Hindi Films

किन पक्राउ परेका छैनन् गोल्डेनगेट कलेजका सिइओ सिलवाल ?

Unknown | 10:42 | 0 comments

 

केपी ओलीसँग सिलवालको उठबस
 
  • सञ्जय शर्मा
काठमाडौँ, मंसिर २२– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएस अन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा गोल्डेन गेट कलेजका निर्देशक र शिक्षक पक्राउ गरपछि पर्दा भित्र रहेका व्यक्तिहरुको समेत खोजी भइरहेको छ ।
ramesh silwalप्रश्नपत्र ‘आउट’ गर्ने कार्यमा संलग्न गोल्डेनगेट कलेजका सञ्चालक तथा प्राध्यापक देवीराम पाण्डेलाई आयोगले पक्राउ गरेपछि त्यसका वास्तविक सञ्चालक भने यतिखेर आफूलाई जोगाइदिन शक्तिकेन्द्र धाउन थालेको बताइएको छ ।गोल्डेनगेट कलेजका सिइओ हुन् नेकपा(एमाले)का अध्यक्ष केपी ओलीका विश्वासप्राप्त रमेश सिलवाल । त्रिचन्द्र क्याम्पसमा जागिर खाएका सिलवालले एमालेको आडमा पछिल्लो समय सो कलेज सञ्चालनमा ल्याएका थिए । त्रिचन्द्र क्याम्पसमा प्राध्यापकको जागिर खाएपनि हिमालयन ह्वाइट हाउस कलेज सञ्चालन गर्ने सिलवालले शक्तिको बलमा उच्च माध्यामिक शिक्षा परिषद्का उच्च अधिकारीलाई प्रभावका पारेर सन् २००७ मा गोल्डेनगेट कलेज सञ्चालनमा ल्याएका थिए । हिमालयन ह्वाइट हाउस कलेजबाट आफ्नो भागको सेयर लिएर निस्केका सिलवालले हालसम्म पनि त्रिचन्द्र क्याम्पसबाट राजीनामा भने नदिएको र बसी बसी तलब भक्ता खाने गरेको स्रोत बताउँछ ।
लामो समयदेखि ‘स्टिङ अपरेसन’मा रहेको आयोगको टोलीले गोल्डेनगेट कलेजका प्राध्यापकले प्रश्नपत्र दिई रकम लिदै गरेको अवस्थामा पक्राउ परेपछि सिलवाल आफूलाई जोगाईदिन एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बेलुकी आठ बजे र सोमबार बिहान सात बजे पुगेको थिए ।
ओलीले सिलवाललाई धाप दिदै केही नहुने र चुपचाप बस्न भनेको स्रोतको दावी छ । अध्यक्ष ओलीले आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग कुरा गर्ने विश्वास दिलाएका छन् ।
प्रश्नपत्र किनबेचमा संलग्न देखिएका कलेजका अर्थशास्त्रका प्राध्यापक हरिहर भन्ने खेचरनाथ सापकोटा सिल्वालका विश्वासपात्र हुन् । त्रिचन्द्र कलेजमा पढ्न आएका सापकोटा नेपाल विद्यार्थी संघको आवरणमा राजनीति गर्दथे । काँग्रेसका नेताहरुसँग सन्तुलन मिलाउनका लागि सिलवालले सापकोटालाई प्रयोग गर्ने गर्दथे । सिलवालले सापकोटालाई आफू सँगै हिमालयन ह्वाइट हाउस कलेजमा पनि सेयरधनी बनाएर लगेका थिए र पछि १५ प्रतिशतको सेयर दिएर गोल्डेनगेट कलेजमा पनि सहभागी गराएका थिए ।
अर्घाखाँचीबाट बसको भाँडा समेत अरुलाई तिर्न लगाएर काठमाडौँ छिरेका सापकोटा अर्थशास्त्र र रसायनशास्त्रका राम्रा विद्यार्थी भएको र काँग्रेसका नेताहरुसँग उठबस भएका कारण शिक्षाको नाममा व्यापार गर्न सहज हुने देखेपछि सिलावाले प्रयोग गरेका थिए । सन् २००७ मा सो कलेज स्थापना भएपछि विभिन्न तहको परीक्षाको केन्द्र समेत सोही कलेजमा पर्ने गरेको थियो । कलेजको विज्ञापन सित्तैमा हुन्छ भन्दै सिलवालले शक्तिकै प्रयोग गरेर परीक्षा केन्द्र पारिदिन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र अन्य सरकारी तथा गैरसरकारी निकायलाई आग्रह, धम्की सबै दिने गरेका थिए । परीक्षाकेन्द्र पाएपछि देखि नै सिल्वाललगायतको समूहले प्रश्नपत्रको कारबोबार गर्ने गरेको आयोगको छानबिनको क्रममा फेला परेको छ । आयोगका एक अनुसन्धान अधिकृतले नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुसार प्रश्नपत्र बिक्रीको धन्दामा सापकोटा त निमित्त पात्र मात्रै रहेको र खास पात्र त सिलवाल नै रहेको पाइएको छ ।
सिलवालका विश्वासपात्र सापकोटाले मात्रै प्रश्नपत्रको कारोबार गर्न नसक्ने आयोगको अनुसन्धानले देखाएको छ । सिलवालले नै प्रश्नपत्र खरिद विक्री गर्न र त्यसको वातावरण मिलाउने गरेको ती अनुसन्धान अधिकृतको भनाइ छ ।
एमाले अध्यक्ष ओलीका विश्वासपात्र सिलवालले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको लागि रकम उठाउने जिम्मा लिएका छन् । त्यसका लागि उनलाई मोटो रकमको जरुरत परेको थियो । सोही रकम उठाउन सिलवालले सापकोटालाई प्रयोग गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । यसअघि सापकोटाले सिलवालकै निर्देशनमा उच्च माध्यामिक शिक्षा परिषद्बाट लिइने कक्षा ११ र १२ को समेत प्रश्नपत्र विक्री गरी मोटो रकम उठाएका थिए ।
हरेक परीक्षा केन्द्रमा परीक्षा सुरु हुन भन्दा एक घण्टा पहिले नै प्रश्नपत्र पु¥याउने गरिन्छ । त्रिविको समेत नियम यस्तै हो । प्रश्नपत्र पुगेपछि सिलवालको कार्यकक्षमा प्रश्नपत्रको फोटोकपी गर्ने गरिन्थ्यो । फोटोकपीका लागि सिलवालले आफ्नो कार्यकक्षमा फोटोकपी मेशिन समेत राखेका छन् । गोल्डेनगेट कलेजमा अध्यापन गरेका एक शिक्षकका अनुसार सिलवालले आफ्ना विश्वापात्रलाई प्रश्नपत्र फोटोकपी गर्न लगाउने र मोटो रकम लिएर विक्री वितरण गर्न अहउने गरेको ती शिक्षकको भनाइ छ । एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र विक्री गर्दा मोटो रकम आउने भएकाले उनले सापकोटालाई सो कामको जिम्मा दिएका थिए । २०६५ सालदेखि नै सो कलेजमा प्रश्नपत्रको विक्री वितरण गर्ने गरेको आयोगको अनुसन्धानबाट पनि खुलेको छ । रु दश÷दश लाखमा प्रश्नपत्र विक्री गर्दा करोडौ रकम उठ्ने भएपछि सिलवालकै निर्देशनमा सो धन्दा गरिएको भएपनि हालसम्म उनलाई किन आयोगले पक्राउ नगरेको हो आयोगका अनुसन्धान अधिकृत नै प्रतिप्रश्न गर्छन । शनिबार पनि जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा छापिएको प्रश्नपत्र गोल्डेनगेट कलेजमा डेढ घण्टा पहिल्यै पु¥याइएको थियो । प्रश्नपत्र पुगेपछि सिलवालको कार्यकक्षमा नै फोटोकपी गरिएको थियो ।
गोल्डेनगेट कलेजमा एमालेका नेताहरुको समेत सेयर रहेको छ । त्यसका देखिने सिइओ हुन् सिलवाल । उनी केही महिनाअघि मात्रै पुनर्गठन भएको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का महासचिव समेत छन् भने एमाले अध्यक्ष ओलीको गैरसरकारी संस्था मदन भण्डारी फाउन्डेशनका अध्यक्ष समेत हुन् । राजनीतिक दलका नेता तथा उच्च प्रशासकलाई प्रभावमा पारेर विद्यार्थीहरुबाट चर्को शुल्क असुुली गरिरहेको गोल्डेन गेटबाट प्रश्नपत्र ‘आउट’ भए पनि सो घटनामा संलग्न सिलवाललाई भने आयोगले पक्राउ नगर्नुको पछाडि समेत ओलीकै संरक्षण रहेको बताइन्छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एमबिबिएस प्रवेश परीक्षाको तयारी कक्षा चलाउँदै आएका अर्विट इन्टरनेशनल र नेम इन्स्टिच्यूटमा छापा मारी कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै आयोगले प्रश्नपत्र बेच्ने मध्यस्तकर्ता प्रभातकुमार कुशवाहको नखीपोटस्थित निवासमा समेत साँझ छापा मारेको छ । कुशवाहको घरबाट रु एक लाख ४५ हजार नगद र ४५ लाखको चेक बरामद भएको जनाएको छ । आयोगका अनुसार एमबिबिएसको प्रश्नपत्र खण्ड ‘क’ र ‘ख’को १०÷१० पाना विभिन्न परीक्षार्थीलाई दिलाइदिन्छु भन्दै रकम उठाएका थिए ।
आयोग स्रोतका अनुसार प्रश्नपत्र बिक्री गर्ने गिरोहको मिलोमलोमा प्रश्नपत्र आउट भएको हो । अख्तियारको टोलीले परीक्षा केन्द्रनजिकै विक्री भएको प्रश्नपत्र परीक्षा चलिरहेको हलमा पुगेर हेर्दा ‘हुबहु’ भएको फेला परेपछि पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको थियो ।
सरकारी कोटाको छात्रवृत्तिका लागि गत मंसिर ९ गते नै परीक्षा तोकिएको भए पनि सार्क शिखर सम्मेलनका कारण मंसिर २० गते सरेको थियो ।
विगतमा पनि आफूहरुले यसैगरी मन्त्रालयका कर्मचारीसँग मिलेर प्रश्नपत्र बेच्ने गरेको र आयोगको हिरासतमा सापकोटाले बताएका छन् । उनले प्रश्नपत्र विक्री गर्नका लागि आफूलाई गोल्डेनगेट कलेजका सिइओ सिलवालले लगाएको बताएको आयोगका अनुसन्धान अधिकृतको भनाइ छ ।
शिक्षा मन्त्रालयले लिने एमबीबीएस तहको परीक्षाको प्रश्नपत्र समेत बिक्री गर्ने गोल्डेनगेटका सञ्चालकहरु यसअघि उक्त कलेजमा सञ्चालन भएका कैयौं परीक्षामा समेत यसैगरी प्रश्नपत्र विक्री गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । उता, ‘ग्यारेन्टी’ पास गरिदिने भन्दै विद्यार्थीबाट उठाएको पैसा सिता खनाल नाम गरेकी महिलाको नाममा बैंकमा जम्मा भएको देखिएको छ । ‘सिता खनाल को हुन् ?’ भन्ने खुल्नसकेको छैन । सो सम्बन्धमा समेत आयोगले अनुसन्धान गरिरहेको जनाएको छ ।

Category:

0 comments