Home �
News
� बाबुले ल्यापटप किनिदिए, छोराले नक्कली नोट छाप्ने मेसिन बनाए !
Unknown |
14:32 |
0
comments
शुक्रबार १९ मंसिर, २०७१

दाङ-नारायणपुर ९ बुटनियाँकी सावित्री चौधरी बिहीवार साँझ घरमै थिइन्। एकाएक प्रहरीको टोली घर पुग्यो। प्रहरीले घर खानतलासी गर्न थालेपछि उनि डराइन्। प्रहरीलाई किन घर खानतलासी गरेको भनेर सोध्ने हिम्मत सम्म राखिन्।
प्रहरीले छोरा आशिष नक्कली नोटको कारोबारमा संलग्न भएको जवाफ दिएपछि सावित्रा झाँगाबाट खसेझैँ बनिन्। सुरुमा उनलाई लाग्यो प्रहरीलाई गलत खवर पुग्यो होला। प्रहरीले छोराको कोठामै नक्कली नोट भेटाएपछि भने सावित्रा ढुक्क बनिन् 'छोरो गलत काममै लागेको रैछ।' प्रहरीले उनको घरमा नक्कली नोट मात्रै हैन,पैसा छाप्दै आएको स्क्यान मेसिन र एकथान ल्यापटप समेत फेला पारेको छ।
छोरा पक्राउ परेको खवरले सावित्री विछिप्त छिन्। उनले नागरिकसँग रुँदै भनिन् 'मेरो छोरो सिधा थियो,यस्तो काम गर्ला भन्ने कहिल्यै लागेन।' आशिष उनका एक्ला छोरा हुन्। १७ बर्षीय उनी नारायणपुर स्थित सिद्धरत्ननाथ उच्चमाविमा कक्षा १२ मा पढ्दै थिए। पढाई भन्दा बाहिरको समय उनले बाबुलाई काममा सघाउँथे। उनका बाबु बीरवहादुर घर बनाउने मिस्त्री काम गर्छन्। निम्न बर्गिय यो परिवार तिनै बीरवहादुरकै आम्दानीबाट चलेको छ। घरको आयस्तर बढाउने बहाना गरेर आशिषले कम्प्युटर सेन्टर खोल्ने भन्दै गत कात्तिकमा ल्यापटप किन्न लगाए। बाबुले ५० हजार रुपेयाँ ऋण सापट गरेर एउटा ल्यापटप किनीदिए। आशिषको लागि ल्यापटप नक्कली नोट छाप्ने मेसिन बन्यो। 'गाउँका केटाहरुलाई पैसा लिएर कम्प्युटर सिकाउँछु बुवा भनेर ल्यापटप किन्न पठाएको थियो,'बाबु बीरवहादुरले भने 'छोराले कम्प्यूटर सिकाएर दुईचार पैसा कमाउला भनेको ,नक्कली पैसा छाप्ने मेसिन बनाएछ।'
आशिषले केही समय सम्म कम्प्यूटर सिकाएको जस्तो नगरेका पनि हैनन्। गाउँ वरपरकै ४/५ जना कम्प्यूटर सिक्न आउँथे। कम्प्यूटर सिक्न आउनेहरु देखेर बाबुआमा पनि २/४ पैसा कमाई हुने खुशीमै थिए। यत्तिकैमा ब्यापारकै लागि छोरा आशिषले अर्को आवस्यकता देखाए। त्यो थियो 'स्क्यानर मेसिन।' फेरी ४० हजार रुपैयाँ ऋण काढेर बीरवहादुरले छोराको त्यो माग पनि गत साता मात्रै पुरा गरिदिए। 'स्क्यान गर्ने काम पनि सुरु गरेपछि झनै बढी कमाई हुन्छ भन्यो,'वीरवहादुर भन्छन् 'होलात भनेर छोराकै विश्वासमा त्यो सामान पनि ऋण काढेर किनिदिएँ।' 'त्यो ऋण अहिले पनि बाँकी नै छ ,जे जे भन्यो,त्यहि पुरा गरिदिएँ,'विरवहादुरले भने 'अहिले पछुतो लागेको छ,छोराले गलत बाटो समात्ला भन्ने शंकै लागेन।'
प्रहरीले खानतलासीका क्रममा भेट्टाएका ल्यापटप र स्कानरलाई नै आशिषले नक्कल नोट छाप्ने मेसिनको रुपमा प्रयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। प्रहरीले आशिषको घरबाट प्रिन्ट गरिएको अवस्थाका ५ सय रुपैयाँका नोट फेला पारेको छ। उनले प्रयोग गरेकै ल्यापटप र स्क्यान मेसिनबाटै उनले ति नोटहरु उत्पादन गरेको प्रहरी बताउँछ। 'हामीहरुले उसको घरबाट प्रिन्ट गरिएको अवस्थाका पाँच सयका २० वटा नक्कली नोट स्क्यान मेसिन र ल्यापटप बरामद गरेका हौँ,'जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रञ्जित सिंह राठौरले भने 'त्यही मेसिनबाटनै उसले नक्कली नोट उत्पादन गरेको हुन सक्ने देखिन्छ।' प्रहरीले यहाँ बरामद् गरिएका सवै सामाग्रीलाई काठमाडौँ महाराजगन्ज प्रहरी वृत्तमा पठाएको छ। आशिष काठमाडौँमै पक्राउ परेकाले यहाँ बरामद भएको सवै सामाग्री थप अनुसन्धानका लागि भन्दै काठमाडौँ पठाईएको छ।
आशिष नक्कली नोट कारोबार गरेको सप्रमाण सहित पक्राउ परेपनि घर परिवारलाई भने यसबारेमा कुनै जानकारी नभएको परिवारले बताएका छन्। 'हामीहरुलाई उसले गरेको यो धन्दाको बारेमा केही थाहा भएन हजुर,'आशिषकी आमा सवित्रीले भनिन् 'थाहा पाएको भए यस्तो काम रोक्न लगाउँथे।' उनका अनुसार स्क्यान मेसिन खरिद गरेयता आशिषले आँफू एक संस्थामा काम पाएको बताउँदै आएका थिए। तर उनले संस्थाको नाम भने भनेका थिएनन्। उनी त्यहि संस्थाको काममा भन्दै दिनहुँ घरबाहिर निस्कन्थे। 'संस्थाको काम छ भनेर सधैँ घरबाट निस्कन्थ्यो,'सावित्रीले भनिन् 'संस्थाको काम भनेर नक्कली पैसा छाप्ने काम गरेछ।' उनका अनुसार संस्थाकै काम देखाएर आशिष ४ दिन अघि काठमाडौँका लागि घरबाट निस्केका थिए।
साता दिनअघि मात्रै तुलसीपुर स्थित एक सुनचाँदी पसलमा नक्कली नोट दिएर सुन खरिद गरेको घटनामा आशिष जोडिएको हुन सक्ने प्रहरी अनुमान छ। तुलसीपुर स्थित विजय सुनचाँदी पसलबाट पौने तीन तोला सुन खरिद गरेका ती व्यक्तिले एकलाख ३३ हजार रुपैयाँ मध्ये १८ हजार रुपैयाँ मात्रै सक्कली दिएका थिए। पैसाको गड्डी बनाएर पसलेलाई बुझाएका उनी रकम दिए लगत्तै पसलबाट सुन लिएर फरार भएका थिए। पछि पसल साहुले रकम गन्दा बीचबीचमा नक्कली नोटहरु फेला परेका थिए। नक्कली नोट भिराएर सुन लिएका ती व्यक्तिले आफ्नो नाम विजय चौधरी र ठेगाना श्रीगाउँ लेखाएका थिए।
प्रहरीले श्रीगाउँमा खोजतलास गर्दा विजय नाम गरेको ब्यक्ति फेला नपरेको ईलाका प्रहरी कार्यालय तुलसीपुर सई बीरेन्द्रबहादुर बोहराले जानकारी दिए। त्यो व्यक्ति नक्कली नोट सहित काठमाडौँमा पक्राउ परेका आशिष नै हुन सक्ने प्रहरीले शंका गरेको छ। 'नक्कली नोट थमाएर सुन लगेको ब्यक्तिको परिचय यकिन नहुनु र काठमाडौँमा दाङकै मान्छे नक्कली नोट सहित समातीनुले तिनै व्यक्ति यो घटनामा पनि संलग्न भएको हुनु पर्छ,'बोहराले भने।
 |
Category:
News
0 comments