Hindi Films

नयाँ बजेट आउनुअघि नै सरकार परिवर्तन हुने !महरा बने मोहरा

Unknown | 19:57 | 0 comments


krishna-bahadur-maharaकाठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा (माओवादी) महासचिव कृष्णबहादुर महरा दिल्लीबाट फर्केपछि सरकार परिवर्तनको कुरा तीव्र रुपमा अगाडी बढेको छ ।
नयाँ सरकारको नेतृत्व कसले गर्ने विषयमा काँग्रेस र एमाओवादीबीच कुरा मिलेपछि सम्भवतः नयाँ बजेट आउनुअघि नै सरकार परिवर्तन हुने देखिएको छ । काँग्रेसले सरकार परिवर्तनका लागि सम्पूर्ण शक्ति लगाउने भएको छ । मंगलबार सभापति देउवाले आफ्ना सासंदलाई सरकारप्रति दवाव दिन निर्देशन दिएका छन् भने एमाओवादीका विभिन्न नेताहरुसँग गोप्य ढंगबाट छलफललाई अगाडि बढाएका छन् ।
जेठ १५ अघि नै सरकार ढाल्ने रणनीति बनाउँदै काँग्रेस अगाडि बढेको छ, त्यसका लागि काँग्रसका सभापति देउवाले एमाओवादीका नेताका साथ साथै राप्रपा नेपाल र मधेसवादी दलसँग पनि कुराकानी गरिरहेका छन् ।
हुन त भारत जानु एक दिनअघि नै देउवाले मधेसवादी दललाई आफ्नो घरमा बोलाएर सरकार गठनबारे छलफल गरिसकेका हुन् । ओली सरकार जसरी पनि ढाल्नुपर्छ भनि मधेसवादी दलले सिग्नल दिइसकेपछि दिल्ली उडेका देउवा फर्केपछि सरकार परिवर्तनको कुरालाई तीव्रता दिएका छन् । मधेसवादी दल सरकारमा नगएपनि सरकार ढाल्नका लागि सहयोग गर्ने मधेसी मोर्चाका नेताहरुले बताएका छन् ।
जसरी प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनका लागि मधेसवादी दलले मतदान गरेका थिए, त्यसरी नै देउवालाई पनि मतदान गर्ने स्रोतको दावी छ । मधेसवादी दलका नेताहरुले ओली सरकारलाई एमाओवादीले छाडेपछि आफूहरुले पनि सरकार बनाउनमा साथ दिने तर सरकारमा जाने सम्भावना नरहेको प्रतिबद्धता दिइसकेको काँग्रेस स्रोतको दावी छ ।
सरकार परिवर्तनको सुत्रपात
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको बेला गृहमन्त्री बन्न नदिएको भारतले सरकारको परिवर्तनको सुत्रधार महासचिव महरालाई नै बनाएको छ । भारतले एमाओवादी अध्यक्ष प्रचण्डलाई भ्रमणका लागि पटक–पटक आग्रह गरेपनि उनी भारत जान चाहेनन् । काँग्रेसका सभापति शेरबहादुर देउवा जानुअघि अध्यक्ष प्रचण्डलाई नै भारतले बोलाएको थियो तर प्रचण्डले अस्वीकार गरेपछि मात्र देउवा भ्रमणमा गएका थिए ।
देउवा भारतमा रहेकै बेला सरकार परिवर्तनको बारेमा भारतीय सुत्रले अध्यक्ष प्रचण्डसँग सरकार परिवर्तनको बारेमा जिज्ञासा राखेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले आफ्नो दुतको रुपमा महरालाई दिल्ली पठाएका थिए । सरकार परिवर्तनको चर्चा चलिरहेको बेला भारत भ्रमणमा आफू गयो भने टिकाटिप्पणी हुने डरले प्रचण्ड आफू नगएर उनले महरालाई पठाएका हुन् । देउवा दिल्ली पुगेको दुई दिनपछि नै महासचिव दिल्ली पुगेका थिए । देउवा वैशाख ६ गते दिल्ली गएका हुन् ।
दिल्लीमा नै देउवा र महराबीच सरकार परिवर्तनको बारेमा कुराकानी भएको स्रोतको दावी छ । भारतीय पक्षको मध्यस्थतामा भएको कुराकानीमा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने सहमति भएको थियो । सरकार परिवर्तन भएपछि नेतृत्व कसको हुने कुराको टुगों त्यहाँ लागेको थिएन । दुई दलले आपसमा मिलेर सरकार नेतृत्वको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
भारत किन चाहन्छ सरकार परिवर्तन ?
भारतलाई वर्तमान सरकार परिवर्तनको चासोभन्दा पनि एमाओवादी र एमालेको गठबन्धन तोड्नु नै हो । भारत निकट जानकारका अनुसार अब बन्ने सरकारको नेतृत्व शेरबहादुर देउवाले गरुन वा एमाओवादी अध्यक्ष प्रचण्डले गरुन् भारतलाई फरक पर्दैन, भारतको एक मात्र चासो एमाओवादी र एमालेको गठबन्धन तोड्नु हो । भारतको इच्छा विपरित अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीले सरकार गठन गरेका थिए ।
kp-prachanda-deuba1
सरकार गठन भएपछि पनि भारतको चाहना अनुसार काम भएन बरु ओली नेतृत्वकै सरकारको पालामा भारतको बढी बदनामी भयो । भारतले इच्छाएका कुनै पनि काम ओली नेतृत्वको सरकारले गर्न मानेका छैन । त्यसैले त्यसलाई परिवर्तन गर्नुपर्छ भन्दै एमाओवादीलाई गोटी बनाएको छ ।
ओली सरकार गिराउनका लागि काँग्रेसको महाधिवेशनदेखि नै योजनाबद्ध तरिकाले भारतले प्रयास थालेको थियो । शेरबहादुरलाई जिताउनका लागि डा.अमरेशकुमार सिंहलाई गुट परिवर्तन गर्न लगाउनु, कृष्ण सिटौलालाई सभापतिको उम्मेदवारी दिन लगाउनु भारतको योजना मुताविक नै भएको कुरा जानकारहरुको दावी छ । त्यसैले भारतले देउवालाई बोलाएर ओलीको साथ छाड्नका लागि एमाओवादीले जे–जे माग्छन् ती सबै दिनुस् तर ओलीको साथ छोडाउनुस् भनेको छ ।
र, सबभन्दा ठूलो पार्टी भएपनि एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन काँग्रेस तयार भएको छ । संविधान निर्माण प्रकृया शुरु भएपछि तीन दल काँग्रेस, एमाओवादी र एमालेको गठबन्धनबाट काँग्रेसलाई भारतले नै अलग गरेको थियो ।
सुशील कोइरालालाई पुनः प्रधानमन्त्री बनाउने प्रलोभन दिएर सो गठबन्धनबाट अलग गरेर एमाले र एमाओवादीलाई छाडेका थिए । अहिले त्यही सुत्र प्रयोग गरेर एमालेसँग रहेका एमाओवादीलाई अलग गर्ने रणनीति भारतले बनाएको छ । भारतमा भएको बेला महासचिव महराले गृहमन्त्री राजनाथदेखि लिएर रअ प्रमुख राजेन्द्र खन्ना समेतलाई भेटेको बताइन्छ ।
सरकार परिवर्तनमा एमाओवादीले किन लियो चासो ?
कृष्णबहादुर महरा भारतबाट फर्के लगतै एमाओवादीको स्थायी समितिको बैठक बसेको थियो । दुई दिनसम्म चलेको स्थायी समितिको बैठकमा पनि कृष्णबहादुर महराले सरकारको कुरालाई प्राथमिकतामा राखेका थिए । सरकारको आलोचना कुनै बेला उनले नै सबभन्दा बढी गरेका थिए ।
सरकारको आलोचना सँगसँगै सरकार परिवर्तनको पनि चर्चा चलेको थियो । र, महराले नै त्यसको नेतृत्व गर्दै अगाडि बढिरहेका छन् । उनले पार्टीभित्रका आफ्ना निकट नेताहरुसँग पनि छलफल चलाईरहेका छन् । सरकार परिवर्तनको विषयमा महरालाई साथ दिनेमा वर्षमान पुनः अनन्त र जनार्दन शर्मा पनि अगाडि देखिएका छन् ।
कुरा यति मात्र हो त ?
महत्वपूर्ण मन्त्रालय सम्हालेर बसेका एमाओवादीले एकाएक सरकार परिवर्तनका लागि किन अघि सर्यो भन्ने कुराको विभिन्न टिकाटिप्पणी भएपनि त्यसको मुख्य कारण युद्धकालिन मुद्दा तथा अख्तियारका गतिविधिहरु पनि रहेका छन् ।
भारतको जोडबलले अख्तियार प्रमुख बनेका लोकमान सिंह कार्कीलाई यतिखेर भारतले जे भन्छ त्यही गर्छन् । हुन त लोकमान कार्कीलाई अख्तियार प्रमुख बनाउनमा एमाओवादीको सहयोग नरहेको पनि होइन तर कार्की भारतको कुरा बढी सुन्ने भएकाले एमाओवादीका नेताहरु तर्सेको र त्यसैबाट जोगिनका लागि भारतले भनेको कुरा एमाओवादीले मान्न थालेको स्रोतको दावी छ ।
अर्को कुरा, जानकारकाअनुसार युद्धकालिन मुद्दा ब्यूँताएर एमाओवादीलाई हगसम्म पुर्याउने भारतको योजना रहेको कारणले पनि एमाओवादी भारतको अगाडी गलेको हुनसक्छ । एमाओवादीलाई अहिले सत्ताभन्दा पनि सुरक्षाको चिन्ता बढी देखिएको कारणले पनि एमाओवादीले भारतको कुरा मान्न तयार भएका छन् । 

Category:

0 comments