Hindi Films

जात नमिल्दा राउटे युवा-युवतीको विहे भएन

Unknown | 06:38 | 0 comments

दैलेख-३५ वर्षीया राउटे युवा नारायण शाहीले अहिलेसम्म विवाह गरेका छैनन्। उनको विवाह गर्ने इच्छा हुँदाहुँदै पनि ३५ वर्षसम्म केटी नपाउँदा त्यत्तिकै बस्नुपर्ने बाध्यतामा परेका हुन्। नारायणकै उमेरका राउटे युवाहरु काखमा छोराछोरी खेलाउँदा निराश हुने उनी विवाहको लागि राउटे केटी नपाउँदा अविवाहित भएरै बुढो भइनेहोकी भनेर चिन्तित छन्। राउटे महामुखिया महिनबहादुर शाहीका जेठा छोरा नारायणको राउटेभित्रै जात नमिँल्दा अविवाहित हुनु परेको हो। ‘अरु जातका केटीलाई विहे नगर्ने भएकाले राउटेभित्रै आफ्नो जातको केटी नहुँदा एक्लै भएको छु,’ नारायणले भने, ‘विहेका लागि जातमिल्ने केटी नै छैनन्।’ नारायण मात्र होइनन् कल्याल जातीका ६ जना युवा र ४ युवती उमेर छिपिसक्दा पनि अविवाहित छन्। रास्कोटी र सोवंशी जातीमा विहे गर्ने केटा र केटी नहुँदा आफूहरू अविवाहित बस्नुपरेको ३२ वर्षीय शिवराज शाहीले बताए। आफ्ना दुईवटा उमेर ढल्केका छोराहरुको विवाह गर्ने केटी नपाएका कारण बुढेसकालमा नातीनातिनी हेर्ने मौका नमिलेको नारयणका बुवा महिनबहादुर शाहीले बताए। ‘छोराको विहे गर्ने उमेर ढल्कीसक्यो,’ महिनले भने, ‘राउटेभित्र विहे गर्ने जातका केटी नहुँदा छोरोले विहे नै गर्न नपाउने भयो।’ वर्षातमा दैलेखको गोगनपानी गाविसस्थित भित्रीखोलाको जंगलमा कष्टकर दिन काट्दै आएका राउटे समुदायका अन्य व्याक्तिलाई खानाको लागि चिन्ता छ। तर, अविवाहित राउटे युवालाई अब आफ्नो विवाह हुँदैन भन्ने चिन्ता लाग्ने गरेको बताउँछन्। मुखिया महिनबहादुरका छोराको विहेको चिन्ता जस्तै उनकै आफन्त बसना शाहीलाई आफ्ना छोरीको विहे नहुँदा दुखी भएको बताइन्। कहिले खाम्ची कहिले नेपाली भाषा मिलाएर बोल्ने राउटेले आफ्ना छोराछोरीको विहे नहुँदा चिन्ता लागेको बताए। ‘आफ्ना छोरीबहिनी लेनदेन जातमा केटा नै छैनन्,’ बसनाले भनिन् ‘त्यो जातीमा न केटा छन् न केटी।’ बसनाका छोरी सिन्की शाही र छोरा प्रेमबहादुर शाही अविवाहित छन्।

Category:

0 comments