Hindi Films

३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन सम्पन्न

Unknown | 12:58 | 0 comments

मंसिर ११, काठमाडौं । ऊर्जा सहकार्य सम्झौताको मुख्य उपलव्धिसहित काठमाडौंमा आयोजित १८ औं संस्करणको सार्क शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दक्षिण एसियाली क्षेत्रमा ऊर्जा उत्पादन, किनवेचलाई सहज र सरल बनाउने उद्देश्यसहित सहकार्य सम्झौतामा आठ मुलुकका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । सम्मेलनको अन्तिम दिन आज ऊर्जा सहकार्यमा सम्झौता भएपनि यातायात सेवाको सञ्जाल र रेल्वे सेवामा सहमति हुन नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । आज साँझ आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले सर्वसम्मत हुन नसक्दा ती दुई वटा बिषयलाई तीन महिनाभित्र अन्तिम रुप दिने सहमति भएको जानकारी दिनुभयो । स्रोतका अनुसार, पाकिस्तान पक्ष राजी नभएपछि यातायात र रेल्वे सेवाको बिषयमा सम्झौता हुन नसकेको हो । यद्यपी प्रवक्ता अधिकारीले केही राष्ट्रहरुको आन्तरिक तयारी नपुगेकाले सम्झौता थाँति रहेको बताउनुभयो । सरकारले अठारौं सार्क सम्मेलनले व्यापार, लगानी, वित्त, उर्जा, भौतिक पूर्वाधार लगायतमा सहकार्यको अवधारणासहित घोषणा जारी भएको बताएको छ । घोषणापत्रमा स्वतन्त्र व्यापारको प्रक्रियालाई तीव्रता दिने, सार्क क्षेत्रका आयोजना, कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिएर नतिजामुखी बनाउनेसहितका प्रावधान समेटिएको छ । गरिवी निवारण, पूर्वाधार निर्माण र उर्जाको क्षेत्रमा क्षेत्रीय र उपक्षेत्रीय योजना लागू गर्ने नीति सम्मेलनले लिएको छ । सार्क विकास कोषलाई प्रभावकारी बनाउने, गरिवी निर्माणका लागि एक्सन प्लानलाई प्रभावकारी कार्यन्वयनमा लैजाने घोषणा गरिएको छ । मानव वेचविखन, लागू औषध र हतियारको अवैध व्यापार, बाल श्रम शोषण रोकथामका लागि क्षेत्रीय मुलुकसँग सहकार्य गर्ने तथा सबै खाले आतंकवादविरुद्ध सामूहिक रुपमा लड्ने प्रतिवद्धता जनाइएको छ । यसैवीच, अठारौं सम्मेलनले सार्कको पुर्नगठनका क्रममा नयाँ दिल्लीस्थित अभिलेख केन्द्र, इस्लामावादस्थित मानव संसाधन केन्द्र र काठमाडौंस्थित सूचना केन्द्र बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, तटीय क्षेत्र व्यवस्थापन केन्द्र, जलवायु अनुसन्धान केन्द्र, वन केन्द्र र विपद् व्यवस्थापन केन्द्रलाई मर्जर गरेर सार्क वातावरण तथा विपद् व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको छ । परराष्ट्रका प्रवक्ता खगनाथ अधिकारीले उक्त केन्द्र रहने स्थान भने पछि टुङ्गो लगाउने बताउनुभयो । उक्त केन्द्रका लागि भुटान, माल्दिभ्स र भारतले बढी चासो राखेको बताइएको छ । यसैवीच, अबदेखि प्रत्येक दुई बर्ष वा आवश्यकता भएमा त्यसअघि नै सार्क सम्मेलन गर्ने नीति बनाएको छ । त्यस्तै, कार्यक्रम समितिलाई सार्कको चार्टर निकायको रुपमा राख्ने निर्णय भएको छ । सार्कको चार्टर परिमार्जनको बहस भइरहेका बेला यस्तो निर्णय लिइएको हो । यस्तै बैठकले १९ औं शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय पनि गरेको छ । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सार्कको अध्यक्षता गरिरहनु भएका नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सार्कको बैठकमा भएका सहमति र सार्क मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेका ३६ बुँदे घोषणापत्रका मुख्य बुँदा वाचन गर्नुभएको थियो । आफ्नो मन्तव्यमा उहाँले काठमाण्डौ घोषणापत्रले यस क्षेत्रको शान्ति र समृद्धिलाई विशेष सघाउ पुर्‍याउने आशा व्यक्त गर्नुभयो । यस्तै बैठकले १९ औं शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय पनि गरेको छ । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले १८ औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई र पर्यवेक्षण गरिरहेका अन्य राष्ट्रलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । त्यस लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले सार्क सम्मेलनको औपचारिक समापन भएको घोषणा गर्नुभयो । नेपालले तेस्रोपटक आयोजना गरेको सार्क सम्मेलनको १८ औं संस्करण हिजो राजधानीमा शुरु भएको थियो । कार्यक्रमको समापनपछि सार्कका सरकार र राष्ट्र प्रमुखहरुसँग परराष्ट्रमन्त्री र परराष्ट्र सचिवहरुको सामूहिक फोटो सेसन भएको थियो । सार्क सम्मेलनको मुख्य उदेश्य सदस्य राष्ट्रबीच आपसी सद्धभाव तथा भाइचारा अभिवृद्धि गर्नु भएपनि उद्घटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री सरिफबीच बोलचाल नभएको विषयले चर्चा पाएको बेला समापन कार्यक्रममा भने उहाँहरुले लामो समय हात मिलाएको देखिएको थियो ।

Category:

0 comments