तराईमा जाडो अत्यधिक, कठ्याङग्रिएर चारको मृत्यु
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सिरहा जिल्लामा कम्बल वितरण गर्दै प्रहरी।
केही दिनयता तराईमा लागेको हुस्सुका कारण चार जनाको मृत्यु भएको छ। सप्तरी, सिरहा र मोरङमा पुसको दुई सातामा चार जनाको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
मृत्यु हुनेमा सप्तरी बनैनिया–२ का ७० वर्षीय चन्देश्वर खङ, मोरङ हसन्दह गाविस ३ का ८३ वर्षीय नुहा सतार, विराटनगर–१० का ५० वर्षीया आशा ऋषिदेव र सिरहा इटहरुवा–२ का ५० वर्षीय लखन पासवान छन्।
खङको पुस १ गते, सतारको ३ गते, ऋषिदेवको पुस ८ गते र पासवानको पुस १४ गते राति मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले बताए। उनका अनुसार पिसाब फेर्न भनेर निस्किएका पासवानको कठ्याङग्रिएर मृत्यु भएको हो।
तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेका कारण जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालमा चिसोका बिरामीको संख्या बाक्लिन थालेको छ। दम, निमोनिया, झाडापखालाका बिरामीको संख्या बाक्लिन थालेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डा. रोशन पोखरेलले बताए।
'विशेष गरी साना नानीहरू चिसोका कारण धेरै आउने गरेका छन्,' पोखरेलले भने, 'निमोनियाले सताउँदै गएको छ।' पुस महिना लागेयता तराईमा चिसो बढ्न थालेको छ। राति र विहान बाक्लो कुहिरो लाग्ने गरेको छ। दिउँसो घाम लागे पनि साँझ परेपछि हुस्सुले सताउने गरेको छ।
यसैबीच, जिल्ला दैवी प्रकोप उद्दार समितिले जाडोबाट पीडित व्यक्ति तथा बिपन्न समुदायमा गएर कम्बल तथा दाउरा वितरण गर्ने निर्णय गरेको छ। समिति सदस्य तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख भानु एङ्देमका अनुसार जाडोबाट पीडितलाई कम्बल वितरण गर्न आवश्यक प्रबन्ध मिलाइसकिएको छ।
जनस्वास्थ्य कार्यालयले जिल्लाका हरेक वडा वडामा जाडोका कारण रुघाखोकी र निमोनिया लागेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिरहेको छ। 'जाडोबाट बिरामी भएका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं,' एङ्देमले भने, 'हरेक वडा वडामा महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरेका छौं, उनीहरूले निःशुल्क औषधिसँगै जाडोबाट बच्न शिक्षा दिइरहेका छन्।'
जाडोको घरेलु उपचार पनि सम्भव हुने भएकाले घरघरमा स्वयम्सेविकालाई शिक्षा प्रदान गर्न पठाइएको जनस्वास्थ्यको भनाइ छ।
जाडोबाट बच्न के गर्ने?
– बच्चालाई न्यानो पारेर राख्ने। साथै आफू पनि प्रशस्त कपडा लगाउने।
– तातो पानी प्रयोग गर्ने।
– झोलिलो पदार्थ सेवन गर्ने।
– धूवाँमा नबस्ने।
– बच्चालाई आमाले प्रशस्त दुध ख्वाउने।
– ज्वरो आएमा स्वास्थ्य संस्था गइहाल्ने।
न्यायो छर्दै प्रहरी
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी परिवारको सक्रियतामा निमुखा जनतालाई कम्बल वितरण गरिएको छ। समुदायसँग प्रहरीलाई जोड्ने नेपाल प्रहरीको अभियान अन्तर्गत बिपन्न समुदायका जाडोपीडितहरूलाई राहत वितरण गरिएको हो।
मोरङ, सप्तरी र सिरहाका सयौं परिवारलाई श्रीमती संघको सक्रियतामा राहत स्वरुप कम्बल, लत्ताकपडा तथा खानेकुरा समेत वितरण गरिएको हो। पुस पहिलोसाता आयोजना गरिएको यो कार्यक्रमबाट सयौं बिपन्नले न्यायो कपडा पाएको डीआईजी सिलवालले बताए।
सिलवालका अनुसार अघिल्लो साल नेपाल प्रहरीले आफ्नो मासिक तलबबाट कट्टा गरेर रकम संकलन गरी बिपन्न समुदायका निम्ति न्यानो कपडा किनेर वितरण गरिएको थियो। यो कार्यक्रममा हरेक प्रहरी कर्मचारीले आफ्नो तलबबाट कपडा किन्न थोरै बजेट छुट्याएका थिए।
जाडो बढ्दै गएकाले यसपालि पनि यो कार्यक्रमको तयारी भइरहेको सिलवालले बताए। 'जाडो बढ्न थालेकाले न्यायो कपडा वितरणको कार्यक्रम सुरू गर्ने तरखरमा छौं,' सिलवालले भने।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments