आमिरले पैसा बटुले, सलमानले साडी बाँडे
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, पुस २० - अंग्रेजी नयाँ वर्ष बलिउडका दुई नायकका लागि विशेष रह्यो । एक आमिर खान, दोस्रो सलमान खान । अन्यत्रै ग्रहबाट एलियनको रूपमा पृथ्वी र त्यसमा पनि भारतमै झरेका एलियन उर्फ आमिरले फिल्म 'पीके' मार्फत् हल्लीखल्ली मच्चाए ।
आमिरका लागि मात्रै नभई पूरा भारतकै लागि यस वर्षको सुरुआत पीकेमय रह्यो । एक त फिल्म रुचाउनेहरू ओइरो लागेर हलमा धाउँदा बक्सअफिसमा पैसाको खोलो बग्यो भने अर्कातिर धर्ममाथिको प्रहार भन्दै केही अतिवादी धार्मिक व्यक्तिहरू फिल्मलाई निषेध गर्दै विरोधमा उत्रिए, आन्दोलन गरे । जे जसरी भए पनि फिल्मको चर्चा भने व्यापक बन्यो ।
फिल्म रिलिजअघि पूरा नग्न शरीरमा एउटा पुरानो ट्रान्जिस्टरले लाज मात्रै ढाकेर पोस्टर लुक्समा झुल्केका आमिरले त्यसपछि फिल्मको पैसा तिरेर खासै प्रचार गर्नुपरेन । त्यसैको असर र फिल्मको गजबको मेकिङले नयाँ वर्षसँगै आमिरलाई सुखद शुभकामना दिएको छ । 'पीके' तेस्रो सातामा चल्दै गर्दा यो सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्न पुग्यो । आमिरकै यसअघिको बिग हिट 'धुम ३' को २ सय ८४ करोड कलेक्सनको रेकर्डलाई आमिरकै पछिल्लो फिल्मले १५ दिनमा तोड्यो । उत्तर प्रदेश र बिहारमा कर छुट पाएकाले पनि पीकेले कमाइमा नयाँ रेकर्ड राखेपछि आमिर पुनः एकपटक चर्चामा आए ।
आमिर र अनुष्का शर्मा अभिनीत 'पीके' ले शुक्रबारसम्ममा मात्रै २ सय ८५ करोड भारु कलेक्सन गरिसकेको छ । तेस्रो सातामा चलिरहेको फिल्मले ग्लोबल बक्सअफिसमा पनि उत्तिकै उधुम मच्चाइरहेपछि आमिरले पैसा बटुलेका बटुल्यै छन् ।
उता टीभी कार्यक्रम बिग बोस सञ्चालन छोड्ने कुराले केही चर्चामा रहेका सलमान शुक्रबार एउटा गाउँका सबै महिलालाई साडी बाँडेर समाचारमा छाए । कुरा हो, मुम्बईदेखि नजिककै हतलुनी नामक एक गाउँको । यो गाउँमा फिल्म 'बजरंगी भाइजान' को सुटिङका लागि पुगेका सलमानले पूरा गाउँलाई नै रंग लगाइदिए ।
नयाँ वर्षलाई विशेष तरिकाले मनाउने क्रममा उनले गाउँलेका घरलाई रंग लगाउनुको साथै महिलालाई साडी वितरण गरेर पनि रंग भरिदिए । बालबालिकालाई भने उनले फुटबल दिएर खेल्न अभिप्रेरित गरे । आखिर यी दुई खान पैसा बटुलेर होस् वा साडी बाँडेर चर्चामा भने राम्रै गरी आए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments