Hindi Films

राहत नपाएपछि गृहमन्त्रीलाई पत्र

Unknown | 13:45 | 0 comments


  •   
स्थलगत काभ्रे : राहत नपाएपछि गृहमन्त्रीलाई पत्र
गैरीबिसौना देउपुर (काभ्रे)–लामो सयमपछि माइतीघरमा आएकी पार्वती श्रेष्ठ सानीआमा चित्ररेखा गौतमसँग दुईतले घरभित्र बसेर कुराकानी गरिरहेकी थिइन्। आमाछोरीको कुराकानी लम्बिएपछि भर्खरै खाना खाएका सानोबुबा रेवतीरमण भने सुत्न ओछ्यानमा पुगेका थिए। अचानक भूकम्प आयो र त्यसको धक्काले घर ढल्दा तीनै जनाको ज्यान गयो।
साधुराम श्रेष्ठको घरमा पनि छोरी राजेश्वरी आफ्नी चार वर्षिया छोरी लिएर माइत आएकी थिइन्। नातिनीसहित छोरी लिएर आएपछि आमा चमेली फुरुङ्ग थिइन्। तर, आइतबार बिहान चमेलीको अनुहारमा आँशुका धारा मात्र थिए। शनिबारको भूकम्पले उनले नातिनी गुमाएकी थिइन्। उपचारका लागि छोरीलाई मुस्किलले धुलिखेल अस्पतालमा पुर्‍याएकी चमेलीले भनिन्, '.मेरो सर्वस्व सकियो। हाँसिरहेकी नातिनी सँधैका लागि छाडेर गइन्। बस्ने घरसँगै खानेकुराहरु सबै पुरियो।'

शनिबार दिउँसोको भूकम्पले गैरिबिसौना देउपुर–५ का गौतम र वडा नम्बर ४ को श्रेष्ठ परिवारमा मात्र नभएर अन्यत्र पनि रुवाबासी र शोक भित्र्याएको छ। करिब १३ सय घर रहेको उक्त गाउँका ९५ प्रतिशत भन्दा बढी घरहरु ध्वस्त बनाएको छ। २७ जनाको ज्यान गएको छ। घाइतेहरुको धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ। केही घाइते भने अझै गाउँमा बिना उपचार नै छन्।

भुकम्पले ध्वस्त बनाएको उक्त गाउँ अहिले पुरै उजाड छ, स्थानीय शोकमग्न छन्। गाउँमा सग्लो ठडिएको घर भेट्न मुस्किल पर्छ। एकाध ठडिएका घर पनि काम नलाग्ने गरी चर्किएका छन्। भूकम्पमा ज्यान जोगाउन सफल भएकाहरु बारी तथा चौरमा बसिरहेका छन्।

भूकम्पको पाँचौ दिनसम्म पनि देउपुरबासीले सरकारकार तर्फबाट कुनै राहत पाउन सकेका छैनन्। लडेका घरले सबैको खाद्यन्न र कपडाहरु पुरिदिएको छ। यत्तिमात्र होइन अधिकांशले दुध बिक्री गर्न गाई भैंसी पालेका थिए। तर, भूकम्पले सबैको गाई भैसी घर तथा गोठमै पुरिदिएको छ। जसका कारण गाउँ अहिले पुरै दुर्गन्धित हुन थालेको छ। बाँचेकाहरुको जिविको पार्जन गर्ने सहारा खोसिएको छ।

मुस्किलले ज्यान जोगाएकाले सरकारसँग पानीबाट जोगाउन त्रिपाल र खाद्यन्नको माग गरिरहेका छन्। तर, हालसम्म त्यहाँ कुनै पनि सरकारी निकाय पुग्न सकेको छैन। खानेकुरा नपाउँदा भोकै बसेका उनीहरु त्रिपाल समेत पाउन नसक्दा झरीमा भिज्दै रात कटाउन बाध्य छन्।

भूकम्प गएको पाँचौ दिन बुधबार साँझसम्म सरकारका तर्फबाट कुनै राहत र उद्धारको टोली नपुगेपछि देउपुरबासीका तर्फबाट दिल डोटेलले गृहमन्त्रीलाई पत्र नै लेखेका छन्। उनले हातले लेखेको पत्र गृहमन्त्री समक्ष पुराउन सञ्चारकर्मीलाई आग्रह गरेका छन्। डोटेलले बुधबार गृहमन्त्रीलाई लेखेको पत्रमा 'अहिलेसम्म सरकार पक्षको कुनैपनि उपस्थिति नभएको कारण यो दयनीय अवस्थामा राज्यको ध्यानाकर्षण गरी राहतको अवस्थामा राज्यपक्षलाई उपस्थितिको लागी अनुरोध गर्दछु।'

गैरिबिसौना देउपुरको जस्तै भयाभह अवस्था छ बालुवा देउपुर र नयाँ गाउँ देउपुर गाविसको पनि। नगरकोटबाट दुई मिनेटको दुरीमा पुगिने बालुवा देउपुरमा समेत राज्यका तर्फबाट कोही पनि उपस्थिति नभएको स्थानीयले बताएका छन्। नयाँ गाउँ देउपुरमा त घाइतेको प्राथमिक उपचार गर्न मिल्ने गरि स्वास्थ्य चौकी समेत खुलेको छैन।

सरकारले देशविदेशबाट राहत आइरहेको भन्दै प्रचार गरे पनि आफूहरुले आकाशमा हेलिकप्टर उडेको दृश्य बाहेक केही देख्न नसकेको गैरिबसौना देउपुरका चेतनाथ ढकाल बताउँछन्। 'अरबौँ अरबौँ सहयोग आयो भन्ने हल्ला गर्छन तर खै कहाँ आयो त अनुदान?', उनले प्रतिपश्न गर्दै भने, 'उही नेताहरुलाई हेहिकोप्टरमा उडाउन मात्र आएको राहतले हामीलाई झन आहत बनाएको छ।' उनले हेलिकोप्टरमा उड्नेले उजाड बनाएका गाउँ गाउँमा गएर त्रिपाल र खानेकुरा खसाल्ने हो भने पनि धेरैको उद्धार हुने बताए।

स्थानीय गोकुल श्रेष्ठ पुरिएका चौपाया ननिकाल्दा गाउँमा पुरै दुर्गन्ध फैलिएको र त्यसले जतिबेला पनि रोगको खतरा बढाएको बताउँछन्। 'एउटा दुईटाको होइन हरेक घरका हजारौँ गाई भैसी लडेका घरमा पुरिएका छन्,' उनले भने, 'तर पुरिएका गाई भैसी निकाले राम्रोसँग गाड्नलाई घर खोस्रने सामाग्री समेत कोहीसँग छैन।' उनले देउपुरमा मात्र होइन काभ्रे जिल्लाभरमा कहीँ राज्यले सहयोग नगरेको बताए।

भुकम्पका कारण हालसम्म काभ्रेमा २ सय ७३ जनाको ज्यान गैसकेको छ। घाइते भएका ११ सय जनाको धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल र सेनाको खड्गदल गणमा क्याम्प बनाएर उपचार भैरहेको छ। जिल्लाका पिडितहरुले त्रिपाल पाउन नसकेको गुनासो गरिरहेको समयमा प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले १५ सय त्रिपाल बाँडेको दाबी गरेका छन्। तर, काभ्रे बनेपाका स्थानीय शुनिल पौडेलका अनुसार राहत स्वरुप आएको त्रिपाल पहुँच भएका क्षेत्रमा पुराइएको छ। उनले सबैभन्दा बढी क्षति भएको र पीडित बनेका गैरिबिसौना, नयाँ गाँउ, बालुवा क्षेत्रमा भने त्रिपाल बुधबार साँझसम्म नपुगेको बताए।

जिल्लाका सभासद कञ्चनचन्द्र बादेले सदरमुकाममा आएका केही राहत सामाग्री प्राथमिकताका आधारमा आसपासका क्षेत्रमा वितरण गरिएको जानकारी दिए। उनले बढी प्रभावित देउपुर क्षेत्रहरुमा बिहिबार राहत लिएर जाने तयारी भएको बताए।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments