Hindi Films

बेलायतबाट स्कटल्यान्डलाई अलग हुन नदिने कोसिस

Unknown | 06:12 | 0 comments

लन्डन : सन् १९७६-०७ मा बेलायतको अंग बनेको स्कटल्यान्ड अब अलग हुनेतर्फ बढिरहेको छ। यसको लागि आगामी १८ सेप्टेम्बरमा जनमत संग्रह हुन लागेको छ। स्कटल्यान्डका जनतालाई सीधै 'हुन्छ' अथवा 'हुँदैन' भनेर प्रश्‍न सोधिनेछ। यता, बेलायती नेताहरूले जनमतविरुद्ध मतदान गर्न त्यहाँका बासिन्दालाई फकाइरहेका छन्। स्कटल्यान्ड जानका लागि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र लेबर पार्टीका नेता एडवर्ड मिलिब्यान्डले आफ्नो साप्ताहिक कार्यक्रम नै रद्द गरे। उपप्रधानमन्त्री निक क्लेगले पनि स्कटल्यान्डमा प्रचार गर्दै छन्। सन् २०१२ को अक्टोबर १५ मा प्रधानमन्त्री क्यामरुनले स्कटल्यान्डका फस्र्ट मिनिस्टर एलेक्स सेलमन्डसँग एडिनबर्ग एग्रिमेन्टमा हस्ताक्षर गरेका थिए। यसअनुरूप स्कटल्यान्डको संसद्लाई कानुनी रूपमा जनमतसंग्रह गर्ने अनुमति प्राप्त भएको हो। क्यामरुन अहिले सो सम्झौतालाई लिएर पक्कै दु:खी छन्। बेलायत सरकारले स्कटिस जनताले जनमतसंग्रहमा 'हुँदैन' भन्‍ने पक्षमा भोट दिएमा बढी स्वायत्तता दिने तथा आर्थिक छुट पनि प्राप्त हुने घोषणा गरेको छ। बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार स्कटल्यान्डबाट अलग हुनु इङल्यान्डका लागि एक ठूलो झट्का हुनेछ। यसअघि बेलायती महारानी एलिजाबेथ द्वितीया पनि चिन्तित भएको खबर आएको थियो, तर बकिंघम प्यालेसले जनमतसंग्रहमा महारानी सहभागी नहुने र चिन्ताको विषय नभएको जनाएको छ। गत साता द सन्डे टाइम्सले गरेको एक सर्वेक्षणअनुसार ५१ प्रतिशतभन्दा बढी स्वतन्त्रताको पक्षमा छन् भने करिब ५४ प्रतिशत महारानी एलिजाबेथ द्वितीयालाई नयाँ राष्ट्रका प्रमुखका रूपमा हेर्न चाहन्छन्। तर, ३१ प्रतिशतले यसको विरोध गरेका छन्। स्कटल्यान्ड अलग भयो भने प्रधानमन्त्री क्यामरुनको सरकारलाई ठूलो धक्का लाग्नेछ। विपक्षी लेबर पार्टीले क्यामरुनको राजीनामा माग गर्नेछ। यता, स्कटल्यान्डका पत्रपत्रिकाले स्वतन्त्र राष्ट्रको नामकरण पनि गरिरहेका छन्। कयौं पत्रिकाले आइस्कोटल्यान्ड (इन्डिपेन्डेन्ट स्कटल्यान्ड) नाम दिएका छन्। जनमतसंग्रह हुन लाग्दा ब्रिटिस पाउन्डको स्तर पनि खस्किरहेको छ। अलग देश बनेमा दुई देशबीच मुद्रालाई लिएर पनि विवाद हुन सक्छ। इङल्यान्डका वित्तमन्त्री जर्ज ओसर्बोनले स्कटिस जनता अलग भएमा पाउन्डको प्रयोग गर्न नदिने बताएका छन्। जनमतसंग्रह सम्पन्न भएलगत्तै गणना भएर एक दिनपछि १९ सेप्टेम्बरको बिहानै नतिजा घोषणा हुनेछ। स्वतन्त्र हुने पक्षमा मतदान भएमा वेस्टमिन्स्टरमा एक विधेयक पारित हुनेछ र अलग स्कटल्यान्ड बनाउने प्रक्रिया सुरु हुनेछ। -एजेन्सी

Category:

0 comments