Hindi Films

म खानेकुरा सर्भ गर्ने वेटर हो, तर, छिप्पिँदो रातमा गेष्टले खानेकुरा भन्दा मेरो जवानी …’ विवशता सुनाइन्, ‘छोरो हुर्काउनु छ ..... ‘

Unknown | 14:24 | 0 comments


 मलाई यो जिन्दगीले चोट दियो गनी गनी
कहिले दुःख दियो आफ्नो भनी
कहिले दुःख दियो पराइ बनी
भेटेको केही क्षणमै उनको मोबाइलमा यो रिङ टोन बज्यो ।


दाइ एकछिन है । उनले मोबाइल रिसिभ गरिन् । उताको मधूर आवाजबाट अनुमान गर्न गाह्रो थिएन । एकजना युवक उनीसित प्रेम प्रस्ताव राख्दै थिए । तर, उनले ती युवाको आग्रह हावामा उडाउँदै थिइन्, ‘यस्ता लभ गर्छु भन्नेहरु कति आउँछन् कति ।’
खासमा उनको अहिलेको परिचय कल गर्ल हो । नयाँ बानेश्वरको एउटा डान्स बार उनको अफिस हो । कोरीबाटी चिटिक्क पर्नु, मुस्कानसहित मदिराको प्यालाले आफ्ना ग्राहकलाई सेवा दिनु उनको जागिर हो । साँझमा हाजिर हुने अनि बिहान झिसमिसेमा घर फर्किनु उनको रुटिन हो । ‘उठ्दा सँधै ११ बज्छ दाइ, नाइट बसको ड्राइभरको जस्तो डिउटी छ मेरो’, उनले भनिन् ।
रक्सीको नशा चढ्दै जाँदा उनका केही गेष्टहरु उनीप्रति आशक्त हुन थाल्छन् । डेटिंग जाऔं भन्न थाल्छन् । कतिपयले उनलाई यो पेशा छाड्न अनुरोध गर्छन् । प्रेम गर्छु, विहे गर्छु भन्नेसम्म पनि पाइन्छन् ।
२४ वर्षे उमेर न हो, जिन्दगी बिताउन एउटा गतिलो साथ पनि खोजेकै छिन् उनले । ‘तर मेरो जवानीलाई साथ दिन आउने हुन्, मेरो आँसुलाई साथ दिने कोही आउँदा रहेनछन् दाजु,’ स्प्राइट घुटुक्क पार्दै उनले भनिन् ।

‘उमेर गएको छैन । बिहे गर । घरबार बसाल बहिनी’ मेरा सुझावमा उनले भनिन्, अहिलेसम्म शारीरिक प्रेम गर्नेहरु मात्र भेटियो दाजु । खुसी संसार बसाउन मन नलागेको कहाँ हो र ? तर हरेक अपेक्षा पूरा भइदिँदैन ।’
पाँच कक्षा पढेकी उनी सयौं जनाको प्रस्ताव र संगतबाट दार्शनिक गफ गर्न सक्ने पनि भइसकेकी रहिछन् । प्रेमलाई हृदयको व्यापार ठान्छिन् उनी । विवाहलाई सामाजिक करार । ‘म प्रेम र बिहे दुबैबाट ठगिएको मान्छे हो दाई’ उनको मुहारामा निराशा मडारिएको देखियो ।
उनीसित मेरो पहिलो भेट थियो । उनको नियमित गेष्टको साथ लागेर म पुगेको थिएँ उनको कथा लेख्न । हरेक रात अरुलाई खुसी पार्नेहरुको दुःखद पाटो सुन्नु मेरो चाहना थियो ।
करिब एकघण्टा भूमिका बाँधे । घर सोधेँ, सुनसरी जिल्ला रहेछ । मैले चिनेकै साथीको छिमेकी रहिछिन् उनी । खास नाम, थर पनि सोधेँ । गोत्र एउटै परेछ उनको र मेरो । हिन्दू संस्कारमा सगोत्रीलाई करिब एउटै परिवारका सदस्य झैं मान्ने चलन छ । मैले यही चलनलाई आधार बनाएँ । साखै दाजुको भूमिकामा उनको दुःखद पाटो खोतल्ने प्रयास गरें ।
मानिस खुसी हुनका लागि बिहे गर्ने हुन् साधारण अर्थमा । स्त्रीले पनि स्वाणिर्म भविष्यको कल्पनामा आफ्नो पतिलाई सिउँदो र देह समर्पण गर्छिन् । उनको पनि यही अपेक्षा थियो । स्थायी परिवार बसाउन एउटा छोरो पनि जन्माए । तर, सबै अपेक्षा कहाँ पुरा हुन्छन् र ? हरेक दिनको कलहले उनीहरुको दाम्पत्य जीवन टिक्न सकेन । एक अर्काविनाको जिन्दगीको कल्पना लागे दुबै ।
एउटा अनलाइनमा पढेको थिएँ, समाजवादी चिन्तक प्रदीप गिरीको आलेख, स्त्री-पुरुषको सम्बन्ध मात्रै प्रेम होइन । जब पति-पत्नी साथी बन्छन् र आपसमा मित्रताको सम्बन्ध हुन्छ तब मात्रै त्यहाँ प्रेम हुन्छ । राम्रो प्रेमी हिंसा, घृणा, ईष्र्या, मोह र रोगबाट मुक्त हुन्छ । तर, नहुनुपर्ने यी दुबै अवगुण उनीहरुको जीवनमा आइदियो । अनि परिवार विखण्डनतर्फ अग्रसर भयो ।
सुखद भविष्यको कल्पनामा डुबेकी ती बहिनी बिहे गरेको केही महिना मै हरेक दिन आफ्नै ‘स्वामी’ बाट अपहेलित हुन थालिन् । घरमा अन्न किनेर खानुपर्ने पैसा उनको ‘स्वामी’ले रक्सीमा उडाउन थाले ।
रक्सीको नशामा उनको गर्भवती ज्यानमा मुक्का र लाठी बर्सिन थाले । ‘भोक र चोट कति दिन सहेर बस्नू ? रुँदै निस्किएँ । दिदीले आफ्नो घरमा लगेर पाल्नुभयो । केही महिनामा छोरो जन्मियो’ मोबाइलमा खिचेको फोटो देखाउँदै उनले भनिन्, ‘यसलाई पाल्ने जिम्मा मेरो थियो । पढेको छैन । घरबाट कति माग्नू ?’
भौतिक जीवन न हो । पैसा नभई बाँचिदैन । उनी एकजना दिदीको साथ लागेर बानेश्वरको एउटा डान्स बारमा पुगिन् । उनले भनिन् ‘दिदी पनि त्यही काम गर्नु हुँदोरहेछ, मलाई पनि त्यतै लगाइदिनुभयो ।’
‘मेरो काम वेटर हो । गेष्टले मागेको खानेकुरा सर्भ गर्ने । तर, छिप्पिँदो रातमा गेष्टले खानेकुरा मात्रै माग्दैनन्…’उनले विवशता सुनाइन्, ‘छोरो हुर्काउनु छ, आँसु पुछ्दै गेष्टहरुका लागि रमाइदिन्छु दाइ । ‘
यसो भनिरहँदा उनको आँखामा आँसु भरिन थाले । त्यहीबेला साहुको फोन आयो, ‘ओई भावना, कति ढिलो गरेकी ? यहाँ गेष्टहरु तँलाई खोजिरहेका छन्, छिटो आइज ..।’
आँसु पुछ्दै उनले मसित पनि विदा लिँदै भनिन्, दाजु, टाइममा नपुगे साहुले निकालिदिन्छ, छोरोलाई दूध खुवाएर गइहाल्नु छ, अहिले जान्छु ल ?
त्यो क्षण मैले कर्ल गर्लसित रमाउने मानिसहरु सम्झिएँ अनि ती बहिनीको आँसु र विवशता पनि पढिरहेँ…।
सुमनराज पन्त

Category:

0 comments