Hindi Films

पक्राउ परेका मार्टिन भन्छन्- जबरजस्ती फेटा गुथाइदिए

Unknown | 05:00 | 0 comments

 

फोटो :संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउमा सोमबार प्रहरीमाथि जाइलाग्दै प्रदर्शनकारी । तस्बिर: दिनेशविक्रम शाह
काठमाडौं: संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउका क्रममा एक बेलायती नागरिक पक्राउ परेका छन् । पेसाले चित्रकार रहेका बेलायती नागरिक मार्टिन बेन्जामिन ट्राभेर्सलाई प्रहरीले सोमबार माइतीघरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई गठबन्धनको प्रदर्शनलाई समर्थन गरेको आशंकामा पक्राउ गरेको हो ।
 
आइतबारको प्रदर्शनमा प्रदर्शनको समर्थनमा नारा लेखिएका रातो फेटा बाँधेर विदेशी नागरिक आन्दोलनमा सहभागी भएपछि गृह मन्त्रालयले आन्दोलनमा आउने विदेशीको क्रियाकलापमाथि निगरानी बढाएको थियो । गृहले आन्दोलनलाई समर्थन गरी प्रदर्शनमा सहभागी भएका विदेशीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको थियो । विराटनगरमा सोमबार भएको एक कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोनलमा सहभागी भएका विदेशीहरूको क्रियाकलापप्रति सरकार गम्भीर रहेको अभिव्यक्ति दिएका थिए । सोही क्रममा मार्टिन पक्राउ परेका हुन् ।
 
प्रहरीले मार्टिनलाई मंगलबार उपस्थित गराउने गरी नेपालस्थित बेलायती दूतावासका प्रतिनिधिको जिम्मा लगाएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीले मार्टिनलाई मंगलबार थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाइने बताए । केसीले अन्नपूर्णसँग भने, ‘मंगलबार उपस्थित गराउने गरी बेलायती दूतावासको जिम्मा लगाएका छौं । उनलाई अध्यागमनमा बुझाउने तयारीमा छौं ।' प्रहरीले आइतबारको सिंहदरबार घेराउका क्रममा प्रदर्शनलाई समर्थन गरेका विदेशीहरूको समेत खोजी गरिरहेको छ ।
 
गृह प्रवक्ता यादवप्रसाद कोइरालाले अध्यागमन कानुन उल्लंघन गर्ने जोकोहीलाई पक्राउ गर्ने बताए । ‘जुन प्रयोजनका लागि प्रवेशाज्ञा पाएका हुन् नेपाल आउने विदेशीले सोही प्रयोजनका लागि काम गर्नुपर्छ', कोइरालाले भने, ‘कसैको उक्साहट र निहित स्वार्थका लागि अध्यागमन कानुन उल्लंघन गर्ने विदेशीलाई तत्काल कानुनी दायरामा ल्याउँछौं ।'
 
प्रहरीले प्रदर्शनकारीलाई समर्थन गर्ने गरी निधारमा नीलो फेटा बाँधेको अवस्थामा मार्टिनलाई पक्राउ गरेको हो । तर मार्टिनले आन्दोलन र आन्दोलनकारीसँग आफ्नो सम्बन्ध नरहेको बताएका छन् । मार्टिनले आफू ठमेल पुगेर पाटन फर्कने क्रममा माइतीघरमण्डलामा छरिएर रहेका मान्छेहरूप्रति चासो बढेर फोटो खिच्न थालेको र त्यसैबेला आन्दोलनकारीले जबरजस्ती आफूलाई फेटा गुथाइदिएको बताएका छन् । 
 
‘मान्छेहरू छरिएको दृश्यले मलाई आकर्षित गर्‌यो र फोटो खिच्न थालें', मार्टिनले अन्नपूर्णसँग भने, ‘ बाजागाजा बजाएर मान्छेहरू नाचिरहेका थिए, त्यही फोटो खिच्ने क्रममा प्रदर्शनकारीले मलाई जबरजस्ती केही लेखिएको फेटा गुथाएदिए । मेरो निधारमा फेटा देखेपछि प्रदर्शनकारीलाई समर्थन गरेको आशंकामा प्रहरीले समात्यो ।'
 
उनले आफू निर्दोष रहेको र आन्दोलनप्रति समर्थन र विरोध नरहेको बताए । पछिल्लोपटक ९० दिनको प्रवेशाज्ञा (भिसा) लिएर नेपाल आएका मार्टिनको जेठ २४ गते भिसाको म्याद सकिँदैछ । नेपाली साथी निरञ्जन कुँवरसँग ललितपुरको पाटनमा बस्दै आएका मार्टिन गत वर्षको भूकम्पपछि स्वयंसेवकका रूपमा नेपाल आएका थिए । 
 
मार्टिनले नेपालमा ‘कला शिक्षा इनिसिएटिभ' नामक आर्टसम्बन्धी संस्था खोलेका छन् । उनी उक्त संस्थाको निर्देशक र कोफाउन्डर हुन् । मार्टिनले भने, ‘मेरो संस्थाले विभिन्न विद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई चित्रकला सिकाउने काम गर्दछ ।' उनले उक्त संस्था दर्ता भएनभएको बारे भने अनभिज्ञता प्रकट गरे ।
 Source:Annapurna

Category:

0 comments