Hindi Films

रितुको हत्या रहस्यमय, 'धोकेबाज भन्दै छुरी हान्यो'

Unknown | 07:42 | 0 comments

काठमाडौं : जनकपुरकी रितु महासेठलाई विवाहभोजमा जाँदै गरेका बेला शनिबार मैतीदेवीमा छुरा प्रहार गरी हत्या गरिएको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीले 'धोकेबाज' भन्दै रितुमाथि छुरा प्रहार भएको बताएका छन्। मैतीदेवीस्थित सेतोपुलबाट घट्टेकुलो जाने बाटोमा शनिबार दिउँसो पौने १२ बजे रितुमाथि अज्ञात युवाले शरीरका विभिन्न आठ ठाउँमा छुरा प्रहार गरी हत्या गरेका थिए। हत्यारा छुरा प्रहार गरी फरार भएका थिए। रितुसँगै कञ्चन र अनुपमा नाम गरेका दुई युवती पनि भोजमा जाँदै थिए। 'हामी हिँडिरहेका थियौं, एक्कासि एउटा केटाले बाटो छेक्यो र धोकेबाज भन्दै रितु दिदीमाथि अन्धाधुन्ध छुरा प्रहार गर्न थाल्यो। हामीलाई पनि मार्ने भयो भनेर आत्तियौं, के गर्ने के भन्ने भयो', कञ्चनले आइतबार अन्नपूर्णसँग भनिन्। उनीहरू घटनाबारे जानकारी दिन आइतबार महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका थिए। 'डेढ वर्ष भयो रितु दिदी र हामी एसएनएस गल्र्स होस्टेलमा बस्दै आएका थियौं, उहाँमाथि त्यस्तो धम्की आएको जानकारी छैन', अनुपमाले भनिन्। घटनास्थल र प्रहरी बिट मैतीदेवी करिब ६० मिटरको दुरीमा रहे पनि समयमा प्रहरी नआइपुगेको उनले बताइन्। 'रितु दिदीलाई छुरी हानेपछि १५-२० मिनेटपछि मात्रै प्रहरी आइपुगे, समयमा प्रहरी आइदिएको भए अपराधी पक्राउ पर्ने थियो', कञ्चनले भनिन्। छुरी लागेर घाइते भएकी रितुलाई अनुपमाले नै उपचारका लागि काठमाडौं मेडिकल कलेज पुर्‍याएकी थिइन्। त्यहाँबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु:याइए पनि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो। प्रहरीले छुरा प्रहार गर्नेलाई पक्राउ गर्न सकेको छैन। स्रोतका अनुसार रितुलाई केही दिनअघि मलेसियाको नम्बरबाट समेत फोन आएको थियो। पप्पु नाम गरेका युवकले चार दिनअगाडि आफ्नो फेसबुक वालमा रितुको फोटो अपलोड गरिदिएपछि उनले हटाउन धेरै प्रयास गरेकी थिइन्। 'दिदीलाई फोन त धेरै आउँथ्यो, साथीहरूको भन्नुहुन्थ्यो, हामीले त्यसलाई सामान्य लिन्थ्यौं, अचानक हाम्रै अगाडि धोकेबाज भन्दै छुरा हानेपछि पो शंका लाग्यो', कञ्चन र अनुपमाले प्रहरीलाई दिएको बयान उद्‌धृत गर्दै एक प्रहरी अधिकृतले भने। महाशाखाले रितुको फेसबुकमा राखिएका तस्बिर र आएका प्रतिक्रिया सँगै रितुको मोबाइलमा आएका फोन नम्बरबारे पनि अनुसन्धान गरिरहेको छ। कान्तिपुर कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रितुका एकभन्दा बढी युवकसँग 'लभ अफेयर' रहेको आशंकामा समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ। महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले भने, 'हामीले रितुका साथीसहित धेरै कोणबाट अनुसन्धान गरिरहेका छौं, केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छौं, घटनाभित्र केही रहस्य लुकेको छ, त्यो हामी पत्ता लगाएर सार्वजनिक गर्छौं।'

Category:

0 comments