कमजोर माटोले धसियो ६ लेनको सडक
|
फोटो : महाभूकम्पपछि चर्केको लोकन्थलीस्थित ६ लेन सडक निरीक्षण गर्दै ट्रफिकसहितका अधिकारी। तस्बिर: अन्नपूर्ण
भक्तपुर : कमजोर माटोकै कारण लोकन्थलीदेखि कौशलटारसम्मको ६ लेनको सडक धस्सिएको विज्ञहरूले बताएका छन्। खानी तथा भूगर्भ विभाग, मध्यपुरठिमी नगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र मध्यपुर इन्जिनियर्स एसोसिएसनको टोलीले उक्त क्षेत्रको निरीक्षण गरी उक्त निष्कर्ष निकालेका हुन्।
वैशाख १२ गते गएको भूकम्पबाट उक्त खण्डको दर्जन स्थानमा चिरा परेको छ भने लोकन्थली र कौशलटारको बीचमा करिब चार फिट सडक भास्सिएको छ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् लीलानाथ रिमालका अनुसार, सडक बनाउने बेलामा लोकन्थली र कौशलटारको थुप्रो माटोको बीच भागमा भरिएको माटो कमजोर भएका कारण सडक भास्सिएको र चिरिएको हो।
उनले बुधबार अन्नपूर्णसँग भने, 'सडकको दुईतिरबाट अड्याउन राखिएका स्लाबहरू नै चर्किएका छन्। क्र्याक डिस्टर्ब हुन खोजेको देखिन्छ। अझ पहिरो जान खोजेको अवस्था हो।'
उनले भूकम्पको समय नरम माटोपट्टि बढी दबाब परेको र माटोको कमजोर अवस्थामा स्थानीय थर्काई बढी देखिएको बताए।
भूकम्पले लोकन्थलीबाट पूर्व तीन फिट जति भासिएको छ।
भूकम्प गएकै दिन कौशलटार चोकको आकासे पुल उत्तरतर्फ दबेको छ। सडक विभागले उक्त पुलको प्रयोग नगर्न सर्वसाधारणलाई रोक लगाइसकेको छ।
विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाले सडक र आसपासका घर बनाउनुअघि माटोको परीक्षण नगरिएकाले यस्तो समस्या भएको बताए।
उनले भने, 'कुन माटोले कतिसम्मको भार थेग्छ भन्ने यकिन गरेर मात्र संरचना निर्माण गर्नुपर्छ भन्ने हाम्रो बानी भएन। माटो परीक्षण नगरी घर बनाएर लोकन्थलीदेखि कौशलटार क्षेत्रका थुप्रै घर भास्सिएका हुन्।'
स्थानीय वर्णबहादुर थापाका अनुसार, उक्त क्षेत्रमा करिब ५० घरमा मुख्य क्षति भएको छ भने करिब एक सय घरमा आंशिक क्षति भएको छ। उक्त क्षेत्रमा रहेका ती घरहरूमा घरधनी दिउँसोमात्र घरमा प्रवेश गर्ने गरेका छन् भने राति अन्तै जाने गरेका छन्। एक स्थानीयले कौशलटार चोकदेखि उत्तरतर्फ करिब आधा दर्जन डिप बोरिङ गाडेर पानी सप्लाइ भइरहेकाले पनि उक्त क्षेत्रमा घरहरू दबिएको हुन सक्ने बताए।
उनका अनुसार, ५० मिटरको दूरीमा बोरिङ भएकाले पनि सडक क्र्याक हुन सहयोग पुगेको हुन सक्छ। अर्का एक स्थानीयले लोकन्थली र कौशलटार बीचको जस्तै खोल्सो भाग गठाघरपूर्व पनि भएको तर त्यहाँ माटो खाँध्न डोजरको प्रयोग गरिएकाले केही नभएको बताए।
उनले भने, 'स्थानीय बासिन्दाले लोकन्थली र कौशलटार क्षेत्रमा घरहरूमा असर पर्ने भन्दै पूर्णरूपमा डोजर प्रयोग गर्न दिएका थिएनन्।'
मध्यपुरठिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठले माटोको परीक्षण गर्दा विभागले लोकन्थली क्षेत्रको दिव्येश्वरी मन्दिरपरिसरमा ग्यास छ भन्ने अनुमानलाई पनि परीक्षण गर्नुपर्ने बताएका थिए।
उनका अनुसार, लोकन्थलीबाट मनोहरातर्फको दक्षिणी भागमा तीन सय मिटर गहिरो बोरिङ सञ्चालनमा रहेकाले पनि माटो धसिएको हुन सक्ने बताए।
नगरपालिकाका वरिष्ठ इन्जिनियर सत्यनारायण शाहले लोकन्थली र कौशलटारबीचको क्षेत्रमा परेको चिरा लुभुसम्म देखिएको बताए। उनले भने, 'मध्यपुर इन्जिनियर्स एसोसिएसनका एक इन्जिनियरले हालै गरेको अध्ययनमा यहाँको जस्तै चिरा लुभुसम्म देखिएको
हो।'
भूगर्भविद्हरूले अबका दिनमा लोकन्थलीदेखि कौशलटारसम्मको क्षेत्रमा जियोफिजिकल सर्भे गरेर मात्र संरचना निर्माण गर्नुपर्ने बताएका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments