छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको.....
|
उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको बताएका छन्। गृह जिल्ला बागलुङमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै उपप्रधानमन्त्री केसीले नेपाली आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको मार बढी खेप्नु परेको बताए।
छिमेकी मुलुकबाट नाकाबन्दी भएता पनि नेपालीहरु आत्मनिर्भर बन्न नसक्नु दुःखको विषय भएको भन्दै देशको राष्ट्रियतामा नै प्रश्न चिन्ह उठेको हुनाले यो बेला सबै गम्भीर हुनुपर्ने कुरामा जोड दिएका थिए।
परनिर्भरताका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै केसीले एउटामात्र छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको उल्लेख गरेका छन्। केसीले वर्तमान सरकार अन्य छिमेकी मुलुकसँग पनि सम्बन्ध बढाउँनेतर्फ लागेको बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका मन्त्री केसीले मुलुक अप्ठ्यारो परेको बेला आफ्नो पार्टी पहिलोपटक सरकारमा सहभागी भएको उल्लेख गर्दै इन्धन, आलु, प्याज र तरकारीको बहानामा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता साट्न नसकिने दावी गरे।
नेपालीलाई आत्मनिर्भर तथा व्यावसायीक बनाउँन सरकारले नयाँ नीति ल्याउने भन्दै आफ्नै बारीमा उत्पादन हुने उपभोग्य बस्तु आयात गर्नुपर्ने वातावरण हटाउनतर्फ लाग्ने केसीले केसी बताउँछन्। नाकाबन्दीपछि नेपाली जनताले गम्भीर पाठ सिकेको उल्लेख गर्दै मन्त्री केसीले मुलुकमा दुष्परिणाम आउँछ भन्ने थाहा पाउँदा पाउँदैपनि शासकहरुले ख्याल नगरेको बताए।
पेट्रोलियम पदार्थ आयातका लागि छिमेकी मुलुक चीन र बंगलादेशसँग सरकारले छलफल अगाडि बढाएको उल्लेख गर्दै मन्त्री केसीले नेपालमा उत्पादन हुने बस्तुहरु समेत आयात गर्नु दुःखद रहेको बताए। नेपाल कृषिप्रधान देश भएपनि नेपालमा आलु, प्याज, खुर्सानी समेत भारतबाट आयात हुने गरेको भन्दै केसीले यस अगाडिका शासकहरुले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको बताए । नेपालीको मानव अधिकार समेत उलङघन भएको भन्दै राष्ट्र पनि संकटमा परेको उनको भनाई थियो।
|
Category: News
0 comments