Hindi Films

अरुलाई बचाउन आफ्नो ज्यान गुमाए क्याप्टेन तपेन्द्रले, घरमा बुवा बेहोस

Unknown | 03:59 | 0 comments


फोटो :तपेन्द्र रावलको फेसबुकबाट
सुर्खेत :  दैलेखको नारायण नगरपालिकास्थित सिमाडा गाउँ यतिबेला शोकमा डुबेको छ । भूकम्पपीडितको उद्धार गर्न  नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावलको निधनको खबरले उनको परिवार र गाउँमा अझै आँशु रोकिएको छैन।
 
मंगलबारको शक्तिशाली भूकम्पपछि दोलखामा उद्धारमा गएको अमेरिकी हेलिकोप्टरमा सवार तपेन्द्रको जीवन सोही हेलिकोप्टरमा सकियो । शुक्रबार दिउँसो दोलखा र सिन्धुपाल्चकको सिमानाको घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा अमेरिकन हेलिकोप्टर फेला परेको थियो । 
 
हेलिकोप्टर दुर्घटनामा ३० वर्षीय सेनाका क्याप्टेन रावलको निधनको खबरले उनका ६० बर्षीय बाबु बलबहादुर अहिले बेहोस छन् । 
 
रावल परिवारमा रुवाबासी चलेको छ । गाउँलेलेसमेत तपेन्द्रको अकल्पनीय निधनलाई अझै पत्याउन सकेका छैनन् । शुक्रबार हेलिकोप्टर दुर्घटनामा परेर छोराको निधन भएको खबर सुनेदेखि परिवारका सदस्यले खाना खाएका छैनन् । गाउँले पनि रावल परिवारलाई सान्त्वना दिन जुटिरहेको छ । 
गएको दशैंमा घर आएका तपेन्द्रलाई पुनः भेट्ने परिवारको चाहना अधुरै रह्यो । गत बैशाख २९ गते मंगलबार अन्तिम पटक छोरासँग फोनमा कुराकानी गरेका बलबहादुर बेलाबेला छोराको नाम पुकार्दै चिच्याउँछन् । तर, उनको त्यो आवाज सुनिदिने छोरा संसारबाट विदा भइसकेका छन् । 
 
सानैदेखि इमान्दार स्वभावका तपेन्द्र पढाई अब्बल थिए । विद्यालयमा उनी सधै प्रथम हुन्थ्ये । गाउँलेहरु यतिबेला उनको इमान्दार स्वभाव सम्झेर आँखाभरी आँसु बगाइरहेका छन् । 
 
सहायक सेनानीबाट सेनामा प्रवेश गरेका तपेन्द्रको बिबाह गर्ने सपना पनि अधुरै रह्यो । मेजर पदमा बढुवा भएपछिमात्र घरमा बुहारी भित्राउने बाचा उनले बुबा बलबहादुरसँग गत दशैंमा गरेका थिए ।
 
तर, भूकम्पको झड्कासँगै तपेन्द्रको मेजर बन्ने सपना र परिवारको बुहारी भित्राउने चाहना तुहिन पुगेको छ । ‘दशैंमा घर आएको थियो’, बेलाबेला होसमा आउने गरेका बलबहादुरले गहभरी आँसु पार्दै भने, ‘त्यतिबेला हामीले बिबाह गर्न आग्रह गरेका थियौं । तर, उसले मेजर भएपछि बिहे गर्छु भनेको थियो ।’ 
 
छोराको बिबाह गर्ने सपना अधुरै रहेको भन्दै उनले दैवले पनि आफूहरुलाई हेला गरेको गुनासो गरे । 
 
साथीभाइ र गाउँमा सबैको मन जितेको तपेन्द्रले सानैमा आमालाई गुमाएका थिए । त्यसपछि उनलाई कान्छी आमाले हुर्काइन् । सेनाको १० नम्बर बाहिनीमा कार्यरत तपेन्द्रले दई विषयमा स्नातकोत्तर गरेका थिए । उनी २०६० सालमा सेनामा प्रवेश गरेका थिए । 
सुरुमा डाक्टर बन्ने सपनासहित नेपालगञ्ज झरेका उनी परिवारको आर्थिक अवस्था कमजोर भएकाले सेनामा जागिर खान पुगेका थिए । 
 
बाबु बलबहादुर भक्कानिदै भन्छन्, ‘उसको भाग्य नै कमजोर रहेछ, पहिला डाक्टर बन्ने सपना पुरा भएन, अहिले मेजर बन्ने सपना पुरा नहुँदै दैवले लग्यो ।’ तपेन्द्रको मृत्युको खबरले उनका गाउँले दौतरीका आँखा पनि रसाएका छन् । उनीहरु अहिले पनि तपेन्द्र सकुशल आउने आशा गरिरेका छन् । 

दोलखाको घोर्थलीमा दुर्घटना भएको अमेरिकी हेलिकोप्टमा रहेका दुई नेपाली सैनिकमा तपेन्द्र पनि थिए । छ जना अमेरिकी सैनिकको पनि ज्यान गएको छ । शुक्रबार पाँचजनाको मात्र शव फेला परेकोमा शनिबार बाँकी तीनजनाको पनि शव फेला परेको छ। 

Category:

0 comments