्यसको बिल मैले नै तिर्नुपर्छ । विदेश भ्रमणमा मै जानुपर्छ । यस्तो थियो । एउटा अहंकारले मलाई गाँजेको थियो । मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ भनी दाह«ा धस्ने एटीच्युड् थियो । अहिले त्यो फेरिएको छ । के खाने ? कसले खुवाउने ? कहाँ बस्ने ? यो सब चिन्ता छैन । भौतिक रुपमा त संसारमै निर्भर हुनुपर्छ । गाडी चढनैपर्छ, लुगा लगाउनैपर्छ । मोबाइल पनि बोकीरहेकै छु । फरक यत्ति हो, बाहीरी रुपमा संसारमै भए पनि म भित्री रुपमा सन्यासी हुँ । सन्यासी हुनु भनेको आभ्यन्तरीक घटना हो नी । तपाईजस्तो युवा सन्यासी बनेपछि देश कसले चलाउने ? देश त नेताहरुले चलाउने हो नी । हामी त भगौडा न प¥यौं । संसारबाट भागेर हुन्छ त ? हेर्नुस्, संसारबाट भाग्ने कुरा मेरो पुर्वजन्मकै सिलसिला हो । हिन्दु दर्शनमा पूर्वजन्म र पुर्नजन्ममा विश्वास गरिन्छ । सायद पूुर्वजन्ममा मैले धेरै नेतागिरी गरें हुँला । व्यापारी भएर टन्न पैसा कमाएँ हुँला । सुर, सुरा र सुन्दरीहरुको भोग विलासमा रमाएँ हुँला । या कुनै साम्राज्यको महाराज पो थिएँ की ? विषय भोगमा चुर्लुम्म डुबेपछि एक दिन यायातीलाई झैं मलाई पनि त्यसको व्यर्थता महसुस भयो की ? अनी यो जुनीमा त्यो सब छोडेर सन्यासी भएको हुँ की ? यो जुनीमा आउँदा आफैलाई बुझ्ने र ‘म को हुँ’ भनेर खोज्ने जुन जिज्ञासा ममा पलाएको छ, त्यो पुर्वजन्मकै सिलसिला हो । मित्र कुसुमले झैं पत्रकारितामा शक्रिय रहेर त्यो खोजीमा लाग्न मलाई सहज भएन । मैले सोझै जम्प गरें यार । ‘म को हुँ ?’ भनेर खोज्ने क्रममा के फेला पारियो त ? अहिलेसम्म ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर मैले पाइसकेको छैन । म को हुँ त ? त्यो जानीसकेको छैन । तर ‘म को हैन’ त्यो भने भने बुझीसकें । म पहिला आफुलाई पत्रकार, कवि, साहित्यकार, लेखक, दैनिक पत्रिकाको उपसम्पादक यस्तै यस्तै उपमा दिन मन पराउँथे र आफुलाई त्यही ठान्थें । तर म त्यो केही पनि होइनरहेछु । आफ्नो शरीर, मन, विचार, जात, नाम, र थर पनि म होइन भन्ने बुझीसकें । तर, म खासमा के हुँ ? त्यसको खोज जारी छ । ‘म को हुँ ?’ भनेर खोज्ने तपाईको मार्ग के हो ? कर्म योग, ज्ञान योग, भक्ती योग, ध्यान योग कुन हो ? कर्म, ज्ञान, भक्ती, ध्यान सबै मार्ग अन्ततः एउटै हो । भक्ती मार्गमा लाग्न बडो निश्छल मन चाहिन्छ, जुन ममा छैन । भक्ती मार्गमा कुनै खोज हुदैन, कुनै जिज्ञासा हुदैन, कुनै शंका हुदैन । प्रभुप्रति वा परम शक्तिप्रति सोझै पुर्ण विश्वास हुन्छ । प्रभु छ की छैन भनेर खोज्ने हैन, प्रभु छन् भन्ने पुर्ण विश्वासका साथ प्रभुको भजन गाएर प्रभुलाई नै पाउने मार्ग हो भक्तीमार्ग । यही मार्गमा लागेर मीराले प्रभुलाई पाउनुभयो । ममा त जिज्ञासा छ, त्यसैले म खोजीमा छु । यो खोजीको बाटोमा लाग्ने क्रममा सुरुमा त ध्यान र ज्ञान योगतीर पनि लागियो । ध्यान पनि गरियो । अचेल म केवल जिउँछु । मन लागे ध्यान गर्छु, मन नलागे केही गर्दिन । बस, आफुभित्र के के भइरहेको छ त्यसलाई साक्षी भावले नियालीरहेको छु । आफैलाई आफुले हेरिरहेको छु । म कुनै निश्चीत मार्गमा लागेको छैन ? ओशो मार्गमा पनि लाग्नुभएको थियो नी ? कुनैबेला म ओशोलाई धेरै मान्थें । ओशोका किताब र प्रवचन पनि सुन्थें । तर, ओशोको ज्ञानबाट मैले केही पाइन । ओशोले जुन आत्मज्ञान पाउनुभयो, त्यसबाट उहाँलाई लाभ भए होला, तर त्यसले मेरो समस्या कसरी समाधान गर्ला र ? भन्ने लाग्यो । उधारो ज्ञानबाट थोडी हुन्छ यार । ओशोको किताब पढेर म उहाँको ज्ञानको स्तरमा पुग्न त सक्दीन नी । मैले जे कृष्णमुर्ती पनि पढें । युजी कृष्णमुर्ती पनि पढें । तर उहाँको शाब्दीक ज्ञानबाट मलाई के फाइदा ? जवसम्म आफैले स्वाध्याय गरिन्न, तबसम्म ज्ञान प्राप्ती हुदैन भन्ने मलाई लाग्छ । तपाईका कोही गुरु छैनन् ? गुरु बिना ज्ञान त कसरी मिल्ला र ? म यो भ्रममा पनि छैन यार । साथीहरु भेटीन्छन्, आ–आफ्ना गुरु र सत्गुृरुका कुरा सुनाउँछन् । कुसुमजीले पनि ओशोलाई गुरु मान्नुभएको होला । तर गुरु बनाएर ज्ञान प्राप्ती हुन्छ भन्ने मलाई विश्वास भएन । म गुरुको चक्करमा लागिन । परम गुरु अर्थात परमात्मासम्म पुग्न पनि त गुरुको साथ चाहिदैन र भन्या ? परमात्मासम्म पुग्न गुरुको आवश्यकता पर्दैन । परमात्मालाई सोझै संवोधन गर्नुपर्छ । परमात्मा कुनै राजनीतिक नेता हो र यार, जसलाई भेटन उसको पिएको चाकडी गर्नुपर्ने ? उसको स्वकिय सचिलाई घुस खिलाउनुपर्ने ? परमात्मा नै यस्तो आयाम हो, जसलाई पुकारे मात्रपुग्छ, तपाईलाई भेटन उनी आइहाल्छन् । तर परमात्मालाई चिन्नसक्ने आँखा चाहिन्छ । उनलाई बुझ्नसक्ने चेतना हुनुपर्छ । परमात्मालाई कसरी चिन्ने ? उनी को हुन त ? ओल्ड बट गुड कोइस्चन । परमात्मा भनेको समष्टी हो । एभरीथिङ नै परमात्मा हो । स्टेफन हकीङको ‘थ्यौरी अफ एभरीथिङ’भित्र पनि परमात्मा आइसके । कसैले इश्वर छैन भन्छ भने पनि उसले ‘इश्वर’ नै छैन भन्छ । हुन त म यो विवादमा छैन । आजको युगमा इश्वर छन् की छैनन् भन्ने बहसको म औचीत्य देख्दीन । भौतिक विज्ञानभित्र परमात्मा आइसके । तपाइले अन्नपूर्ण पोस्ट दैनिकमा गर्ड पार्टीकलका बारेमा लेखेको सामाग्री पढेको थिएँ । त्यो हिग्स बोसन के हो ? निमेशभरका लागि देखा परेर अलप हुने त्यो तेस्रो तत्व के हो ? त्यो तेस्रो तत्व जसले परमाणुकै निर्माण ग¥यो, तर त्यो तत्वलाई खोज्न बिग मेशीन चाहियो, अर्बौं डलर खर्चिनुप¥यो । जसरी साधकको तपस्याबाट प्रशन्न भएर भगवान निमेशभरका लागि प्रकट हुन्छन् र अलप हुन्छन्, त्यसैगरी वैज्ञानिकको मेहनतको फलस्वरुप त्यो तत्व प्रकट भयो, तर अलप भयो । आखिर त्यो के थियो ? वैज्ञानिकले भने, गर्ड पार्टीकल । इश्वरी अंश । अब हेर्नुस्, यो ब्रम्हाण्ड मात्र हैन, कोटी कोटी ब्रम्हाण्डका हरेक कणमा रहेका परमाणुमा त्यो गड पार्टीकल छ भनेपछि यो समग्र अस्तीत्व गड भयो । परमात्मा भयो । वैज्ञानिकहरुले त्यो गड पार्टीकल एक छिनको लागि बिग मेशीनमा देखे, भगवान बुद्ध, महावीर, ओशो, कृष्ण सबैले आफैभित्र देखे । म नै त्यो गड पार्टीकल हुँ भन्ने जाने । gyaaan mitra 2 जुन देशमा भगवान बुद्धले दुःख मुक्तीका सम्यक उपाय पत्ता लगाउनुभयो, त्यही देश नेपाल भने सबैभन्दा बढी दुःखी किन मित्र ? कसैको लकीरको फकीर भएर पनि दुःख मुक्ती हुँदोरहेनछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । दुःख भनेको नितान्त व्यक्तिगत समस्या हो । अनी यो भौतिक सुख र दुःखको विषय पनि हैन । हरेक मानिसका दुःखका आ–आफ्ना कारण होलान् । कसैलाई रोल्स रोयल कार नपाएर दुःख भएको होला, कसैलाई जीवन जल नपाएर दुःख भएको होला । बुद्धको गुम्बामा गएर ध्यान गरेर कार वा जीवनजल पाइने त हैन । राजकुमार सिद्धार्थ गौतमले कुनै जंगलमा विचरण गरीरहँदा आफुभित्र बुद्धलाई जन्माउनुभयो । आफुभित्र बुद्ध जन्माएपछि उहाँ आफु दुःखबाट मुक्त हुनुभयो होला । अब हरेक नेपालीले दुःखबाट मुक्ती पाउन आफुभित्र बुद्ध जन्माउन सक्नुप¥यो नी । बुद्धले इच्छा नै मृत्यु हो भन्नुभयो । अब उहाँको कुरा बौद्धीक ज्ञान हासील गर्ने हिसाबले जानकारी राख्दैमा त केही हुनेवाला छैन । सांसारीक भोग विलास व्यर्थ रहेछ भन्ने बोध भइ यसप्रतिको मोह र आशक्ति हटेपछि पो स्वतः दुःखबाट मुक्ती पाइने हो । त्यसका लागि मैले माथि नै भनें झैं पुर्वजन्मको सिलसिला पनि जोडिनुपर्छ र आफुमा मुमुक्षा पनि जाग्नुपर्छ । तपाई दुःखमूक्तीको कुन चरणमा हुनुहुन्छ ? इच्छा मुक्त अवस्थामा ? पत्रकारिता गर्दा पुलीट्जर पुरस्कार पाउँला भन्ने कसैको इच्छा हुनसक्छ । साहित्यकारमा कुनै ठुलै राशीको पुरस्कार पाउँला भन्ने इच्छा होला । नेतालाई प्रधानमन्त्री र राष्ट्रपती बन्ने इच्छा होला । ममा पनि पहिला त्यस्ता धेरै इच्छाहरु थिए । अहिले भने मलाई ति सबै मुर्ख इच्छाहरु हुन भन्ने बोध भएको छ । फजूल अभिलाषा र महत्वाकाँक्षाबाट मुक्त भइएको छ । तर, सम्यक इच्छा भने कायमै छ । मोबाइल फोन बोकीरहेको छु, यो पनि इच्छा नै हो । तपाईसँगको अन्वार्ता रातोपाटीडटकममा प्रकाशीत होस् भन्ने पनि त इच्छा नै हो । इन्लाइटेड हुने इच्छा पनि त होला नी ? मलाई त्यसको पनि इच्छा छैन । मैले संवोधी प्राप्त गरुँला, बुद्ध बनुँला भन्ने इच्छा पनि राखेको छैन । किनकी, मलाई थाहा इच्छा राखेर कोही बुद्ध बन्न सक्दैन । सारा इच्छाहरुबाट मुक्त भएपछि मात्र बुद्ध बन्ने हो । अर्को जन्मको समेत इच्छा नरहेपछि मोक्ष पाइने हो । त्यसैले मैले सारा इच्छाबाट मुक्तीको कोशीस गरिरहेकोछु, तर सकिरहेको छैन । अहिलेको अवस्थामा म मुर्खतापुर्ण इच्छाहरुबाट मुक्त भइ सम्यक इच्छाको चरणमा छु । कुनै च्वाँक स्त्री देख्दा सहबास गर्ने इच्छा पनि जाग्दैन ? अब हेर्नुस, च्वाँक कुन हिसाबले भन्न खोज्नुभएको ? रुपको हिसाबले च्वाँक की गुणको हिसाबले ? चोलाको हिसाबले च्वाँक की चेतनाको हिसाबले च्वाँक ? तैपनि सुन्दर स्त्री देख्दा ममा उनीसँग सहबास नै गर्ने वासना त पलाउँदैन, तर उनको शौन्दर्यलाई नजिकै गएर हेर्दा र प्रसँशागर्दा त के नै बिग्रिन्छ र ? उनी पनि प्रकृतीकी एउटी फूल हुन । फुललाई टिपेर त्यसलाई गोजीमै वा घरको गमलामा राख्न पो भएन, तर फुलको शौन्दर्यलाई नजिकैबाट नियालेर दंग पर्दा के नै बिग्रन्छ र ? त्यस्ता शौन्दर्य र सुवास फैलाउने फूलहरु अहिले पनि तपाईको वरीपरी छन त ? साधना मार्गमा लाग्ने क्रममा मेरो सहयात्री स्त्री र पुरुष दुबै छन् । तिमध्ये स्त्रीहरुसँग मेरो फुलसँगको जस्तो सम्बन्ध छ । अझ साधनामा लाग्ने स्त्री भित्र र बाहिर दुबैबाट शौन्दर्यशाली हुन्छन् । त्यसको म प्रशंसा गर्छु । त्यो शौन्दर्य देखेर दंग पर्छु । बाहिर योगी र सन्यासी, भित्र भोगी हुनेहरु पनि छन् नी ? बडे बडे बाबाहरु पनि यौन मामलामा फँस्ने गरेका छन्, यस्तो किन हुन्छ ? मैले यसबारेमा भन्ने कुराहरु किताबी ज्ञानले भरीएको हुनेछ । उनीहरुले बासनालाई जित्न सकेनन, संकल्प शक्ति कायम राख्न सकेनन, शीलहरुको पालना गरेनन्, आदि इत्यादी भन्न सकुलाँ, तर त्यो सही जवाफ हुनेछैन । सायद उनीहरुमा भोगको इच्छा जिवितै थियो, त्यसैले भोगतीर लागे । विषय वासना कायम रहेसम्म हुने त त्यही न हो । जर्बजस्ती त कोही पनि मुक्त हुन सक्दैनन नी, त्यसबाट । वासनाबाट मुक्त हुन ओशोले ‘काम उर्जालाई राम उर्जा’मा रुपान्तरण गर्नुपर्छ भन्नुभएको छ । काम उर्जालाई स्वाधिष्ठान चक्रबाट माथि मणीपुर, अनाहत, आज्ञा र सहस्त्रार चक्रतर्फ उध्र्वगमन गराएमा त्यो राम उर्जामा परिणत हुन्छ भन्ने विज्ञान छ नी ? ओशोले काम उर्जालाई राम उर्जामा परिणत गर्ने प्रवचन दिनुभएको छ । ‘संभोग से समाधी की और’ पुस्तक मैले पनि पढेको छु । तर, स्वयं ओशोले आफ्नो काम उर्जालाई राम उर्जामा परिणत गर्नुभयो की भएन, त्यो न त तपाईलाई थाहा छ, न मलाई । न तपाईले त्यो चेक गर्नुभयो, न अरु कसैले । उहाँको जीवन हेर्दा उहाँको काम उर्जा राम उर्जामा परिणत भएको थिएन । ओशोको सान्नीध्यमा रहेर तिसौं वर्ष साधनामा लागेका कतिपय साधकको गती हेर्दा त उहाँहरु आशाराम बापुभन्दा पनि गए गुज्रेको देखिन्छ । ओशोको माला लगाउँदैमा त्यो हुने होइन । मेरा धेरै साथी ओशो साधक हुनुहुन्छ, उहाँहरुमध्ये कसैको पनि काम उर्जा राम उर्जामा परिणत भएको मैले पाइन । ओशोको कुरा छाडिदिउँ, उहाँका कुन चाँही चेला वासनाबाट मुक्त भए ? कसको काम उर्जा राम उर्जामा परिणत भयो त ? त्यसको कुनै उदाहरण भए त्यही मार्गमा लाग्नुहुन्थ्यो । तर त्यस्तो उदाहरण भेटीएको छैन । तपाईको काम उर्जा कुन अवस्थामा छ ? मेरो काम उर्जा अहिले पनि काम उर्जाकै तहमा छ । म त खुलस्त मान्छे । खुलेरै भन्छु, म काम वासनाबाट मुक्त हुन सकेको छैन । तर काम उर्जा बढ्यो र त्यसले सताउन थाल्यो भने म खाना कम गरिदिन्छु । एक डेढ महिना फास्टीङ गरेपछि मलाई चार पाँच महिना काम वासनाले सताउँदैन । वासनाबाट मुक्ती भन्दा पनि वासना व्यवस्थापनको यो एउटा उपाय हो । खाना कम गर्नुस, यौन चाहना घटन थाल्छ । अब शरीरमा उर्जाकै मात्रा घटेपछि काम उर्जा पनि घटने नै भयो । वासनाबाट मुक्त हुन किन सक्नुभएन ? शारिरीक रुपमा त मैले फास्टीङ गरेर यौन चाहना घटाएँ । वासना व्यवस्थापन गरें । तर, मानसीक रुपमा कठिन हुने रहेछ । बिगतमा जे जति यौन सम्पर्क गरियो त्यसको स्मृती नमर्ने रहेछ । यौन संवेदना मानसीक रुपमा जिवितै रहँदो रहेछ । स्मृतीलाई डिलिट गर्न नसकिने रहेछ । यौन सुखका पुराना स्मृतीका कारण मनबाट त्यो हटन सकेको छैन । तर शारीरिक रुपमा भने म मुक्त छु । यदि मनले भनीहाल्यो भने पनि मेरो पोशाकले मलाई त्यो अनुमती दिदैन । कुनै पुरानो गर्लफ्रेण्ड भेटीइहाल्यो भने उसलाई कहाँ लैजाने ? गेरुवा वस्त्र लगाएको मानिसले केटी लिएर कुनै लजमा जाने त कुरा भएनन नी । अनी गेरुवा वस्त्र लगाएको मानिससँग कुन केटी प छि लाग्छ र यार । यसरी काम वासनालाई मेरो पोशाक, मेरो सँगत र जीवनशैलीले नियन्त्रण गर्छ । तर, मेन्टल सेक्सबाट मुक्त हुन नै कठिन हुन्छ यार । सन्यासी भएर भारतका धेरै भुभाग घुम्नुभयो ? कुन कुन बाबालाई भेटनुभयो त ? मैले लगभग सबै नाम चलेका गुरुलाई भेटें । आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरी, महामण्डलेश्वर पाइलट बाबा, आनन्द मुर्ती गुरुमा, चन्द्र श्वामी, कालीबाबा सबैलाई भेटेको छु । फकीर भएर हिंड्दा धेरै आनन्द हुन्छ हैन ? आनन्द र पिडा दुबै हुन्छ । अनी पिडाको पनि शौन्दर्य हुन्छ । सारा महत्वाकाँक्षाबाट मुक्त भएर स्पच्छन्द रुपले हिंडन पाउँदा आफु त बादशाह नै भइन्छ । यो आनन्द त भयो नै । सारा बन्धन र बाध्यताहरुबाट मुक्ती पाइने भइयो । तर, आजको संसार पैसा बिना चल्दैन । र, यो संसारमै रहँदा स–साना आवश्यकताका लागि पनि पैसा त चाहियो नै । आफुसँग पैसा नहुँदा केही पिडा हुन्छ । तर, त्यसबाट बिचलीत भइएन । खाने र लाउने कुरा भगवान भरोसे छाडीयो, भगवानले दिदै जानुभयो । पुरै भारत घुमीयो । जुनसुकै पेशामा रहेका भए पनि यो संसारका हरेक मानिस मलाई उस्तै लाग्यो । मानिसको रुप, रंग, भाषा, संस्कृती, प्रतिभा, ज्ञान, कथा, ब्यथा र त्यसका भाव भंगीमा फरक होलान, तर सारमा संसारका मानिस एउटै हुन भन्ने लाग्यो ।

Category:

0 comments