Home �
News
� दसैमा पत्रकारहरुको तलव भत्ता नरोक्न महासंघको आग्रह
Unknown |
08:18 |
0
comments
|
 |

२६ भदौं,काठमाडौं । लामो समयदेखि सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुले तलब नपाइरहेको गुनासो आइरहेकोतर्फ नेपाल पत्रकार महासंघले चासो देखाएको छ । महासंघले दसैको मुखमा कोही पनि श्रमजिवी पत्रकारहरुको तलव तथा भत्ता नरोक्न पनि आग्रह गरेको छ । महासंघ केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बिहीबार बसेको बैठकले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको सेवा, शर्त सुविधाको व्यवस्थाका साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीरता देखाएको हो ।
महासंघ अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले बडादशैं, वकर इद, तिहार, छठलगायत नेपालीहरूका विभिन्न चाडपर्व नजिक आइरहेको सन्दर्भलाईसमेत दृष्टिगत गरी पत्रकार, कर्मचारीहरूको बक्यौता पारिश्रमिक रकम तत्काल भुक्तानी गरिसक्न सम्बद्ध सबै सञ्चारमाध्यमहरुलाई आग्रह गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी कतिपय सरकारी सञ्चारमाध्यममा राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई निष्कासन गर्ने, नवीकरण नगर्ने र अन्य खालका विभेद गर्ने काम भैरहेकोप्रति पनि महासंघले आपत्ति जनाएको छ । महासंघले अदालतको अवहेलनासम्बन्धी विधेयकमाथि जनताको रायको लागि सार्वजनिक छलफलमा लगिएकोमा स्वागत गर्दै त्यसको निम्ति हाल तोकिएको समयावधि अत्यन्त कम भएकोले छलफललाई औपचारिकतामा सीमित नराखी पर्याप्त बहस हुने गरी समय छुट्याउन माग गरेको छ । अदालतको अवहेलनाका नाममा पछिल्लो समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्ने खालका गतिविधि बढ्नुका साथै स्वस्थ आलोचना वा टिप्पणी भएकै आधारमा प्रेसलाई तर्साउने र अनेक किसिमबाट दुःख दिने काम भैरहेकोप्रति पनि महासंघले सम्बद्ध निकायको गम्भीर ध्यानकर्षण गराएको विज्ञप्तिमा जनाइएको छ । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई भौतिक आक्रमण गर्ने, अनेकखालका धम्की दिने, जागीरबाट निष्कासन गर्ने जस्ता पेशागत हस्तक्षेपका घटनाहरुप्रति पनि महासंघले आपत्ति जनाएको छ ।
बजेटमा व्यवस्था भएअनुसार पत्रकारको क्षमता अभिबृद्धिका लागि तत्काल आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको बिमा र द्वन्द्वपीडित पत्रकार कल्याणकोष स्थापना र सञ्चालनको कार्य तत्काल प्रारम्भ गर्न पनि महासंघले सरकारको ध्यानकर्षण गराएको छ ।
|
 |
Category:
News
0 comments