चीनका कारण भएको थियो मोदीको लुम्बिनी भ्रमण स्थगित !
|
काठमाडौँ, १६ मङ्सिर, भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । बोर्ड सदस्य जयदेव रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन् । मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र लुम्बिनीमा आफ्नो योजना कमजोर हुने चिनियाँ चासोका कारण भ्रमण हुन नसकेको रानादेको तर्क छ । भारतीय मन्त्रिपरिषद्का पूर्वसहसचिव तथा नयाँ दिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एण्ड स्ट्राटेजीका अध्यक्षसमेत रहेका उनले नेपालमा चिनियाँ प्रभावले सीमा नाघ्न लागेको भन्दै काठमाडौँलाई जबर्जस्त चेतावनी दिनुपर्ने सुझाव सरकारलाई दिएको आजको नयाँ पत्रिकाले लेखेको छ ।
यता नेपालका सुरक्षा मामिला विज्ञ तथा अन्तर्राष्ट्रिय सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले रानादेको निष्कर्ष अतिशयोक्तिपूर्ण भएको बताएका छन् । यसबारे सरकारले कुनै जवाफ दिनु आवश्यक नभएको उनको भनाई छ । 'भारत र चीन दुबैले नेपालाई उच्च प्राथमिकता दिएका छन् । जसका कारण दुबैको चासो बढ्नु स्वभाविकै हो,' वाग्लेले भने, 'तर नेपालमा चीनको प्रभाव बढेको निष्कर्ष अतिशयोक्तिपूर्ण हो । यो नेपालप्रति भारतीय खुफिया एजेन्सीको पुरानो मानसिकताको प्रतिबिम्ब हो ।'
यसैगरी भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले भने आन्तरिक व्यस्तताकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँ बाहिरको तिर्थाटन स्थगित गरेको बताएका छन् । यसमा नेपालको आन्तरिक राजनीति वा अन्य बाह्य कारण नभएको उनले स्पष्ट पारेका छन् । 'प्रधानमन्त्री भारतको चुनावी व्यवस्तताका कारण आउन नसक्नु भएको हो, निकट भविष्यमा जनकपुर, लुम्बिनी र मुक्तिनाथ दर्शनमा आउनुहुन्छ,' उपाध्यायले टेलिफोनमा भने, 'यसमा अन्यथा कुनै कारण छैन । नेपाली जनता कुनै भ्रममा पर्नु जरुरी छैन ।'
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments