Hindi Films

मुगिटारका गाइने माझीकाे भूकम्प स्मृति

Unknown | 09:51 | 0 comments

 '९० सालमा पृथ्वी पल्टिन लागेकाे थियाे'
  •  

  त्यान्द्रा छुट्याउँदै छन् । उनी आफ्नो काममा यति मस्त छन् कि वरपर के भइरहेको छ उनलाई केही मतलब नै छैन ।
कालो वर्ण, चाउरी परेका गाला, झुस्स पालेको दारी र जुँगा र कत्ला परेका हात । मैले नजिकै गएर उनलाई सोधेँ, ‘बा, नमस्ते । के गरिरहनुभएको ?’

उनले बोराको त्यान्द्रोबाट आफ्नो आँखा हटाउँदै म तिर पुलुक्क हेरेर भने, ‘काम गरी’रा । यत्तिकै बस्नु हुँदैन ।’
ती बूढालाई मसँग भालाकुसारी गर्न मनै थिएन । तैपनि मैले कोट्याउन थालेँ, ‘यसबाट के बनाउने त ?’ उनलाई मेरो प्रश्नले झिँजो लाग्यो । उनले पुन: ठाडो जवाफ दिए, ‘जे बन्छ त्यही बनाउने ।’
एक महिला कतैबाट त्यहाँ टुप्लुक्क आइपुगिन् र भनिन्, ‘दाम्लो बनाएर बेच्ने ।’
उनको कुरा सुनेर बूढाको रिसले कन्सिरी तात्यो । उनले हप्काउँदै भने, ‘तिमीहरूले बेच्लाऊ । म बेच्दिनँ ।’
ती महिला झोकिँदै आफ्नो बाटो लागिन्, ‘बूढा, राम्रो कुरा त गर्नै नहुने ।’
मैले फेरि कुरा अगाडी बढाएँ, ‘तपाईं कति वर्ष पुग्नु भयो ?’
उनलाई कुरा गर्ने जाँगर चल्दै थियो । मतिर पुलुक्क हेरे र हातले इशारा गर्दै भने, ‘ऊ त्यो सूर्य कति बेला निस्किन्छ पनि मलाई थाह छैन, कति बेला बिलाउँछ पनि मलाई थाह छैन ।’
मलाई लाग्यो उनी बहकिँदै छन् । उनको कुरा काट्दै प्रश्न गरेँ, ‘मैले बाको उमेर सोध्या ।’
‘नानी, मलाई कति दिन भयो भने महिना हुन्छ नै थाह छैन । वर्ष के हो नै थाह छैन,’ उनले भने ।
‘बाको नाम के त ?’
‘त्यतिबेलाका आइमाइले नि जाँड खुब खान्थे । एकदिन आमाले जाँडकै सुरमा भन्दिन्– तेरो नाम गाइने माझी ∕’ उनले भने, ‘त्यसबेलादेखि म गाइने माझी भएँ ।’
उनी मसँग गफ गर्न हौसिँदै थिए । उनले आफैले जिज्ञाशा राख्न थाले, ‘तपाईं कहाँबाट आउनु भएको ?’
‘काठमाडौंबाट,’ मैले भने ।
‘नानी कसको छोरा ?’ उनले थप जान्न चाहे ।
मैले कुरा मोड्न खोजेँ, ‘तपाईंले मेरा बा–आमालाई चिन्नै हुन्न । बरु भन्नुस न भूइँचालो आउँदा के गर्दै हुनुहुन्थ्यो तपाईं ?’
उनले बाटो पारी रहेको आफ्नो भत्किएको घर देखाउँदै भने, ‘ऊ त्यो घरमा थिएँ । हल्लायो–हल्लायो भने अनि मलाई बुहारीले बोकेर बाहिर ल्याइ ।’
‘भूँइचालो गएको थाह पाउनु भएन ?’
‘यो त तपाईंहरूलाई सपनामात्र देखाएको हो । सुतेको बेला सपना देखिन्छ सबै सिधियो जस्तो लाग्छ । बिउझिँदा सबै ठिक हुन्छ नि । त्यही मात्र भएको हो यो,’ उनी खुल्न थाले ।
‘९० सालको भूँचालोको कुरा गर्नुभएको ?’ मेरो उत्सुकता बढ्यो ।
तामाकोशी नदीको किनारमा अवस्थित माझीहरूको सानो गाउँ हो मुगीटार । लामो पाइला गरेर राणजोर खोलाको बगरैबगर करिब आधा घन्टा हिँडेपछि तामाकोशीको किनार पुगिन्छ । तामाकोशी माथिको झोलुंगे पुल तरेर फेरि बगरैबगर ४५ मिनेट जति हिँडेपछि पुगिन्छ मुगिटार । त्यही मुगीटारका सबैभन्दा पाका हुन्– गाइने माझी । उनको यकिन उमेर कति हो कसैलाई पत्तो छैन । ९० सालको भूकम्प जाँदा आफू १३–१४ वर्षको भएको उनी अनुमान गर्छन् ।
‘खै साल त कति हो थाह छैन,’ उनले हातले ईशारा गर्दै भने, ‘म यत्रो–यत्रो थिएँ । ऊ त्यो पारी डाँडामा गोठालो गएको थिएँ ।’
‘अनि...?’
‘बुडुङ गरेर हल्लाउन थाल्यो । भैकम्प आएको हो की पृथ्वी पल्टिन लागेको हो थाहै भएन,’ उनी हातले कसरी हल्लएको थियो भनेर देखाउँदै पनि थिए, ‘पृथ्वी नै पुरै घुमेको जस्तो । रुखहरू भाँचिन थाले । जरा उखालिएरै रुख लड्न थाल्यो ।’
उनले जुन प्रकारले त्यो क्षणको वर्णन गर्दै थिए, लाग्थ्यो उनी त्यही क्षण पुन: बाँचीरहेका थिए । ‘सबैतिर हाहाकार थियो । सबैतिरबाट पहिरो झरिरहेको थियो । जमिन फाटेको थियो,’ उनले भने, ‘के–के भयो, के–के भयो ? भंैसी, बाख्रा कता पुगे । म रुँदै घरतिर आएँ ।’
गाइने माझीको भनाइ अनुसार उनको बस्तीमा केही पनि बाँकी थिएन । सबै खण्डहरमा परिणत भएको थियो । उनलाई त्यसैले पनि अहिलेको ‘भैकम्प’ केही जस्तो पनि लागेन ।
‘मेरो कुरो कसले पत्याउँछ ?’ उनी भन्दै थिए ।
उनी पुन: बोराको त्यन्द्रो केलाउनमै व्यस्त हुन थाले । म आफ्नो बाटो लागें ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments