Hindi Films

यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र

Unknown | 12:40 | 0 comments

 

गोल्डेनगेटका निर्देशक र प्राध्यापकसहित ७ जना पक्राउ, शिक्षा मन्त्रालयद्वारा परीक्षा रद्द

 
Mbbs-exam 4
२० असोज, काठमाडौं । एमबीबीएस छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंका नौं बटा परीक्षा सेन्टरमा परीक्षा भएको छ । तर, गोल्डेन गेट सेन्टरबाट परीक्षा सुरु हुनु करिव ६ मिनेट अघि नै प्रश्नपत्र लिक भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार प्रश्नपत्र विक्री गर्ने गिरोहको मिलोमलोमा प्रश्नपत्र लिक भएको हो । प्रश्नपत्र विक्री भइरहेका बेला अख्तियारको टोलीले गोल्डेन गेट कलेजका निर्देशक देविराम पाण्डेलाई पक्राउ गरेको छ । उनी गोल्डेन गेट कलेजका लगानीकर्ता समेत हुन् ।
Davi-ram-pandey
प्रश्नपत्र विक्री गर्ने क्रममा रंगेहात पक्राउ परेका गोल्डेन गेट कलेजका निर्देशक देविराम पाण्डे रातो घेरामा
अख्तियारले अर्थशास्त्रका प्राध्यापक हरिहर भन्ने खेचरनाथ सापकोटालाई पनि पक्राउ गरेको छ । दुर्इ प्राध्यापक पक्राउ परेपछि अख्तियारले लिक भएको प्रश्न र विद्यार्थीहरूलार्इ परीक्षा हलमा दिइएको प्रश्न दाँजेर हेर्दा एकै पाइएको छ ।
अख्तियारले रकम कारोवारको मध्यस्थता गर्ने डा. प्रभात कुमार कुशवाह, अर्का मध्यस्थकर्ता महेश्वर प्रसाद यादवसहित ७ जनालार्इ नियन्त्रणमा लिइएको बताएको छ ।
प्रश्नपत्र बेचबिखनको भित्री कथा
अख्तियारले गरेको प्रारम्भिक अनुसन्धान अनुसार एमबीबीएसका विद्यार्थीले डाक्टरी पढ्नका लागि पाउने सरकारी छात्रवृत्ति प्रत्येक वर्ष १० देखि १५ लाख सम्म विक्री हुँदै आएको छ ।
यस वर्ष पनि दलालहरुले सरकारी कर्मचारीसँग मिलेमतो गरी एक महिना अगावै विद्यार्थीबाट करोडौं रुपैयाँ उठाएका छन् । यसमा शिक्षा मन्त्रालयका कर्मचारीहरुको ठूलै गिरोह संलग्न रहेको अख्तियारको दाबी छ ।
सरकारी छात्रवृत्तिका लागि गत मंसिर ९ गते नै परीक्षा तोकिएको थियो । तर, सार्क शिखर सम्मेलनको मुखमा हुन लागेको सो परीक्षा सारेर मंसिर २० गतेलाई तोकिएको थियो । दलालहरुले अनिवार्य नाम निकालिदिने र परीक्षाअगावै प्रश्नपत्र उपलब्ध गराउने भन्दै विद्यार्थीबाट १० लाख लिँदै लेनदेनको कपाली तमसुक बनाइदिएका थिए ।
१० लाख लिँदै दलालले विद्यार्थीसँग गरेको  लेनदेनको तमसुक
१० लाख लिँदै दलालले विद्यार्थीसँग गरेको लेनदेनको तमसुक
तमसुकका साथै दलालले ९ परीक्षाको नतिजा आउने दिनभन्दा पछिको मितिमा एनआइसी एशिया बैंकको चेकसमेत थमाएका थिए । दलालले पैसा लिएका विद्यार्थीलाई आफ्नो मोबाइलको सीमकार्डसमेत परिवर्तन गर्न भनेका थिए ।
एमओई छात्रवृत्तिको प्रश्नपत्र विषयगत नभएर वस्तुगत मात्रै सोधिन्छ । प्रश्नपत्रमै चिन्ह लगाएर विद्यार्थीले फिर्ता गर्नुपर्ने भएकाले ‘लिक’ भएको प्रश्नपत्रमा चिन्ह लगाउने विद्यार्थीले सय अंकमा सय नै ल्याउने सम्भावना हुन्छ ।
परीक्षा सरेपछि परेको लफडा
मंसिर ९ मा हुने भनिएको परीक्षा २० गतेका लागि सरेपछि दलालले विद्यार्थीलाई मंसिर ८ गते बोलाएर मंसिर १९ गते राति प्रश्नपत्र उपलब्ध गराउने बचन दिएका थिए । सो विद्यार्थीको टोलीमा अख्तियारका कर्मचारीसमेत पुगेर दलालको भनाइ रेकर्ड गराएका थिए ।
दलालले विद्यार्थीलार्इ दिएको चेक
दलालले विद्यार्थीलार्इ दिएको चेक
विगतमा पनि आफूहरुले यसैगरी मन्त्रालयका कर्मचारीसँग मिलेर प्रश्न पत्र बेच्ने गरेको र पैसा तिर्ने विद्यार्थीको नाम निस्किएर उनीहरुले सरकारी छात्रवृत्रिमा डाक्टरी पढिरहेको दलालले बताएको रेकर्ड अख्तियारसँग छ ।
अख्तियारको रेकर्डअनुसार मंसिर ९ को परीक्षा २० गते सरेपछि वीचमा शिक्षा सचिव विश्वप्रकाश पण्डितको सरुवा हुने र आफ्नो पार्टनर सचिव बन्ने दलालले बताएका थिए । शिक्षा सचिव पण्डितका कारण प्रश्नपत्र ल्याउन केही कठिनाइ भइरहेको दलालले विद्यार्थीलाई ब्रिफङ गरेका थिए । तर, यसवीचमा सचिव परिवर्तन नभएपछि दलाल अप्ठ्यारोमा परे ।
बार्गेनिङ नमिलेपछि अर्को गडबडी
शनिबार दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रश्नपत्र शुक्रबार रातिसम्म खरीद गर्न नसकेपछि पैसा उठाउने दलाल शुक्रबार राति नै भागेर वीरगञ्ज पुगे । तर, अख्तियारले उनलाई राति नै वीरगञ्जबाट समातेर काठमाडौं ल्यायो ।
पक्राउ परेका दलालले कर्मचारीले प्रश्नपत्रको मूल्य एक करोड माग गरेपछि आफूले तिर्न नसकेको र भागेको अख्तियारलाई वयान दिएका छन् ।
पैसा माग्ने कर्मचारीलाई अख्तियारको निगरानीमा दलालमार्फत शनिबार बिहान फोन गयो । मागेजति पैसा दिने भन्दै प्रश्नपत्र आउट गरिदिन दलालले अख्तियारको हिरासतबाटै आग्रह गरे । त्यसपछि शनिबार बिहान साढे ७ बजे लेनदेन गर्ने भनियो । तर, ढिलाइ भएपछि दिउँसो परीक्षा सुरु हुनै लागेका बेला ढीलो गरी प्रश्नपत्र बेचबिखन भयो ।
Keshabnath sapkota
 पक्राउ परेका खेचरनाथ सापकोटा
प्रश्नपत्र बोकेर पैसा लिन आउने क्रममा मन्त्रालयका कर्मचारीहरुको साटो गोल्डेनगेट कलेजका निर्देशक नै अघि सरे । यसले गर्दा प्रश्नपत्र विक्रीको धन्दामा गोल्डेन गेट कलेजका सञ्चालकको संलग्नता पर्दाफास भएको हो । गोल्डेनगेट कलेजका मुख्य सञ्चालक नेपाल क्रिकेट संघ -क्यान)का महासचिव रमेश सिलवाल हुन् ।
मन्त्रालयसम्म पुग्न सकेन अख्तियार
यो घटनामा अख्तियारको टोली शिक्षा मन्त्रालयका कर्मचारीसम्म पुग्न नसके पनि डाक्टरी पढ्नेहरुका लागि सरकारले छुट्याएको छात्रवृत्ति कसरी विक्री हुने गरेको रहेछ भन्ने रहस्य सार्वजनिक गर्न सफल भएको छ ।
यो घटनामा अख्तियारका प्रहरी निरीक्षक पुष्प मल्लको टोलीले एक महिना अघिदेखि भगिरथ प्रयास गरेको थियो ।
विद्यार्थीको पैसा कुम्ल्याएर वीरगञ्जबाट भारत पस्न लागेको अवस्थामा मल्लकै टोलीले शुक्रबार राति नै गिरोहको नाइकेलाई समातेर रातारात काठमाडौं ल्याउन सफल भएको हो ।
वीरगञ्जतर्फ भाग्ने गिरोहको नाइकेले विद्यार्थीमार्फत लिएको करोडौं रुपैयाँमा अख्तियारको १० लाख रुपैयाँसमेत फसेको छ । अख्तियारले एक विद्यार्थीमार्फत दलालसम्म पुगेर १० लाख रुपैयाँ बुझाएको थियो । स्रोतका अनुसार आफूलाई वीर अस्पतालको डाक्टर बताउने ती व्यक्तिले प्रत्येक वर्ष एमबीबीएसका विद्यार्थीले पाउने छात्रवृत्तिको कोटा कर्मचारीसँगको मिलेमतोमा बेच्दै आएका छन् ।
त्यसरी पैसा उठाउने यी व्यक्ति केही वर्षअघि हतियारसहित पक्राउ परेर छुटेको स्रोतले बतायो । थप अनुसन्धानका जारी रहेको भन्दै अख्तियारले उनको नाम सार्वजनिक गरेको छैन ।
विद्यार्थीको पैसा सीता खनालको खातामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अध्ययन अनुसार विद्यार्थीबाट प्रश्नपत्रका लागि उठाइएको रकम दलालले आफ्नो खाताबाट सीता खनालका नाममा ट्रान्फर गरेको पाइएको छ ।
Mbbs-exam 5
सीता खनाल को हुन् भन्ने खुल्न बाँकी रहे पनि उनी कुनै ठूलै कर्मचारीकी पत्नी वा नातेदार हुन सक्ने स्रोतको दाबी छ । भ्रष्टाचारीले आफ्नो सम्पत्ति अरुका नाममा लुकाउने गरेको र ससुरालीसमेत कंगाल देखिने गरेको अख्तियार प्रमुखले बताइरहेका बेला ‘सीता खनाल’ नामकी अज्ञात पात्र अगाडि आएकी छन् ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीले ठूलो माछा समात्ने घोषणा गरेकै भोलिपल्ट डाक्टर बन्ने सपना बोकेका सैयौं विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने गिरोहमा संलग्न तीनजना समातिनुलाई अख्तियारले ठूलै उपलब्धि मानेको छ ।
र, परीक्षा रद्द
परीक्षा सुरू हुनुअघि नै प्रश्नपत्र आउट भएपनि परीक्षा रोकिएन । तर, साँझ शिक्षा मन्त्रालयले साँझ विज्ञप्ति निकालेर परीक्षा रद्द गरिएको जनाएको छ ।
अर्को परीक्षा २७ गते शनिबार १ बजेका लागि तोकिएको छ ।
साथै मन्त्रालयले प्रश्नपत्र सार्वजनिक गर्नेहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाइएको छ । प्रश्नपत्र आउट गर्न खोज्नेहरुको कुनै सूचना भए जानकारी गराउन समेत आग्रह गरेको छ ।
परीक्षा केन्द्र भने पछि तोकिने सहसचिव हरिप्रसाद लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Category:

0 comments