चीनको पुनरोदयले विश्व र नेपालका लागि के अर्थ राख्छ? पढ्नै पर्ने लेख
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
लामो आरोह-अवरोहपछि चीनको पुनरोदयले विश्व र नेपालका लागि के अर्थ राख्छ?
सन् १७९२मा बेलायतका राजा जर्ज तृतीयले चीनमा व्यापार प्रतिनिधिमण्डल पठाए । भारत, मकाउ हुँदै एक वर्षको समय लगाएर १७९३मा सो प्रतिनिधिमण्डल बेइजिङ पुग्यो।
बेलायतीहरू चिनिया शासकलाई प्रभावित पार्न चाहन्थे। सात सय जनाको प्रतिनिधिमण्डलमा बैज्ञानिक, कुटनीतिज्ञ, ब्यापारी, सैनिक, कलाकार सम्मिलित थिए। उनीहरुले लिएर गएका थिए, युरोपका नयाँ आविष्कार र उत्पादनहरु टेलेस्कोप, एयरगन, ब्यारोमिटर, भित्ते-घडीलगायतका सामाग्री।
बेलायतीहरुको मुख्य स्वार्थ चीनमा ब्यापार बढाउनु थियो। त्यो वेलासम्ममा ईस्ट ईन्डिया कम्पनीले चीनमा अफिमको निर्यात गर्न थालिसकेको थियो। अफिम थोरै लागनी र धेरै नाफा आउने व्यापार थियो। चीन गएको बेलायती प्रतिनिधि मण्डलको प्रबन्ध पनि ईस्ट इन्डिया कम्पनीले नै गरेको थियो।
प्रतिनिधिमण्डलका नेता लर्ड म्याकार्नीले जर्ज तृतीयको सन्देश चिनिया शासक कुइलिङ समक्ष राखे, 'बेजिंगमा बेलायतका आवासीय प्रतिनिधीलाई बस्न दिईयोस र व्यापारका लागि पाँचओटा नाका खुल्ला गरियोस्।' त्यस वेलासम्म विदेशीले गुवान्ग्जाओको एउटा नाका भएर मात्र चीन प्रवेश गर्न पाउँथे।
क़ुइलिङले कुरा सुने मात्र, म्याकर्नीलाई केही जवाफ दिएनन्। सिधै जर्ज तृतीयलाई चिठी पठाए, 'हामीलाई प्रविधि र चतुर्याइ प्रयोग गरी बनाइएका वस्तुमा धेरै चासो छैन। तिम्रो देशका उत्पादनको हामीलाई थोरै पनि आवश्यकता छैन। जहाँसम्म बेलायती आवासीय प्रतिनिधि बेइजिङमा राख्ने प्रश्न छ, त्यो हाम्रो नीति-नियमको बिपरित हुन्छ र तिम्रो देशलाई पनि त्यसले खासै फाइदा पुर्याउने छैन।
अठारौँ शताब्दीको अन्त्य र १९सौ शताब्दीको सुरुसम्म पनि एसिया अर्थतन्त्र र सभ्यताको केन्द्र थियो। सन् १८२० मा चीन र भारतले विश्व अर्थतन्त्रको ५० प्रतिशत हिस्सा ओगट्थे। दोश्रो स्थानमा रहेको भारत भन्दा दुई गुणा र बेलायतभन्दा छ गुणा ठूलो अर्थतन्त्र थियो चीनको। भर्खरै बेलायती साम्राज्यबाट स्वतन्त्रत भएको अमेरीकी अर्थतन्त्र त चीनिया अर्थतन्त्रको ५ प्रतिशत मात्र थियो।
विश्व अर्थतन्त्र जहिलेसम्म कृषिमा आधारित थियो, चीन त्यसमा अब्बल रह्यो। कोदो र धान पहिलो पटक चीनमा नै उत्पादन भएको थियो। युरोपको जस्तो पछौटे सामन्तवाद चीनमा थिएन, त्यसैले जमिनको राम्रो उपयोग सम्भव भयो। आधुनिक सिंचाई प्रणालीको विकासले कृषिको उत्पादकत्व बढायो।
चीन कृषिमा मात्र अगाडी थिएन। धागो कात्ने मेशिन, प्रिन्टिंग, र पोर्सेलिन तथा कागजी नोटको प्रयोग, किताबको विस्तार र प्रभावकारी परीक्षा प्रणालीको विकास चीनले नै सबैभन्दा पहिले गरेको थियो। गणित र चिकित्सा क्षेत्रमा उसले ठूलो फड्को मारेको थियो। यी सबै उपलब्धिले चीन उसका युरोपियन र एसियन समकक्षीभन्दा धेरै अग्रणी थियो।
चिनिया शासकहरु चिनिया जातिलाई अरु भन्दा उच्च र फरक संसारका ठान्थे। त्यसैले पश्चिमाहरु सँग हिमचिम बढाउनु र व्यापार गर्नु उनीहरुको धेरै चासोको बिषय थिएन। आफ्नै साम्राज्य र आफ्नै समाज उनीहरुका लागि परिपूर्ण संसार थियो।
चिनिया सभ्यता र अर्थतन्त्रको दाजोमा बेलायत कलिलो र काँचो थियो। फरक के थियो भने, बेलायतको आयतन र अर्थतन्त्र दुवै तिब्र गतिमा बढ्दो थियो। अर्कोतिर, आफैमा रमाउदै बाहिरी संसारका लागि ढोका बन्द गरेर चीनले आफ्ना लागि थप प्रगतिको बाटो पनि बन्द गरेको थियो।
बेलायती व्यापार प्रतिनिधिमण्डल र चिनिया शासक बिचको भेटमा बिगत र भबिष्य आमने-सामने भएका थिए। एउटा युगको समापन हुँदै थियो, अर्को युगको आगमन। बेलायतको नेतृत्वमा उदाउँदै गरेको त्यो युरोपेली युगबारे चीन बेखबर थियो। ठूला र पुराना शक्ति, शासक र कम्पनीहरूको नियति एउटै हो, यिनले आफ्नो खुट्टामुनि खस्किँदो धरातलको भेउ कमै पाउछन्।
चीन बिस्तारै बढ्दो जनसंख्यालाई धान्नका लागि आवश्यक खाद्यान्न र अन्य सामग्रीको जोहो कसरी गर्ने? भन्ने संकट व्यहोर्दै थियो। बेलायतले पनि यो समस्या नभोगेको होइन तर, उसले समाधान पनि पहिल्याई सकेको थियो।
कोइलाको उत्खनन्, रेलको विकास, प्रविधिको बढ्दो प्रयोगसँगै बेलायतले रफ्तारमा औद्योगिक क्रान्तिमा गर्यो। फैँलदो उपनिवेशले उसलाई दासका रुपमा आवश्यक जनशक्ति उपलब्ध गरायो। दाससँगै बेलायतले उपनिवेशहरुबाट काठ, कपास, चिनी र आवश्यक कच्चा पदार्थ ल्यायो। प्रविधि, मानवीय श्रम र कच्चा पदार्थको भरपुर उपयोग गरेर बेलायतले औद्योगिक क्रान्तिमा फड्को मार्यो।
उपनिवेशको विस्तारसँगै बेलायतको धन मात्र बढेन सामरिक र सैन्य क्षमता पनि बढ्यो। सन् १७९३ मा व्यापार प्रतिनिधिमण्डल चीन पठाउँदा बेलायतको आत्मविश्वास र महत्वकांक्षाले पखेटा हालिसकेको थियो। लर्ड म्याकार्नीले चीनबाट फर्कँदै गर्दा आफ्नो डायरीमा लेखे, 'बेलायतसँगको व्यापार रोक्नु भनेको ज्ञान र प्रविधिको विकास रोक्नु जस्तै हो। त्यो सम्वभ छैन। चीन धुजा धुजा हुनेछ।'
ईस्ट इन्डिया कम्पनीले चीनमा अफिम निर्यातलाई तिब्र गतिमा अघि बढायो। चिनिया समाज त्यसले प्रभावित हुन थाल्यो। सन् १८२९ मा चीनले बाध्य भएर अफिम निर्यातमा प्रतिवन्ध लगायो।
बेलायत र चीनबीच कैयन वार्ता भए, सहमति निस्केन। बेलायत आफ्नो बढ्दो सैन्य तागतले चीनलाई घुँडा टेकाउन सक्छु भन्नेमा विश्वस्त थियो। असमान शक्तिबीच सम्मानपूर्ण सहमति बिरलै सम्भव हुन्छ। बेलायत र चीनबीच पनि त्यही भयो। दोस्रो विश्व युद्ध सुरु भएको ठिक १०० बर्ष अघि सन् १८३९ मा बेलायतले दक्षिण चीनमा आक्रमण गर्यो, त्यो पहिलो अफिम युद्धको शुरुवात थियो।
तीन वर्षको युद्धपछि चीनसामु बेलायत समक्ष आत्मासमर्पण गर्नुको विकल्प रहेन। सम्झौतामा बेलायतले हङकङमाथि अधिपत्य जमायो, पाँच ओटा बन्दरगाह बिदेशी व्यापारका लागि खुल्ला गरिए र, बेलायतले युद्धको क्षतिपूर्ति पनि भरायो।
पहिलो अफिम युद्ध चीनका लागि समर्पण, अपमान, आन्तरिक बिद्रोह र विष्फोटको शताव्दीको सुरुवात थियो। अर्को एक शताव्दी, माओत्सेतुङले १९४९मा चीनमाथि आफ्नो नियन्त्रण स्थापित नगरुञ्जेल, चीनले जे जति आन्तरिक बिद्रोह र वाह्य आक्रमण ब्योहोर्यो त्यसले चीनको वैभव र आर्थिक शक्तिलाई धुलोपिठो बनायो।
पहिलो अफिम युद्दमा हार व्यहोरेपछि चिनियाहरुको बेइजिङमाथिको डर र आत्माविश्वास दुवै उड्यो। त्यसपछि सुरु भयो आन्तरिक विद्रोहको शृंखला। १९शौ शताव्दीमा मात्रै चीनले चार ओटा ठूला आन्तरिक बिद्रोह ब्यहोर्यो। त्यसमध्ये १८५०-६४ को १४ वर्षे ताईपेइ बिद्रोह सबैभन्दा भीषण थियो। २ देखि ४ करोड चिनिया यो बिद्रोहमा मात्रै मारिएको अनुमान छ।
ताइपेई बिद्रोह जारी रहेकै बेला दोस्रो अफिम युद्ध(१८५६-१८६०) सुरु भयो। यो युद्धमा बेलायत र फ्रान्सले संयुक्त रुपमा आक्रमण गरेर चीनलाई समर्पण गर्न बाध्य बनाए। यो बीचमा चीन जापान, जर्मनी, रुसलगायतका मुलुकसँग असमान सन्धि ब्यहोर्न बाध्य भयो। दोश्रो अफिम युद्धको केही वर्षपछि नै चीनलाई उछिन्दै बेलायत संसारको एक नम्बर अर्थतन्त्र भयो।
कोरियामाथिको अधिपत्यलाई लिएर जापानसँग भएको युद्ध चीनका लागि महंगो साबित भयो। जापानले युद्द क्षतिपूर्तीवापत चीनलाई उसको त्यसवेलाको बार्षिक आयको तीन गुणा भर्न लगायो।
विदेशी हस्तक्षेप र विदेशीहरुको चीनभित्र बढ्दो दवावलाई लिएर चिनिया नागरिकहरुमा असन्तुष्टि चुलिदो थियो। सन् १९०१ मा शासकहरुको सहयोगमा चीनमा विदेशीहरु विरुद्ध व्यापक आक्रमण सुरु भयो। इतिहासमा बक्सर विद्रोहका नामले चिनिने यो आक्रमण चीनका लागि झनै महंगो सावित भयो। बेलायत, फ्रान्स, अमेरिका र जापानको संयुक्त शक्तिले बक्सर बिद्रोह दवायो। चीनलाई थप छुट दिन बाध्य बनाईयो।
यो संयुक्त सेना बेइजिङ्को 'फर्बिडन गार्डेन' मा एक बर्षसम्म बस्यो। विदेशी व्यापारका लागि चीन थप खुकुलो भयो। विदेशी धर्म प्रचारकहरु चीनमा बेरोकटोक बस्न, घुम्न र चिनिया नागरिकरुलाई धर्म परिवर्तन गराउन पाउने भए।
१९४९ मा चिनिया कम्यूनिष्ट पार्टीको नियन्त्रणमा चीन गएपछि मात्रै आन्तरिक बिद्रोह र बाह्य आक्रमणबाट सो मुलुक जोगिएको हो।
चीनको आर्थिक पुनरुत्थान भने माओको मृत्युपछि सुधारवादी नेता देङ सियाओ पेङको १९७८ मा पुनरोदय पछिमात्रै भएको हो।
देङले सुधारको वागडोर सम्हाल्दा चिनिया अर्थतन्त्र अमेरिकी अर्थतन्त्रको १० प्रतिशत मात्र थियो, जबकी १८२० मा अमेरिकी अर्थतन्त्र चिनिया अर्थतन्त्रको ५ प्रतिशत मात्र थियो।
देङले करिव डेढ शताव्दीअघि क़ुइलिङ्गले गरेको गल्ती उल्टाए। चीनलाई तिब्र गतिमा विदेशी लगानी र प्रविधिका लागि खुल्ला गरेर चिनिया अर्थतन्त्रको पुनर्निर्माण सुरु गरे।
बीसौं शताव्दीको समाप्तीसँगै सन् २०००मा आइपुग्दा चिनिया अर्थतन्त्र अमेरिकी अर्थतन्त्रको एक-तिहाइ भैसकेको थियो। २१शौ शताव्दीको सुरुकै वर्षमा चिनिया अर्थतन्त्र जुन रफ्तारले अघि बढ्यो र अमेरिकी अर्थतन्त्रमा जुन शिथिलता देखियो, चिनिया अर्थतन्त्र पुन: विश्वको एक नम्बर अर्थतन्त्र बन्छ भन्नेमा कुनै सन्देह रहेन।
प्रश्न कहिले? भन्ने मात्रै थियो। गत हप्ता शुक्रवार अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यो पर्खाइ पनि टुङग्याईदियो। सन् २०१४को तथ्याङ्कले भन्यो, चीनको कूल ग्राहस्त उत्पादन १७६ खर्ब अमेरिकी डलर पुग्नेछ भने अमेरिकाको १७४ खर्ब डलर। योसँगै अमेरिकाले १८७२ देखिको नम्बर एक अर्थतन्त्रको हैसियत गुमाएकोछ ।
चीन सर्वशक्तिमान अर्थतन्त्र हुनुको अर्थ संसार र नेपालाई के छ?
चीन विश्वको पहिलो अर्थतन्त्र बन्दैमा रातारात केही परिवर्तन हुनेहैन। चीन एक नम्बर अर्थतन्त्र बनेको हो, सबैभन्दा धनी मुलुक हैन। प्रतिव्यक्ति आयका हिसाबले अझै पनि चीन विश्वका धनी मुलुकको सुचीमा पर्दैन। सन् २०१३ मा अमेरिकाको प्रति व्यक्ति आय ५३,००० डलर थियो (क्रय शक्तिको आधारमा) भने चीनको ११,००० डलर मात्रै।
संसार यस्तै रहिरनेछ भन्ने पनि हैन। आउने दिनमा चिनिया अर्थतन्त्र र अरु देशका अर्थतन्त्र बीचको खाडल फराकिलो हुँदै जानेछ। एउटा प्रक्षेपण अनुसार, सन् २०५० मा चीनको अर्थतन्त्र ७०० खर्ब डलरको हुनेछ भने, अमेरिका र भारत लगभग ४०० खर्बको अर्थतन्त्र हुन्छन्। यसको अर्थ, अमेरिका र पश्चिमा विश्वको चीनसँग प्रतिस्पर्धा गर्न सक्ने, अझ उसलाई रोक्न सक्ने तागत घट्दै जानेछ।
सन् १८१५ मा वाटरलूको युद्धमा नेपोलियन बोनापार्ट हारेपछि विश्व व्यवस्थामा धेरथोर प्रजातान्त्रिक मुलुकहरु नै हावी भएका छन्। पछिल्ला दुई आर्थिक महाशक्ति अमेरिका र बेलायत प्रजातन्त्रका पक्षधर नभएको भए आजको विश्व व्यवस्था कस्तो हुन्थ्यो? भन्ने एउटा महत्वपूर्ण प्रश्न हो।
त्यही प्रश्न भोलिका हकमा पनि लागु हुन्छ। चीन तीब्र आर्थिक विकाससँगै साम्यवादी मुलुक रहिरहन सक्दैन भन्ने धेरै अध्येयताहरुको तर्क छ। अर्को ५० वर्षसम्म चीन कम्युनिष्ट शासन प्रणाली अन्तर्गत नै विश्वको महाशक्ति रह्यो भने त्यसले संसारमा कस्तो प्रभाव पार्ला? अरु प्रजातान्त्रिक मुलुकहरुसँग समन्वय कायम हुन्छ कि टकराव?
चीनमा स्कूल-कलेजमा पढाईने पाठ्यक्रम एउटा सन्देश वारम्बार दोहोरिन्छ- इतिहासलाई गम्भीरतापूर्वक लेऊ। चीनमा राष्ट्रियताको भावना त्यही भएर प्रखर रुपमा प्रकट हुनेगर्छ। जापानसँगको विवादमा चिनियाहरूको रगत तुरुन्तै उम्लिन्छ, रिस सडकमा पोखिन्छ। सायद, चिनियाहरु इतिहासलाई अलिक धेरै नै गम्भीरतापूर्वक लिइरहेका छन् !
चीनको पुनरोदयलाई लिएर पश्चिमा मुलुकहरु र जापानलगायत छिमेकीहरुमा एक किसिमको शंसय छ। त्यसको एउटा कारण उसले भविष्यमा गएर इतिहासको बदला लिन खोज्ला कि भनेर हो। जापानसँगको टापु विवाद तथा दक्षिणी समुन्द्रमा छिमेकीहरुसँग विवादमा चीनको कडा नीतिले गर्दा पनि भोलिको शक्तिशाली चीनलाई लिएर शंसय देखिएको हो।
यो चिन्ता सँगसँगै चीनको पुनरोदय शान्तिपूर्ण हुनेछ र त्यसले विश्वको शान्ति र प्रगतिलाई टेवा पुर्याउनेछ भन्ने चीनप्रति सहानुभूतिपूर्ण धारणा पनि उत्तिकै बलियो छ।
सोह्रौ र सत्रौ शताब्दीमा बेलायत र अरु युरोपेली मुलुकहरु उपनिवेशको होडवाजीमा थिए। त्यो समय चीनसँग पनि सो होडमा सामेल हुने शक्ति र सामर्थ्य थियो तर, चीनले उपनिवेश विस्तारको उदेश्य राखेन। चीनप्रति सहानुभूतिपूर्ण यो धारणाले भन्छ 'इतिहासले प्रमाणित गरेको छ, चीनले पूजीँ र शक्तिका लागि अरु मुलुकलाई आफ्नो उपनिवेश बनाएन र अरुको आन्तरिक मामिलामा पनि दक्खल दिएन।
आउने २५ बर्ष जो-जो बाच्छौँ, हामीले चीन कुन बाटो हिँड्नेछ भन्ने देख्ने छौँ।
जहाँसम्म नेपालको प्रश्न छ, छिमेकी विश्वको पहिलो आर्थिक शक्ति भए पछि अलिअलि ताप त हामीकहाँ त्यसै आउँछ। त्यसमा हामीलाई तीन-चार कुराको मुख्य लाभ हुनेछ।
पहिलो, अहिले पनि नेपाल उत्तर कोरियापछि चीनले धेरै आर्थिक सहायता दिने दोश्रो मुलुक हो। चीनको आर्थिक विकाससँगै हामीलाई सहयोग गर्ने क्षमता पनि बढेर जान्छ।
दोस्रो, चीनले संसारभर सहुलियत दरमा ऋण लागनी गर्न थालिसक्यो। त्यो ऋण दिने क्षमता दिनानुदिन बढ्दै जानेछ। विशेषगरी पूर्वाधार विकासका क्षेत्रमा हामीले चिनिया ऋणको उपयोग गर्न सक्छौँ।
तेस्रो, चिनिया लगानीको विस्तार द्रुत गतिमा भैरहेको छ। भनिन्छ, अवसर छ भने विदेशी लगानी सिमा काटेर पहिले पुग्ने छिमेकमै हो। हामीले पनि चिनिया कम्पनीहरुको लागनीबाट फाइदा लिन सक्छौँ।
चौथो, चिनिया पर्यटक हो। अहिले नै चिनिया पर्यटक नेपाली पर्यटन उद्योगको मेरुदण्ड भैसकेका छन्। छिमेकी देश नै सुन्दर र घुम्न सजिलो छ भने, सात समुन्द्र पार गर्ने पर्यटक एक पटक छिमेकी मुलुक अवश्य आउँछन्। आफ्नो जीवनकालमा चिनिया र भारतीय पर्यटक एक पटक मात्रै नेपाल आए हामीलाई पुग्छ।
पाँचौ, चीन निर्यातक राष्ट्र मात्र हैन, ठूलो बजार पनि हो। चिनिया बजार र निर्यातयोग्य सामान पहिल्याउनु हाम्रो चुनौती हो।
एउटा चिनिया उखान छ 'त्यो हिमालपारि पुग्न मलाई डाडाकाँडाले रोकेको हैन, मेरै जुत्ता भित्रको ढुङ्गाले हो।' जुत्ताको ढुङ्गा फाल्न सके आउने वर्षहरुमा चीन हाम्रा लागि अवसरै अवसर हो।
यो लेखमा उल्लेखित तथ्य र ऐतिहासिक सन्दर्भहरू विभिन्न पुस्तक र जर्नलबाट लिइएको हो।
अमित ढकाल
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: gossip




0 comments