Hindi Films

बार्सिलोना उपाधिभन्दा एक खेल टाढा

Unknown | 21:23 | 0 comments


वैशाख २८, २०७३- बार्सिलोना स्पेनिस लिग उपाधि रक्षाभन्दा एक खेल मात्र टाढा छ । स्टार स्ट्राइकरहरू लियोनेल मेसी, लुइस स्वारेज र नेयमारले गोल गर्दा बार्सिलोनाले आइतबार क्याटलन डर्बीमा एस्पन्योललाई ५–० ले पराजित गर्‍यो ।
एक खेल बाँकी रहेको अवस्थामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लेको छ । क्रिस्टियानो रोनाल्डोको २ गोलमा रियलले लगातार ११ खेल जित्ने क्रममा भ्यालेन्सियामाथि ३–२ को विजय हात पार्‍यो । तर यसअघि नै रेलिगेसनमा परिसकेको लेभान्टेसँग २–१ ले पराजित भएपछि एट्लेटीको म्याड्रिड उपाधि दौडबाट बाहिरिएको छ ।
आउँदो साता हुने सिजनको अन्तिम खेलमा ग्रानाडालाई पराजित गरेमा बार्सिलोना स्पेनिस च्याम्पियन बन्नेछ । युरोपा लिगको फाइनलमा पुगेको सेभियालाई ४–१ ले पराजित गरेपछि ग्रानाडा व्यावहारिक हिसाबमा रेलिगेसनबाट जोगिइसकेको छ । रियल सिजनको अन्तिम खेल डेपोर्टिभो ला कोरुना जानेछ । रियलभन्दा बार्सिलोना १ अंकले अगाडि छ ।
‘हामी लिगको ३८ औं खेल एक खेलका रूपमा गएर खेल्नेछौं,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिक्वीले भने, ‘यसमा केही तनाव हुनेछ । रियल म्याड्रिड र हामी एकै स्थितिमा छौं । दुवैले घरेलु मैदानबाहिर गएर खेली जित्नुपर्नेछ । उपाधि त्यही छ र लोभलाग्दो पनि छ । हामी त्यसलाई जित्न लालायित पनि छौं ।’
आठौं मिनेटमा मेसीले फ्री किकमा गोल गरी बार्सिलोनालाई राम्रो सुरुवात दिलाए । दोस्रो गोल गर्न बार्सिलोनाले दोस्रो हाफको सातौं मिनेटसम्म कुर्नुपर्‍यो । स्वारेजले ५२ र ६१ औं मिनेटमा गोल थपे ।
राफिन्हाले ७४ र नेयमारले ८३ औं मिनेटमा गोल गरी बार्सिलोनाको विजयलाई फराकिलो बनाए । स्वारेजले यस सिजनमा सबै खाले प्रतियोगितामा ५६ गोल गरिसकेका छन् । ला लिगमा पनि उनी रोनाल्डोभन्दा सर्वाधिक गोल गर्नेमा चार गोलले अगाडि छन् ।
ग्यारेथ बेल र लुका मोड्रिजबिना खेले पनि पाएको विजयपछि रियलले २०१६ मा एट्लेटिकोलाई पहिलोपटक उछिनेको हो ।
‘अब हामी दोस्रो स्थानमा उक्लिएका छौं । एक खेल अझै खेल्न बाँकी छ र त्यसमा जे पनि हुन सक्छ,’ रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘फुटबलमा कहिल्यै केही भन्न सकिन्न । हामीले त्यो बुझेर खेल्न जरुरी छ ।’
  स्रोत : कान्तिपुर 

Category:

0 comments