Hindi Films

बेलायतमा फेरी गठबन्धन सरकारको सम्भावना

Unknown | 05:17 | 0 comments



  • आइतबार २२ चैत्र, २०७१

  • लन्डन- विश्वकै पुरानो संसदीय ब्यवस्था भएको मुलुक बेलायतमा आगामी मे ७ मा संसदीय निर्वाचन हुदैछ। उक्त निर्वाचनको परिणामले गठबन्धन सरकार बन्ने पूर्वानुमान गरिएको छ। बेलायतबाट प्रकाशित हुने द टेलिग्राफले हालै गरेको सर्वेक्षणअनुसार प्रधानमन्त्री डेविड क्यामरनले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिभ र एड मिलिव्याण्डले नेतृत्व गरेको प्रतिपक्षी दल लेवर पार्टीवीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।

प्रधानमन्त्री क्यामरनको दल कन्जरभेटिभ ३३ दशमलब ७ प्रतिशतले अग्रस्थानमा छ भने प्रतिपक्षी लेबर ३३ दशलमब ४ प्रतिशतले दोस्रो स्थानमा रहेको सर्वेक्षणले देखाएको छ। निक क्लेगले नेतृत्व गरेको सत्तारुढ गठवन्धनको एक घटक लिबरल डेमोक्र्याटले ८ दशमलब ३ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ। आप्रवासीप्रति निकै अनुदार मानिने युके इण्डिपेन्डेन्ट पार्टीले आगामी निर्वाचनमा आफ्नो हैसियतमा केही सुधार गर्ने सर्वेक्षणहरुले देखाएका छन्। ग्रीन पार्टीलगायतका अन्य दल भने मत सर्वेक्षणमा निकै पछि देखिएका छन्।

यस्तै बीबीसीले गरेको अनलाइन सर्वेक्षणले सत्तारुढ दल कन्जरभेटिभ र प्रतिपक्षी दल लेबरलाई खसेको कूल मतको ३४—३४ प्रतिशत प्राप्त हुने देखाएको छ। अर्को सत्तारुढ दल लिवरल डेमेक्याटलाई ८ प्रतिशत मात्र मतप्राप्त हुने देखिएको छ। दुबै सर्वेक्षणलाई आंकलन गर्दा आगामी निर्वाचनमा तेस्रो शक्तिका रुपमा युके इन्डिपेन्डेन्ट पार्टी आउने बलियो सम्भवना देखिन्छ। बेलायतमा हुने यस्ता निर्वाचनसम्बन्धी सर्वेक्षणहरु भरपर्दो मानिन्छन्।

आगामी निर्वाचनले ब्रिटिश संसदका लागि इग्ल्याण्डबाट ५ सय ३३, स्कटल्याण्डबाट ५९, वेल्सबाट ४० र नर्दन आयरल्याण्डबाट १८ गरी जम्मा ६ सय ५० सिटमा निर्वाचन हुनेछ। यो बेलायतको ५६ औं संसदीय निर्वाचन हो। सत्तारुढ दल कन्जरभेटिभले आफ्नो बहुमत पुर्याउन अहिले भएका ३ सय ३ सिटमा थप २३ सिट जित्नु पर्ने हुन्छ। यस्तै प्रतिपक्षी दल लेबरले आफ्नो बहुमत पुर्याउन हाल भएको २ सय ५८ सिट यथावत कायम राख्दै थप ६९ सिटका लागि मिहेनत गर्नुपर्ने छ। सत्तारुढ अर्को दल लिवरल डेमोक्र्याटसंग भएको ५७ सिट समेत गुम्न सक्ने धेरैको अनुमान छ।

प्रधानमन्त्री डेविड क्यामरनले गत साता बेलायती महारानी एलिजावेथ द्वितीयलाई बेलायती संसद औपचारिक रुपमा विघटन भएको जनाउ दिएपछि यहँस्थित राजनीतिक दलहरु चुनावी प्रचारमा जुटेका छन्।

यसैक्रममा बेलायतमा रहेका ७ वटै राजनीतिक दलका नेताहरु एउटै मञ्चमा उपस्थित भएर गत विहीबार टिलिभिजन बहसमा सहभागी भएका थिए। उक्त टेलिभिजन बहसमा विपक्षी नेता एड मिलिव्याण्डले सरकारको कामकारवाहीको आलोचना गरेका थिए भने प्रधानमन्त्री क्यामरले आफ्नो सरकारले लिएको आर्थिक नीति सफल भएको दावी गरेका थिए। सो टेलिभिजन बहस करिब ७० लाख दर्शकहरुले हेरेको अनुमान गरिएको छ। बेलायतमा आसन्न निर्वाचन अघि हुने यस्ता टेलिभिजन बहसलाई निकै महत्वका साथ हेरिन्छ। गएका निर्वाचनमा जस्तै यसपटक पनि आर्थिक, अध्यागमन, स्वास्थ्य र शिक्षाका मुद्दामा दलहरु केन्द्रित छन्।

राजनीतिक दलहरुका चुनावी मुद्दालाई लिएर यहाँ बसोबास गर्ने गैरआवासीय नेपालीहरु समेत विभाजित छन्। सत्तारुढ दल कन्जरभेटिभको बन्टोक क्षेत्रका नेता लक्ष्यबहादुर गुरुङ प्रधानमन्त्री डेविड क्यामरनले लिएको आर्थिक नीतिका कारण बेलायतको आर्थिक अवस्था मजबुत हदै गएको दावी गर्छन्। गुरुङले भने, "मिहेनत गरेर आफ्नै घर जोड्ने, आफ्नो खुट्टामा उभिएर खाने कडा परिश्रम गर्ने स्वभाव नेपालीको छ, हाम्रो स्वभावअनुसार सबै कुरा मिल्ने पार्टी भनेको कन्जरभेटिभ हो, सरकारी भत्ता खाएर बस्नेसँग हाम्रो स्वाभाव मिल्दैन ।" उनले विपक्षी दल लेवरको कन्जरभेटिभ धनीको मात्र पार्टी भएको भन्ने आरोप गलत भएको दावी पनि गरे।

बेलायतको संसदीय ईतिहासलाई हेर्ने हो भने कन्जरभेटिभ पार्टी सरकारमा आउदा राष्ट्रिय ढुकुटी बलियो हुने र सत्ताच्युत भएपछि लेवरले राष्ट्रिय ढुकुटी हिनामिना गरेको आरोप समेत गुरुङले लगाए। सत्तारुढ दल कन्जरभेटिभले आफ्नो दलले निर्वाचन जितेपछि स्वाथ्य सेवालाई हप्तामा सातै दिन खुल्ला गर्ने लोकप्रिय नारा अगाडी सारेको छ। उसले यूरोपियन देशबाट बेलायत भित्रिने आप्रवासीले पाउदै आएको सरकारी सुविधामा कटौती गर्दै लैजाने नीति अख्तियार गर्ने जनाएको छ। प्रधानमन्त्री क्यामरनले बेलायत युरोपेली संघमा रहने वा नरहने भन्ने बिषयमा सन् २०१७ मा जनमत संग्रह गर्ने घोषणा गरिसकेका छन भने प्रतिपक्षी दल लेवरले सो जनमत संग्रहले देशको आर्थिक स्थायित्वमा असर पार्ने भन्दै युरोपेली आप्रवासीहरुको सुविधा कटौती गर्ने नीति लिएको छ।

डार्टफोर्ड क्षेत्रमा लेवर पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेद्वार बच्चुकैलाश कैनी लेबर पार्टीले आप्रवासी कामदार बारे लिएको नीति आप्रवासीमैत्री भएको दावी गर्छन्। उनले सन् १९९७ देखि नै लेवर पार्टीले आप्रवासीप्रति लिएको नीति नरम भएकाले थ्रुपै नेपालीलाई बेलायत आउने अवसर प्राप्त भएको बताए। लेवर पार्टीले स्वाथ्य तथा शिक्षामा सुधारको नीति घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा २ दशलमब ५ बिलियन पाउण्ड थप लगानी गर्ने घोषणा गरेको छ।

यस्तै बेलायतका विश्वविद्यालयले लिदै गरेको वार्षिक शुल्क स्वदेशी विद्यार्थीहरुका लागि ९ हजार पाउण्डबाट कटौती गरी ६ हजारमा झार्ने घोषणा गरेको छ। धेरै आम्दानी हुनेमाथि बढीमा ५० प्रतिशत सम्म आयकर लगाइने लेवरको नीति रहेको छ। कैनीका अनुसार कन्जरभेटिभ पार्टी फेरि सरकारमा आए बेलायतमा बसोबास गर्ने गैरआवासीय नेपाली समेत प्रभावित हुनेछन्। उनले भने "कन्जरभेटिभ सरकारमा आएमा अध्यागमन नीति थप कडा हुनेछ। अनि थोरै आम्दानी हुने मध्यमवर्गका परिवारको सामाजिक सुरक्षाभत्ता कटौती हुन्छ। त्यसको प्रभाव सबैको घरघरमा पर्न जान्छ।"

उनले आगामी निर्वाचन जुन पार्टीले जिते पनि वैदेशिक नीतिमा भने खासै परिवर्तन आइ नहाल्ने पनि बताए।

सन् २००९ मा लेवर पार्टीले पूर्वगोर्खाका सम्बन्धमा निकै लचिलो नीति अख्तियार गरेका कारण हजारौं भूपूगोर्खाले बेलायतमा बसोबास गर्न पाएको हन्स्लो काउन्सिलका उपमेयर बिष्णु गुरुङले बताए। " लेवर पार्टी निकै लचिलो भएका कारण धेरै नेपालीलाई फाइदा पुगेको छ," गुरुङले भने, 'आगामी निर्वाचनपछि लेवर पार्टीले सरकार बनाउने छ।"


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments