पाँचौं श्रीमतीलाई कुटपिट गरेर छैठौं ल्याउन खोज्ने इञ्जिनियर(बोका हो कि मान्छे ) प्रहरी नियन्त्रणमा
![]() |
राजविराज : पाँचौं श्रीमतीलाई कुटपिट गरेर छैठौं ल्याउन खोज्ने राजविराजका एक इञ्जिनियर प्रहरी खोरमा जानु परेको छ।
पाँचौ श्रीमतीको उजुरीको आधारमा प्रहरीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका ५५ वर्षीय इञ्जिनियर राजकुमार यादवलाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको हो।
ज्यान मार्ने धम्की दिई ३५ वर्षीया पत्नी सन्जुलादेवी यादवलाई कुटपिट र दुव्र्यवहार गरिरहेको अवस्थामा राजविराज-९ राजदेवी टोलबाट यादवलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ। इञ्जिनियर यादवले खानलाउन नदिएको भन्दै उनकी पत्नी सन्जुलाले जिल्ला प्रहरी कार्यालयमा उजुर गरेपछि गएराति थप शारीरिक यातना दिएको पीडितले बताइन्।
पाँचवटा विवाह गरेका इञ्जिनियर यादवले अघिल्ला दुईवटा पत्नी बेपत्ता बनाएपछि र दुईजनाको रहस्यमय मृत्यु भएपछि ०६७ सालमा विवाहिता सन्जुलासँग प्रेमविवाह गरेका थिए। जेठी पत्नीको दुर्घटनामा रहस्यमय मृत्यु भएपछि इञ्जिनियर यादवले सप्तरी हरीहरपुर ६ मटीगढीकी बिनितासँग दोस्रो विवाह गरेका थिए। विनिताको विषादी सेवनबाट २०६६ सालमा रहस्यमय मृत्यु भएपछि उनले सुनसरी भोक्राहाकी एकल महिला र त्यसपछि सुनसरी नरसिंहकी विवाहिता महिलालाई जारी तिरेर भगाएका थिए।
सुनसरीकी दुवैजना पालैपालो बेपत्ता भएपछि इञ्जिनियर यादवले सप्तरी देउरी भरुवाको मुसहर्नियाकी विवाहिता सन्जुलालाई ०६७ सालमा विवाह गरेका हुन्। उनी सन्जुलासँग सम्बन्ध विच्छेद गरी छैठो विहेको तयारीमा रहेको छिमेकीहरूले बताए। माहिली पत्नी बिनिताबाट जन्मिएका ३ छोरी र १ छोरा विराटनगरमा अध्ययनरत रहेको र अन्य पत्नीतर्फ सन्तान नभएको जेठी छोरी दिव्या यादवले जानकारी दिइन्।
आफ्ना थुनिएका कर्मचारी छुटाउन सिनियर डिभिजनल इञ्जिनियर लोकेन्द्रप्रसाद यादव कार्यालयको काम छाडेर सिफारिसका लागि सोमबार दिनभरी जिल्ला प्रहरी कार्यालयमा छन्। ओभरहेड ट्यांकीको साइट हेर्न कार्यालयको बा.२ झ ९८५ नम्बरको पिकअप गाडी लिएर बरमझियाका लागि निक्लेका सिनियर डिभिजनल इञ्जिनियर यादव आरोपितलाई छुटाउन एसपी दानसिंह बोहरा र डिएसपी केदार ढकालकहाँ पुगेका थिए। पीडितले उजुरी फिर्ता लिए आरोपितलाई छाड्न मिल्ने संकेत प्रहरीबाट पाएपछि उजुरी फिर्ताका लागि दबाब दिन सिनियर डिभिजनल इञ्जिनियर यादव राजविराज ९ स्थित पीडितकहाँ पुगेका थिए।
प्रहरी कार्यालयबाट महिला प्रहरी लिई पीडितकहाँ पुगेका उनले सोही गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याएपछि उजुरी फिर्ता दिन दबाब दिन थालेका छन्। सिम्राहा सिंग्यौन पुख्यौली घर भएका इञ्जिनियर यादव लामो समयदेखि कार्यालयको निमित्त प्रमुख रहेका थिए। उनको हाल राजविराज ९ र बिराटनगरको जोगबनी रोडमा पक्की घर रहेको छ। राजविराज ९ स्थित घरमा हार्डवेयर पसल सञ्चालन गरिरहेका इञ्जिनियर यादवले हालै बा.३ च ९८५२ नम्बरको जीप किनेका छन्।
![]() |
Category: News
0 comments