सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका विकट गाउँहरुमा सरकारी राहत र उद्धारको काम ढिलाई हुँदा दैनिकी कष्टकर बन्दै गएको छ। महाभुकम्पको सात दिन बितिसक्दा पनि भुकम्प पीडितले सरकारी राहत र उद्धारको सुबिधा पाएका छैनन्। भत्केका घरहरुमा च्यापिएका शवहरु अझैपनि निकाल्न बाँकी छ।
बाँडेगाउँ गाविसका पेम्बा ग्याल्जो लामा र उनको परिवारले भुकम्प गएयता मरेका वस्तुभाउको मासु खाँदै गुजारा गरेका छन्। 'खाने कुरा अरु केही छैन,' नागरिकसंग लामाले भने, 'ज्यान बचाउन केही त खानै प¥यो।' मरेका गोरु, बाख्रा र पाडाको मासु खाएर छाक टारेको उनले बताए। वाडेगाउँ वडा नम्बर ६ लामा गाउँका दर्जनबढी घरहरु भुकम्पले ढलेपछि १४ जनाको मृत्यु भएको थियो।
लामा गाउँका सबै परिवार अहिले अस्थायी छाप्रो बनाएर बसेका छन्। ६९ बर्षीय योगे सिंगीले पसलबाट किनेर ल्याएको चाउचाउ सकिएको बताए। 'वाइवाइ पनि सकियो,' उनले भने, 'अब जे अगाडी पाइन्छ त्यही खान प¥यो।' मरेका पशु चौपायाले गाउँ दुर्गन्धित बनेको छ। स्याल र कुकुरले सिनो लुछेका दृश्य सामान्य लाग्छ। 'पानीका मुहानहरु दुर्गन्धित भएर महामारी फैलने डर छ,' स्थानीय पशुपति तिमिल्सिनाले भने, 'गाउँमा जता गायो उतै सिनो गन्हाएको छ।'
भिडियो हेर्नुस्
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
0 comments