Hindi Films

सार्क कस्तो संगठन हो ,? चीन किन सार्क सदस्य बन्न चाहन्छ?सार्कमा चीनको भूमिका कस्तो होला ,किन?

Unknown | 10:57 | 0 comments

सार्क कस्तो संगठन हो ,? चीन किन सार्क सदस्य बन्न चाहन्छ?सार्कमा चीनको भूमिका कस्तो होला ,किन? 26 Nov 2014 बुधबार १० मंसिर, २०७१
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्कको सोचलाई चीनमा धेरै मान्छेहरु प्रभावकारी मान्दैनन्। आम रुपमा चिनियाँ विश्लेषक तथा अर्थविद् जमातको विश्वास छ कि सार्कको विकास आसियान वा युरोपियन युनियन जस्ता मञ्चहरु जसरी भएको छैन। सार्क यीभन्दा पछि परेको छ। यसमा आवद्ध मुलुकहरुबीच आपसी व्यापार उनीहरुको कूल व्यापारको पाँच प्रतिशत पनि छैन। सार्क एउटा आर्थिक सहयोग मञ्च हो। आर्थिक मञ्च एक किसिमले राजनीतिक सम्बन्ध बलियो पार्ने मञ्च पनि हुनेगर्छ। यो कोणबाट हेर्दा सार्क दक्षिण एशियाली देशबीचको सम्बन्ध बलियो पार्न उपयोग हुन सक्ने मञ्च हो। यसमा सदस्य देशका राष्ट्रध्यक्षबीच आपसी मतभेदका मुद्दामा छलफल गर्ने मौका पनि मिल्नेगर्छ। उदाहरणका लागि भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच यो बैठकमा वार्ता हुने मौका मिलेको छ। सार्कको पूर्ण विकास अझै हुन सकेन। यसका अनगिन्ती कारणहरु छन्। भारत र पाकिस्तानबीचको असहज सम्बन्ध यसो हुनुको मुख्य कारण हो। दुवै यो क्षेत्रका शीर्ष देशहरु हुन्। तर दुवैबीच कारोबार सामान्य हिसाबमा हुँदैन। चीन सार्कको एउटा अब्जर्बर देशको रुपमा सन् २००५ देखि जोडिएको हो। अब्जर्बरका रुपमा सार्कबाट उसका धेरै महत्वकांक्षा पूरा हुन सक्दैनन्। त्यसैले चीन यो मञ्चको प्रयोग सार्क मुलुकहरुसँग आफ्नो सम्बन्ध सुदृढ बनाउनका लागि गरिरहेछ। पूर्ण सदस्यको चाहना चीन सार्कको पूर्ण सदस्य बन्न चाहन्छ। यसबाट चीनको मात्र नभइ पूरै सार्क मुलुक लाभान्वित हुन सक्छन्। चीनले अहिले नै सार्क सदस्यताका लागि सबै मापदण्ड पूरा गर्छ। विद्मान ८ सार्क सदस्यमध्ये पाँच देशहरुसँग चीनको व्यापारिक सम्बन्ध छ। चीन सार्कको मञ्चमा अझ बढी भूमिका निर्वाह गर्न चाहन्छ। त्यसैले चिनियाँ अधिकारीहरु 'सार्क प्लस वान' देश अथवा सार्कमा 'डायलग पार्टनर'को भूमिकाका लागि दवाब दिइरहेका छन्। विद्यमान अवस्थामा चीन सार्कको पूर्ण सदस्य देश बन्न गाह्रो छ। तर 'सार्क प्लस' वा 'सार्क प्लस वान' जस्तो व्यवस्था गरेर चीन जोडिन सक्छ। एक दिन चीन, भारत तथा पाकिस्तान जस्तै सार्कको पूर्ण सदस्य देश बन्नेछ। (चाइना इन्स्टिच्युट अफ कन्टेम्प्रोरी इन्टरनेशनल रिलेशनका निर्देशक हु शेशाङ्गको यो विचार बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो।) सार्कमा चीनको भूमिका कस्तो होला ,किन? - काठमाडौंमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन चलिरहेकै बेला यसमा चीनको भूमिका कस्तो रहने भन्नेबारे चिनियाँ संचारमाध्यमले बहस छेडेका छन् । नेपालका राजनीतिज्ञ र विदेश मामिला विज्ञहरूको भनाई सार्वजनिक गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले यस्तो बहस चलाएको हो । यसलाई अन्य चिनियाँ संचारमाध्यहरूले पनि प्राथमिकताका साथ सांभार गरेका छन् । सिन्ह्वाले नेपालका राजनीतिज्ञ तथा विदेश मामिला विशेषज्ञहरूले सार्कमा चीनलाई सक्रिय भूमिका दिनुपर्ने बताएको दाबी गरेको छ । तत्काल सिधै सार्कको सदस्यता प्रदान गर्न सहमति नजुटेपनि एउटा नयाँ किसिमको व्यवस्था गर्नेतर्फ कदम चाल्नुपर्ने यिनको सुझाव रहेको समाचारमा उल्लेख छ । जसबाट चीनलाई प्रभावकारी भूमिका निर्वाह गर्न सहज होस् । राज्य परिषद्को स्वामित्वमा रहेको 'सिन्ह्वा न्यूज एजेन्सी' चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको रेखदेखमा संचालित हुन्छ । कान्तिपुरले हालै सार्कबारे चिनियाँ विज्ञहरूको धारणा प्रकाशित गरेको थियो । सिन्ह्वाले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेदेखि सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल, पूर्व मन्त्री कमल थापा, रमेशनाथ पाण्डे, भेषबहादुर थापा लगायतको धारणालाई समेटेको छ । सार्कका सबै मुलुक चीनलाई सदस्यता प्रदान गर्न राजी भए नेपाललाई कुनै समस्या नहुने परराष्ट्र मन्त्री पाण्डेले बताएको सिन्ह्वाले उल्लेख गरेको छ । मन्त्री रिजालले चीनलाई बढी प्रभावशाली भूमिका दिनु राम्रो हुने उल्लेख गर्दै यसले चीन र सार्क मुलुकबीचको दुईपक्षीय सम्बन्ध प्रगाढ बढाउन मद्दत पुग्ने विचार राखेका छन् । 'चीनको सक्रिय भूमिका सबै सार्क मुलकहरूका लागि लाभदायक छ', राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री कमल थापाको भनाई उद्धित गर्दै सिन्ह्वाले लेखेको छ, 'हामीले दक्षिण एसियाको आर्थिक विकासमा चीनको भूमिकालाई चिन्नुपर्छ ।' चीनको सक्रिय भूमिका सहितको उपस्थितीले सार्कको महत्व मात्र बढाउने नभई सम्पूर्ण क्षेत्रमा विकासको गतिलाई तिब्रता दिने पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको धारणा छ । सबै सार्क प्रमुखहरूलाई चीनको सक्रियता बढाउने उपाय खोज्न समेत उनले सुझाएका छन् । दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक निश्चल नाथ पाण्डेले चीनलाई सार्कमा भित्र्याउन कुनै किसिमको सार्क प्लस १ को व्यवस्था गर्नेतर्फ काम गर्नु आवश्यक रहेको बताएका छन् । चीनलाई पर्यवेक्षकका रुपमा राख्नु अपमान हुने उनको तर्क छ । युरोपियन युनियन र चीन सार्कको सबैभन्दा सक्रिय सदस्य रहेको बताउँदै निर्देशक पाण्डेले काम गर्ने र नगर्नेलाई एउटै तहमा राख्न नसकिने विचार राखेका छन् । यद्यपि केहीले भने चीनलाई सार्क सदस्यका रुपमा निम्त्याउन अझै उपयुक्त समय नभएको तर्क समेत प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ । 'चीनलाई अहिले नै सार्क सदस्यका रुपमा निम्त्याउनु अपरिपक्व हुनेछ', पूर्व परराष्ट्र मन्त्री भेष बहादुर थापाले भनेका छन्, 'यस्तो समय आउनसक्छ तर यस मुद्दामा अहिले नै कुरा गर्नु धरै छिटो हुनेछ ।' बेङजिङस्थित सरकारी थिंकट्यांक सम्बद्ध विज्ञहरूले कान्तिपुरसँगको कुराकानीमा चीनले सार्कको पूर्ण सदस्य वा स्थायी रणनीतिक साझेदार बन्ने चाहना राखेको प्रष्ट्याएका थिए । सार्कका पँाच राष्ट्रसँग सिमा जोडिएको र सबै सदस्य मुलुकसँग उत्तिकै गहिरो सम्बन्ध भएकाले पनि चीनलाई पर्यवेक्षकको भूमिकामा सिमित गर्न नहुने दक्षिण एसियाली मामिलाका विज्ञ हु सिसेङ र लान जियानजुको तर्क थियो । चीन लगायत जापान, अष्ट्रेलिया, इरान, दक्षिण कोरिया, मरिसस, म्यानमार, अमेरिका र युरोपियन युनियन सार्क पर्यवेक्षक छन् । म्यानमारले सन् २००८ मै पूर्ण सदस्यताका लागि औपचारिक निवेदन दर्ता गरिसकेको छ । चीनले अहिलेसम्म सदस्यताका लागि औपचारिक प्रस्ताव गरेको छैन् । तर सार्क यसप्रति सकारात्मक रहे हार्दिकताका साथ स्वागत गर्ने परराष्ट्र सम्बद्ध श्रोतले बतायो । चीन विश्वभरी नै सम्बन्ध विस्तार गर्न अग्रसर देखिएको उल्लेख गर्दै बेइजिङस्थित नेपाली राजदूत महेश मास्केले सार्क राष्ट्रहरूले चीनलाई विशेष भूमिका दिने वातावरण बनाउनुपर्ने विचार राखे । 'यसमा चीनको चाहना पनि देखिन्छ', सार्कका सबै मुलुकसँग चीनको आर्थिक तथा कूटनीतिक सम्बन्ध गँासिएको बताउँदै राजदूत मास्केले थपे, 'क्षेत्रीय स्तरमा पनि निकटता बढाउन खोज्नु अस्वभाविक होइन ।'

Category:

0 comments