‘आङकाजीका मान्छे’ले पेम्बालाई हातपात गरे बुटवल भेलामा जनजाति नेतावीच बाझाबाझ
|
१८ मंसिर, बुटवल । नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा संविधानसभा सदस्य समेत रहेका महासचिव पेम्बा भोटेमाथि पूर्वमहासचिव आङकाजी शेर्पा पक्षधरले आक्रमण गरेका छन् ।
बुधबारदेखि बुटवलमा शुरु भएको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलामा महासचिव भोटेले बोल्दाबोल्दै माइक खोस्न पुगेका शेर्पा पक्षधरले आक्रमण गरेका हुन् । उनीहरुले अध्यक्ष नागेन्द्र कुमाललाई पनि गालीगलौज गरेका थिए ।
महासचिव पेम्वा भोटेले उद्घोषणका क्रममा आफू र महासंघमाथि आङकाजी शेर्पाले लगाएको आरोपको खण्डन गरेपछि शेर्पा पक्षधरले मञ्चमै गएर हातपात गरेको एक सहभागीले अनलाइनखबरलाई बताए ।
प्रतिनिधिले बोलेको कुरालाई खण्डन किन गरेको भन्दै शेर्पा पक्षधरले मञ्चमै गएर हात हाल्न थालेपछि जनजातिवीचको झगडा मिलाउन प्रहरीले हस्तक्षेप गरेको थियो ।
आङकाजीको आरोप
भेलामा पूर्वमहासचिव आङकाजीले कांग्रेस एमालेको सात प्रदेशको प्रस्ताव जनजातिको राष्ट्रिय भेलाले जलाउनुपर्ने प्रस्ताव राखेका थिए ।
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटे कांग्रेस एमालेको गोटी बनेको आरोपसमेत आङकाजीले लगाएका थिए ।
आङकाजीले महासंघले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनलाई सबैले स्वीकार गर्नुपर्ने बताएका थिए ।
आफूहरुमाथि लगाइएको आरोपको खण्डन गरेपछि आङकाजीको इशारामा केही उछृ्रङखल व्यक्तिले आक्रमण प्रयास गरेको महासचिव भोटेले बताएका छन् । ‘यो जनजाति महासंघ र आदिवासी आन्दोलनलाई भाँड्ने प्रयास हो’ उनले भने ।
आक्रमण दुःखद घटना
महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले पनि महासंघको राष्ट्रिय भेलामा भएको घटना दुःखद हो भन्दै यो नियोजित हुन सक्ने प्रतिक्रिया दिए ।
‘आदिवासी जनजाति आन्दोलनको नेतृत्व गर्ने हैसियत महासंघ बाहेक अरु गल्लीका संस्थाहरुलाई छैन’ लेखीले भने’यो घटना महासंघलाई कमजोर पार्ने र कालान्तरमा आदिवासी आन्दोलन तुहाउने षडयन्त्र हुनसक्छ’ ।
उता आङकाजी शेर्पाले भने आफूले बोलेको विषयमा पेम्बाले खण्डन गर्न थालेपछि आफ्ना समर्थकहरुले कुटपिट गरेको नभई मञ्चमा गएर किन यसो गरेको भन्दै सामान्य सोधखोज मात्रै गरेको अनलाइनखरलाई प्रतिक्रिया दिए ।
पद्मरत्नबारे विवाद
यसैवीच जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको विषयमा जनजाति नेताहरु दुई कित्तामा बाँडिएका छन् । आङकाजीले तुलाधारको पक्ष लिएका छन् भने महासंघ अध्यक्ष नागेन्द्र कुमालले जनजाति महासंघको पहिचानमुखी आन्दोलन भएकाले पद्मरत्नको मोर्चा मान्य नहुने बताएका छन् ।
भेलामा महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले ठूला नेताहरुको झुटो आश्वासनको पछि नलाग्न आग्रह गरेका थिए ।
‘सुशील, केपी, प्रचण्ड र गच्छदारको झुठो आश्वासनका पछाडि हामी कोही पनि दौडिन जरुरी छैन’ लेखीले कार्यक्रममा भने ‘जनजाति आन्दोलनभित्र पनि केही बाहुनवादी नेता छन्, तिनको पनि भण्डाफोर गरौं’ ।
बुटवलमा आयोजित दुई दिने राष्ट्रिय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि गरी १ सय ३० जना सहभागी छन् । जनजाति आन्दोलनबारे सुझाव लिन भेला आयोजना गरिएको हो ।
|
Category: News
0 comments