Hindi Films

मोदी नआउने भएपछि जनकपुरवासी आक्रोशित

Unknown | 00:15 | 0 comments

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९ गते निर्धारण गरिएको जनकपुर भ्रमण कार्यक्रम एक्कासि स्थगित भएपछि जनकपुरवासी आक्रोशित भएका छन्। सार्क शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतको बिहार हुँदै मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो। मोदीको भ्रमणलाई ध्यानमा राखेर सरकारले सांस्कृतिक सम्पदाहरूको सौन्दर्यीकरण तथा व्यवस्थापनका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत एक करोड रुपैयाँ विनियोजन गरी कामसमेत सुरु भइसकेको थियो। उपभोक्ता समितिमार्फत जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर तथा विभिन्न पोखरी, सडकको मर्मत तथा सौन्दर्यीकरणको काम तीव्र गतिमा अगाडि बढाइए पनि मोदीको भ्रमण स्थगित हुने खबर आएपछि उत्साह नै सेलाएको परिषद्का अध्यक्ष रामकुमार शर्माले बताए। जनकपुर क्षेत्रमा मोदीको भ्रमणले विकासको नयाँ बाटो खोल्ने र उनले यस क्षेत्रलाई लक्षित गरी विभिन्न विकासे परियोजनासमेत घोषणा गर्ने आशामा रहेका जनकपुरवासीको सपनामाथि तुसारापात भएको शर्माको गुनासो छ। विवाहपञ्चमीको अवसर पारी भारतको अयोध्याबाट आउने रामको जन्तीमा मोदी सहभागी हुने भनिएपछि यस वर्षको रामजानकी महोत्सवलाई समेत ऐतिहासिक बनाउन सक्दो मेहनत गरिएको जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले बताए। तर अब मोदी नै नआउने भएपछि महोत्वसको रौनक नै कम हुने उनको भनाइ थियो। मोदीको भ्रमणको अन्तिम तयारीका रूपमा जनकपुरदेखि भिट्ठामोडसम्मको १९ किलोमिटर सडक मर्मत, नगरक्षेत्रको परिक्रमा सडक मर्मत तथा नगरमा पर्ने सम्पूर्ण मठमन्दिरको रङरोगन गरिएको छ। त्यसैगरी नगर क्षेत्रमा विभिन्न स्थानमा मोदीको तस्बिरसहितका पोस्टर र स्वागतद्वारसमेत बनाइएको छ। आजको अन्नपूर्ण पोस्ट लेख्छ, मोदीको भ्रमणलाई लिएर निकै उत्साहित बनेका यस क्षेत्रका बासिन्दा कार्यक्रम स्थगित भएको जानकारी पाएपछि आक्रोशित भएर विरोधमा उत्रेका छन्। मोदीको भ्रमण स्थगित गरिएको विरोधमा स्थानीय युवा तथा २२ दलीय मोर्चाका नेता र कार्यकर्ताले स्थानीय शिवचोकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतलादहन गर्नुका साथै सरकारको विरोधमा नारा लगाएका थिए।

Category:

0 comments