Hindi Films

प्रधानमन्त्रीले प्रहरीका हाकिमलाई भने-जुनियरका अगाडि शिर झुकाउनुस्

Unknown | 21:31 | 0 comments


  
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनी संघीय प्रहरी संरचनामा प्रहरीको भूमिका र कामकर्तव्यसम्बन्धी विषयलाई लिएर प्रहरीका गतिविधिलाई निरीक्षण गर्न पुगेका थिए ।
 
भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतामाथि प्रकाश पार्दै प्रधानमन्त्री ओलीले भने, 'प्रहरीका हाकिमले मैले राम्रो काम गरेको छु भनेर फुरुंग पर्नु पर्दैन, जुनियर प्रहरीले पनि तपाईंहरूको कामको मूल्यांकन गरिरहेका हुन्छन् । सिनियरले जुनियरको अगाडि शिर झुकाउने काम कहिल्यै नगर्नोस्, भ्रष्टाचार नियन्त्रणदेखि लिएर अनुशासनमा समेत सबैमा ठिक हुनुपर्यो ।' 
 
उनले मधेसी मोर्चाले आन्दोलन रोकेको प्रति व्यंग्य गर्न भ्याए । प्रहरीका क्षेत्रीय प्रहरी कार्यालयका डीआईजीदेखि आईजीपीसम्मका उच्च अधिकृतलाई निर्देशन दिने क्रममा उनले भने, 'मैले र प्रहरीले दुःख पाए भनेर मधेसी मोर्चाले आन्दोलन रोकेका होइनन्, आन्दोलन रोक्न धेरै कसरत गर्नुपर्यो ।'
 
उनले प्रहरीभित्र अझै पनि कमीकमजोरी रहेको औंल्याउँदै त्यसलाई सुधार्न निर्देशन दिएका थिए । प्रहरीले जहिल्यै पनि सीमित स्रोतसाधनलाई देखाएर काम गर्न नसकेको प्रति प्रधानमन्त्री ओलीले चासो राखेका थिए । 
 
उनले भने, 'सधैं स्रोतसाधन छैन भनेर पन्छिन कोही पनि पाउँदैन, कति हतियार चाहिने हो, सवारीसाधन कति चाहिने हो, नयाँ टेक्नोलोजीका स्रोतसाधन के के छन्, तपाईंहरू माग्नोस्, नदिने कुरा हुँदैन । सरकारले औचित्य हेरेर बजेट विनियोजन गर्छ ।'
 
प्रहरी कार्यालयमा गाडीसमेत नभएको गुनासो पाएका प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने, 'अपराधीहरू नयाँ पल्सर मोटरसाइकल चढेर हिँडिरहेका छन् । प्रहरीले बिग्रिएको मोटरसाइकल पनि चढ्न नपाउने हुन्छ र ? शान्तिसुरक्षामा अग्रणी भूमिकामा रहने प्रहरीसँग स्रोतसाधनको कमी हुनु हुँदैन, सरकारले व्यवस्था गर्नुपर्छ ।' प्रधानमन्त्रीले यसो भनिरहँदा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालदेखि उच्च प्रहरी अधिकृतहरू मुखामुख गरिरहेका थिए ।
 
गृहमन्त्री शक्तिबहादुर बस्नेतसमेत रहेका निरीक्षण टोलीमा प्रधानमन्त्री ओलीले एमाओवादीसँग भएको नौबुँदे सहमति सरकारको काम गर्ने 'सम्झौतापत्र' रहेको स्मरण गराउँदै यसले सकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गरेका थिए । 
 
प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहिष्णुता कायम गर्न सुरक्षा निकायको मात्र नभई आमनागरिकको समेत दायित्व रहेकाले सुरक्षा निकाय यसप्रति अझै संवेदनशील हुनुपर्ने बताउँदै संगठित अपराध नियन्त्रण गर्न जनतासँग हातेमालो गर्दै अगाडि बढ्न प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए । ओलीले मुलुक संघीय संरचनामा गएकाले प्रहरी पनि संघीय ढाँचामा चल्नुपर्ने बताएका थिए ।
 
गृहमन्त्री शक्तिबहादुर वर्तमान चुनौती सामना गर्न प्रहरीलाई प्रविधिमैत्री, दक्ष जनशक्ति विस्तार, समयसापेक्ष तालिम, साधनस्रोत सम्पन्न र संगठनको एकतालाई अझै मजबुद गराउनुपर्ने बताएका थिए । 'समृद्ध नेपालका लागि सुरक्षित समाज' आवश्यक रहेको चर्चा गर्दै संगठनको तल्लो एकाइदेखि नै इमानदारीपूर्वक सजग र सतर्क रही दायित्व निर्वाह गर्न उनले निर्देशन दिए ।
 
प्रहरी महानिरीक्षक अर्यालले संगठन सुदृढीकरण तथा आधुनिकीकरण, भौतिक स्रोधसाधनको व्यवस्था र सेवासुविधाका लागि सरकारको नीति तथा कार्यक्रममा विशेष सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
आजको  अन्नपुर्ण बाट साभार 

Category:

0 comments