Hindi Films

खन्नामा प्रचण्डलाई प्रश्न – अध्यक्षमात्रै हो कि प्राधिकार ?

Unknown | 09:09 | 0 comments

५ साउन, काठमाडौं । ‘पार्टी एकल नेतृत्वमा गएपछि अब तपाईको अधिकार कति हो ? तपाई पार्टीको अध्यक्षमात्रै हो कि प्राधिकार नै हो ?’ ललितपुरको खन्ना गार्मेन्टमा आयोजित एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा बोल्ने नेताहरुले शनिबार सोधेको यो प्रश्नको जवाफ प्रचण्डले आइतबार दिनुहुने भएको छ । विस्तारित बैठकमा प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठले यस्ता अरु पनि प्रश्नहरुको सामना गर्नुपरेको छ । आइतबार प्रचण्डसँगै उपाध्यक्षहरुले पनि जवाफ दिनुहुने विस्तारिक बैठकको कार्यसूचि छ ।
शुक्रबारदेखि शुरु भएको एमाओवादीको विस्तारित बैठकमा नेताहरुले प्रचण्डको एकल नेतृत्व प्रणालीमा गएपछि उहाँको अधिकार कति हुने भन्ने प्रश्न उठाएका हुन् । समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै नेताहरुले प्राधिकार कि एकल नेतृत्व मात्रै ? भनी सोधेका हुन् । ‘अधिकांशले एकल नेतृत्वमा जाने प्रचण्ड प्रस्तावको मूल स्पिरिटको समर्थन गरेका छन्’ एक नेताले अनलाइनखबरसँग भने-’तर, यो प्रचण्डको प्राधिकार हो कि एकल नेतृत्व मात्रै हो भन्नेबारे प्रष्ट पार्न माग भएको छ ।’ के हो प्राधिकार ? कम्युनिष्ट पार्टीहरुको प्रचलनमा मुख्य नेतालाई असीमित अधिकार प्रदान गर्ने कुरालाई ‘प्राधिकार’ भन्ने चलन छ । पार्टीमा जुन व्यक्तिको प्राधिकार हुन्छ, त्यसलाई पछि उसैका नाममा ‘विचारधारा’ किटान गर्ने कम्युनिष्ट प्रचलन छ । पेरुमा त्यहाँको साइनिङपाथले अध्यक्ष गोञ्जालोलाई पार्टीको ‘प्राधिकार’ घोषणा गरेको थियो र पछि ‘गोञ्जालो विचारधारा’ नामाकरण गरेको थियो । नेपालको माओवादी पार्टीले पनि जनयुद्धकालमा प्रचण्डलाई ‘प्राधिकार’ बनाउने सिलसिलामै ‘प्रचण्डपथ’ नामाकरण गरेको थियो । ‘प्रचण्डपथ’ घोषणा गर्ने बेलामा केही नेताले ‘प्रचण्ड विचारधारा’ भनिनुपर्ने आवाजसमेत उठाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष माओका नाममा ‘माओविचारधारा’ घोषणा गरेको थियो । कतिपयले चिनियाँ नेताले त्यसबेला ‘माओवाद’ भन्नुपर्छ भन्ने माग गरे पनि स्वयं माओले आफ्नो योगदानलाई ‘माओवाद’ मान्न नहुने बताएका थिए । तर, माओ स्वयंले माओवाद मान्न नदिए पनि नेपालमा आफ्नो पार्टीको नाम नै ‘माओवादी’ राखेको एमाओवादीले यतिबेला प्रचण्डपथमात्रै छाडेको छैन, माओले अघि सारेको अन्तर्य मानिने दीर्घकालीन जनयुद्ध र नौलो जनवादलाई समेत छाडिसकेको छ । यही छाड्ने क्रमको निरन्तरतामा उसले जनयुद्धबाट बहिर्गमन भएपछि ‘प्रचण्डपथ’लाई छाडेर सामुहिक नेतृत्व प्रणालीलाई अपनाएको थियो । तर, केही वर्षको सामुहिक नेतृत्वलाई छाडेर पुनः एमाओवादी पार्टी प्रचण्डको एकल नेतृत्वमा फर्किएको हो । तर, यो एकल नेतृत्व प्रचण्डको ‘प्राधिकार’तर्फ अघि बढ्ने हो कि भन्ने प्रश्न शनिबार नेताहरुले उहाएका छन् । फाइदा सोझै प्रचण्डलाई पार्टीका बरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराईको स्वेच्छिक पद त्यागपछि उत्पन्न परिस्थितिको फाइदा प्रचण्डलाई पुगेको छ । पार्टीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीको पदसमेत केन्द्रीय सदस्यमा झरेपछि एमाओवादी पार्टी संस्थागत भन्दा पनि पुरानो, स्टालिन मोडेलको एकल नेतृत्व प्रणालीमा फर्किएको छ । यसले प्रचण्डलाई व्यक्तिवादतर्फ अघि बढ्ने मार्गप्रशस्त गरेको छ । खन्ना गार्मेन्टमा नेतालाई के-के सोधियो ? विस्तारित बैठकमा शनिबार १६ वटा समूहका तर्फबाट आफ्नो रिपोर्ट प्रस्तुत गर्दै नेताहरुले डा. बाबुराम भट्टराईको पदत्यागबारे मिश्रति टिप्पणी गरेका छन् । यसले पार्टीलाई रुपान्तरणको प्रक्रियामा लैजानेमा सहमत नेताहरुले पद त्यागले पार्टीलाई के फाइदा गर्छ भनी भट्टराईलाई सोधेका छन् । केहीले भने बाबुरामले बार्गेनिङ गरेको आरोपसमेत लगाए भने केहीले बाबुरामले छाड्नासाथ अरुले किन छाड्नुपर्ने भनी प्रश्न गरे । समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै नेताहरुले बोगटी र अमिक शेरचन आयोगका प्रतिवेदन सार्वजिक गर्न माग गरेका छन् । ‘दुबै प्रतिवेदन अझै सार्वजनिक किन गरिएन भन्ने प्रश्न आएको छ’ एक नेताले भने । केहीले भने स्थायी समितिमा रहेका केही नेताहरु पनि आर्थिक अनियमिततामा मुछिएको र उनीहरुले ब्ल्याकमेलिङ गरेर प्रतिवेदन रोकेको हो कि ? भन्ने प्रश्नसमेत गरेका छन् । एमाओवादीले पोष्टबहादुर बोगटीको नेतृत्वमा लडाकू शिविरमा भएको भ्रष्टाचारबारे र अमिक शेरचनको नेतृत्वमा नेताहरुको सम्पत्ति छानविन गर्न दुईवटा आयोगहरु बनाएको थियो । आयोगले प्रतिवेदन बुझाएको लामो समय हुँदासम्म पनि सार्वजनिक भएको छैन । हेटौडा महाधिवेनमा पनि यी प्रतिवेदनहरु सार्वजनिक नगरी लुकाइएको थियो । खुर्सिदलाई किन भेटियो ? विस्तारित बैठकमा एमाओवादी नेताहरुले हालै नेपाल आएर फर्केका भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न होटलमा लाइन लागेर गएकोमा पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । ‘भारतीय विदेशमन्त्रीलाई भेट्न गएकोमा पनि प्रश्नहरु उठेका छन्’ बैठकमा सहभागी नेताले अनलाइनखबरसँग भने-’कम्तिमा नैतिक मूल्य र मान्यता त ख्याल गर्नुपर्थ्यो । पार्टी कार्यकर्ताहको शीर निहुराउने गरी खुर्शिदलाई किन भेटियो भन्ने प्रश्न पनि उठेको छ ।’ चुनावबारे कम छलफल विस्तारित बैठकमा चुनाबी रणनीति बनाइने दाबी गरिए पनि चुनावको योजना बारे शनिबार बोल्ने ग्रुप नेताहरुले कमैमात्रै कुरा राखेका छन् । नेताहरुले पार्टी नेतृत्व एक ढिक्का भएर अभियानकै रुपमा चुनाव प्रचारमा जुट्न र कम्तिमा प्रतेक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यलाई खटाउन सुझाव दिएका छन् । आइतबारको बैठकमा चुनावको योजना र कार्यविभाजन गरिने बताइएको छ । प्रचण्डको प्रतिवेदनमा चुनावी अभियान तय गरिने र मंसिरमा चुनाव नहुने भए चुनावी अभियानलाई आन्दोलनमा परिणत गर्ने प्रस्ताव छ ।’ विस्तारित बैठक आइतबार पनि जारी रहने छ । बैठकमा संठगनात्मक सम्मेलन मितिबारे पनि छलफल हुने बताइएको छ ।भिडियो मा हेर्नुहोस्

Category:

0 comments