Hindi Films

भूकम्पपीडितका लागि जस्तापता बोकेर हिमानी गाउँगाउँमा

Unknown | 03:41 | 0 comments


| २०७२ जेष्ठ ३ आईतवार, धादिङ : पूर्वयुवराज्ञी हिमानी शाहले धादिङका साढे चारसय बढी घरधुरी भूकम्पपीडितलाई जस्तापात प्रदान गरेकी छन् । 
 
उनीद्वारा सञ्चालित हिमानी ट्रष्टले धादिङका भुकम्प पीडितलाई राहतस्वरुप जस्तापाता वितरण गरेको हो । पूर्वराजपरिवारका सदस्यहरुले भुकम्प पीडितहरुका लागि केही नगरेको गुनासो आइरहेका बेला हिमानी स्वय्म राहत बाँड्न धादिङ पुगेकी हुन् । 
 
दक्षिणी धादिङस्थित तसर्पु गाविस–३, ४, ५, ६ र ७ का ४ सय ६१ घरधुरीलाई हिमानीले जस्तापाता वितरण गरेकी सो गाविसका सचिव लेखनाथ भुसालले जानकारी दिए । गत बैशाख १२ र २९ गते गएको भुकम्पले तसर्पुका करिव ६० प्रतिशत घर भत्किएका छन् । भूकम्पमा तर्पुसका तीनजनाको ज्यान गएको थियो । 
 
भूकम्प पीडितलाई दिँदै पूर्वयुवराज्ञी हिमानीले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने बताइन् । ‘कोही कसैर्ला निषेधको भावमा हेर्नुहुदैन । विपत्ति सबैलाई पर्ने कुरा हो’, उनले भनिन्, ‘विपत्तीले धनी गरिब सानो ठुलो केही भन्दैन । त्यसैले हामी सबै मिलेर यो विपत्तीको सामना गर्नुपर्दछ ।’ 
 
तसर्पुका जनताले हिमानी ट्रष्टलाई चिठी लेखेरै जस्तापाता र राहत मागेपछि आफु यो क्षेत्रमा जस्तापाता लिएर आएको उनले बताइन । गाविसका सबै घरधुरीलाई बाँड्ने योजना भएपनि अपुग भएकाले अहिले ५ वटा वडाम बाँडिएको हिमानीले बताइन् ।
 
‘हामीले सानो सुुरुवात मात्र गरेका हौँ । अहिले छुटेका यो गाविसका भूकम्प पीडितलाई पछि पनि सहयोग गर्छौं । अहिले सबैलाई पुगेन । अहिले प्रतिघरधुरी ६ पाताका दरले जस्ता वितरण गरिएको हो’, उनले भनिन्, ‘विनाशकारी भकम्पका कारण घरवार गुमाएका  पीडितहरुको दुःखलाई थोरै भएपनि कम गर्न सानो प्रयास गरेका हौं ।’
 
यसअघि हिमानी ट्रष्टले काठमाडांै, भक्तपुर लगायतका भूकम्प पीडितहरुलाई राहत वितरण गरिरहेको थियो । जस्तापाता पाएपछि स्थानीय खुसी भएका छन । जस्तापाता बुझेपछि तसर्पुका सोमबहादुर तामाङले भने, ‘जस्ता नभएर रुखमुनी रात बिताउनुपर्ने दिन हटेको छ । अब हामी सवै मिलेर घर बनाउन लाग्छौ ।’
 
जस्तापाता नपाएका अन्य वडाका स्थानियले गाविस सचिवसमक्ष आफुहरुले पनि जस्तापाता पाउनेपर्ने गुनासो राखेका थिए । 

Category:

0 comments