सार्क शिखर सम्मेलनमा कसले के भने ?
|
अन्तरदेशीय आवागमन, अपराध नियन्त्रण र विकासमा जोड
१० मंसिर, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ शिखर सम्मेलन उदघाटन कार्यक्रममा सार्क देशका प्रमुखहरुले दक्षिण एशियाको विकासका लागि आ-आफ्नो ‘भिजन’ प्रस्तुत गरेका छन् ।
शिखर सम्मेलन उदघाटनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।
सार्कका पर्यवेक्षकका रुपमा रहेका चीन, जापान, म्यानमार, कोरिया, अष्ट्रेलियालगायत विभिन्न मुलुकका प्रतिनिधिले पनि सार्कको सफलताको शुभकामना दिएका छन् ।
नवाज सरिफ : चीनसँग सहकार्य गरौं
पाकिस्तानले दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि विश्वकै आर्थिक महाशक्ति बन्दै गरेको चीनको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेको छ ।
पाकिस्तानले दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि विश्वकै आर्थिक महाशक्ति बन्दै गरेको चीनको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेको छ ।
सार्क शिखर सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले चीनको भूमिका खोजेका हुन् ।
पाकिस्तानले चीनलाई सार्ककको सदस्यता दिनुपर्ने बताउँदै आएको सन्दर्भमा उनको यो अभिव्यक्तिलाई अर्थपूर्णरुपमा लिइएको छ ।
शिखर सम्मेलनलाई सम्बोधन गर्दै सरिफले भने-दक्षिण एशियाको आर्थिक विकासका लागि मध्य एशियाका साथै चीनको सहकार्य आवश्यक छ । चीन सार्ककको पर्यवेक्षक राष्ट्र हो ।
सरिफले दक्षिण एशियाका देशहरु आपसमा लड्ने होइन यहाँका साझा समस्याविरुद्ध एकजुट भएर लड्न ढिला भइसकेको बताए ।
सरिफले भने-दक्षिण एशियाले अब गरिवी, अशिक्षा, बेरोजगारी, रोगका विरुद्ध संयुक्त रुपमा लड्ने अठोट गर्नुपर्छ । यसलाई आर्थिक विकासको कोरिडोर बनाउनुपर्छ ।
नरेन्द्र मोदी : आतंकवाद नियन्त्रण र सीमा सुधारमा जोड
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गरेका छन् । अठारौंं सार्क शिखर सम्मेलनलाई सम्वोधन गर्दै मोदीले आतंकवाद अन्त्य गर्न सबैको सामुहिक प्रयासको खाँचो औंल्याएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गरेका छन् । अठारौंं सार्क शिखर सम्मेलनलाई सम्वोधन गर्दै मोदीले आतंकवाद अन्त्य गर्न सबैको सामुहिक प्रयासको खाँचो औंल्याएका हुन् ।
‘हामीलाई २६/११ को पीडा अझै पनि याद छ, यो हमला कहिले पनि निको नहुने पीडा हो, आउनुस् हामी सबै मिलेर आतंकवादलाई खतम पार्ने सपथलाई पूरा गरौं ।’
सन् २०११ नोभेम्बर २६ तारिकमा मुम्बईको होटल ताजमा आतंकवादी हमला भएको थियो । सो हमलामा पाकिस्तानको हात रहेको भारतको आरोप छ ।
सार्क सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पनि सँँगै रहेकाले मोदीको अभिव्यक्ति त्यतैतिर लक्षित रहेको भारतीय सञ्चार माध्यमहरुले बताउने गरेका छन् ।
मोदीले सार्क राष्ट्रहरुको सबैभन्दा ठूलो कमजोरी भौतिक पूर्वाधार रहेको बताएका छन् । भौतिक पूर्वाधार कमजोर रहेकाले सडक मार्ग हुँदै नेपाल आउने आफ्नो इच्छा पूरा नभएको उनले सम्वोधनको क्रममा खुलाए ।
‘सडक मार्ग हुँदै नेपाल आउने मेरो योजना थियो, यसबाट हाम्रो सरकारका कैयौं अधिकारीहरु चिन्तित भए,’ मोदीले भने, ‘यसको कारण थियो सीमा क्षेत्रका सडकको खराब हालत । यस्तो अवस्थालाई हामीले हटाउनुपर्छ ।’
उनले सार्क राष्ट्रहरुमा विकासका गति निकै सुस्त भएकाले व्यापार बृद्धिमा जोड दिए । सार्क देशबीच केबल १० प्रतिशत मात्रै व्यापार भएको उनले तथ्यांक पेश गरे । रेल, रोड र बिजुलीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै मोदीले भौतिक पूर्वाधारको विकासको आवश्यकता औंल्याए ।
भारतले बंगलादेशसँग रेल-रोड सम्वन्ध अघि बढाएको, श्रीलंकासँग खुला व्यापारको सम्झौता गरेको जानकारी गराउँदै उनले यसबाट आफूहरुको सम्वन्ध थप सुदृढ भएको बताए । सार्क देशबीच सम्वन्ध मजबुत बनाउन अहम जिम्मेवारी र अनुभूति भएको भन्दै मोदीले यसका लागि दक्षिण एशियाली राष्ट्रहरुबीच सामुहिक प्रयास आवश्यक रहेको औंल्याए ।
सार्क सम्मेलनमा सरकार प्रमुखको हैसियतमा पहिलोपटक सहभागी भएका मोदीले १८ औं सार्क शिखर सम्मेलन आयोजक राष्ट्र नेपाललाई बधाइ समेत दिए ।
अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले दक्षिण एशियालाई फिसा फ्री क्षेत्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै घानीले भिसा फी दक्षिण एशिया र सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।
विश्वकै वुद्धिजिवीमध्ये दोस्रोमा पर्ने घानीले आफ्नो सम्बोधनका क्रममा भने-हामी दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि छिमेकीसँग सहकार्य गर्न चाहान्छौं र हाम्रो भूमी कुनै पनि छिमेकीको विरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध छौं ।
घानीले आफ्नै भूमिमा ‘प्रोक्सी’ वार पनि स्वीकार्य नहुने बताएका छन् ।
महिन्दा राजपाक्ष : दक्षिण एशियालाई बुद्धिष्ट सर्किट बनाऔं
श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
सार्क शिखर सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै राजपाक्षले भने-दक्षिण एशियालाई बुद्धिष्ट कल्चरल ट्रेल बनाउन सकिन्छ, यो क्षेत्रको शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किट बनाउँ ।
मंगलबार नेपाल उत्रिनासाथ बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका राजपाक्षले आफूलाई नेपाल आउन बुद्ध जस्मस्थलले प्रेरित गरेको बताए ।
निकै गम्भिर र महत्वपूर्ण सन्देशसहितको मन्तव्य दिएका राजापाक्षेले श्रीलंकाको युद्धपछिको अवस्थाका बारेमा पनि संकेत गरे ।
उनले दक्षिण एशियाले अब आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्ने लगानीमा सहकार्य गर्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनको चुनौतीसँग क्षेत्रीय शक्तिहरु एकजुट भएर विश्व समुदायसँग एउटै प्लेटर्फम मार्फत अघि बढ्नुपर्ने बताए ।
लिखित मन्तव्यबिना नै धाराप्रवाह बोलेका राष्ट्रपति राजापक्षले आर्थिक सहकार्य नै दक्षिण एशियाको विकासको चाबी हो भनेका छन् ।
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्या समाधान गर्न सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यकता औंल्याए ।
विश्व तापमानमा भएको वृद्धिका कारण हिमाली क्षेत्रमा कम हिउँ परेको, हिमनदी पग्लदै गएकोले सार्क क्षेत्रमा थप संकट निम्त्याउनेतर्फ सचेत रहन सार्क सदस्य राष्ट्रहरुलाई उनले आग्रह गरे । उनले गरिबी न्यूनीकरणका लागि पनि सामुहिक प्रयासले बल पुग्ने बताए ।
दक्षिण एसिया मानवीय र वातावरणीय स्रोतमा धनी रहेकाले यसैलाई उपयोग गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्ने उनको जोड थियो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले शान्त र प्रगतिशील ज्ञानमा आधारित दक्षिण एसियाको विकास गर्न सार्क सदस्य राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।
उनले दक्षिण एसियाको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने उल्लेख गरिन् । प्रधानमन्त्री हसिनाले सार्क क्षेत्रको गरिबी निवारणका लागि सार्कको खाद्य र बीउ बैंकको प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
बंगलादेशमा महिलाहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको जानकारी गराउँदै उनले दक्षिण एसियामा युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र प्रभावकारी तालिमका माध्यमबाट मानव संसाधनको विकास गर्न सकिने बताइन् ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरूबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक पर्ने बताए । सार्क स्थापनाको ३० वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका धेरै क्षेत्रमा सहयोगको क्रम बढेको बताउँदै उनले सार्कको संस्थागत सुधारको प्रशंसा गरे ।
आफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गर्दै उनले जलवायु परिवर्तनका कारण माल्दिभ्सलगायतका मुलुकहरुमा परेको असर न्यूनीकरणका लागि साझा प्रयास आवश्यकता औंल्याए ।
|
Category: News
0 comments