Hindi Films

पाँच वर्ष देश रेलमय हुन्छः प्रधानमन्त्री ओली

Unknown | 07:07 | 0 comments


१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नेपाललाई रेलमय बनाउने दाबी गरेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले घरघरमा खाना पकाउने ग्यासको पाइप पुर्‍याउने घोषणा गरेका थिए ।
युवा संघ नेपालले २६ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने बताए ।
‘अन्त रेल चलाउन हुने, नेपालमा रेल ल्याउनै नहुने हो कि क्या हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘यसको पनि विरोध गरिरहेका छन् । तर म भनिरहेको छु हामी रेल ल्याउँछौं ।’
चीनबाट काठमाडौसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको उनले दाबी गरे । विदेशमा रेल चल्छ भने नेपालमा किन नहुने भन्ने प्रश्न गर्दै उनले पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं तथा काठमाडौंदेखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने दाबी गरे ।
‘काठमाडौंबाट केरुङसम्म हामी बनाउँछौं, काठमाडौं पोखरासम्म हामी बनाउँछौं, काठमाडौं-पोखरा-लुम्बिनी हामी बनाउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिकति बाटो खन्न बाँकी छ, लिक ओछ्याउन बाँकी छ । त्यो गरेपछि रेल गुड्यो ।’
प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई पूर्णरुपमा डिजिटलयुक्त बनाउने दाबीसमेत गरे । सरकारी कार्यालयहरुलाई कागजमुक्त बनाइ कम्प्युटरबाट मात्र काम हुने निकायका रुपमा विकास उनको भनाइ थियो ।
मोर्चाको आन्दोलन रुखको छहारी खोजे जस्तै
प्रधानमन्त्री ओलीले मधेसी मोर्चा समस्यामा परेपछि नेपाली कांग्रेसको साथ खोज्दै हिँडेको भनेर घुमाउरो पारामा व्यंग्य गरे । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सिंहदरबार घेराउ आन्दोलनलाई गर्मीका बेला रुखको छहारी खोजेर हिंडेजस्तै भएको उनले टिप्पणी गरे ।
‘आन्दोलनमा मधेसी जनताले साथ नदिएपछि मोर्चाको आन्दोलन र गर्मीका बेला रुखको छहारी खोजेर हिंड्ने प्रवृत्ति उस्तै हो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले जायज माग सम्बोधनका लागि सरकार सदैव तयार रहेको भन्दै आन्दोलन छोडेर वार्तामा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरे ।
उनले प्रतिपक्षी नेपाली कांग्रेसको आलोचना र विरोधबाट आफू पछाडि नहट्ने दृढता व्यक्त गरे ।

Category:

0 comments