तिम्रो बाबा भोलि आउनुहुन्छ। ‘नाईँ मलाई आजै बाबा चाहिन्छ,’ भन्दै झन् रून थालिन्।
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बुधबार म महाभूकम्पका परी घाइते भएकी आफन्तलाई भेट्न अस्पतालको फिमेल सर्जरी वार्ड पुगेकी थिएँ। त्यही वार्डमा एक जना बालिका रोइरहेकी थिइन्। डाक्टरहरू उनको गाउँ ठाउँ सोधिरहेका थिए।
उनले काशी गाउँ मात्र भन्न सकिन्। तर कहाँ, कुन जिल्ला उनले केही भन्न सकिनन्। आफ्नो स्कूलको नाम श्रीमञ्जु भनिन्। आमाबुवा वा अरू कसैको मोबाइल नम्बर याद छ भनेर डाक्टररुले सोधिरहेका थिए। तर उनले छैन भनिन्। बाबा बाबा भन्दै बेस्सरी रून थालिन्।
डाक्टरहरुले यिनको ख्याल गरिदिनुस् है भनेपछि म उनको नजिक गएँ। कक्षा ५ मा पढ्ने दस वर्षीया ती बालिकाको नाम माया गुरुङ हो। आँसुले भिजेको उनको गाला सुम्सुम्याएँ। निधारको कपाल मिलाइदिएँ र भन्न थालेँ- तिम्रो बाबा भोलि आउनुहुन्छ।
‘नाईँ मलाई आजै बाबा चाहिन्छ,’ भन्दै झन् रून थालिन्। ‘डाक्टर सा’बले तिम्रो बाबाको मोबाइल नम्बर कम्प्युटरमा खोज्नुहुन्छ अनि गाडीबाट तिम्रो बाबा भोलि आउनुहुन्छ,’ भनेँ।
‘मेरो बाबाको मोबाइल नै छैन,’ उनले भनिन्। आमा खोई त? मैले सोधेँ। घरमा छ भन्न थालिन्। उनी एक्लै थिइन्। मलाई हेलिबाट ल्याएको भन्दै फेरि रून थालिन्।
आमा, बुवा, आफन्त कोही पनि साथमा नभएकाले उनी साह्रै आत्तिएकी थिइन्। अस्पतालमा एक्लै हुँदा हामी ठूलाको नै हालत के हुन्थ्यो होला, म मनमनै सोच्दै थिएँ।
१२ गते भूकम्प जाँदा रातभर डरले थरथर कामिरहेको दस वर्षको मेरो छोराको अनुहार म झलझली सम्झिरहेकी थिएँ। मेरो छोराकै उमेरकी ती बालिकाको हात समाउँदै म उनलाई फकाउन सम्झाउन हरसम्भव प्रयास गरिरहेकी थिएँ। तर उनी बाबा बाबा भन्दै डाँको छोडिरहेकी थिइन्। मलाई के गरुँ कसो गरुँ भइरहेको थियो।
त्यसै बेला उनका बाबा आइपुगे। बाबा छोरी अंगालो मारेर रुन थाले। एकछिन् त चलचित्रको कुनै दृश्य हेरेझैँ लाग्यो। छोरी खोज्दै गोरखाबाट आइपुगेका रहेछन् उनी। मलाई यति खुसी लाग्यो कि शब्दमा व्यक्त गर्न अहिले सक्दिनँ। दुई हातले मुख छोपेँ र आँखा बन्द गरेँ आँसु नझरोस् भनेर।
खुसीको चरम सीमामा पुगेको थोरै पलहरु मध्ये एक थियो मेरो लागि बाबा छोरीको त्यो भेट। तर अफशोच! त्यो खुसी मेरो लागि धेरै बेर टिकेन।
मैले थाहा पाएँ उनको एउटा खुट्टा काटेर फालिएको रहेछ। मेरा दुबै खुट्टा काम्न थाले। अर्को कोठामा एक बालकको दुबै हात काटिएको रहेछ। अर्का एकजना विद्यार्थीको खुट्टा काटिएको थाहा पाएँ। म त्यहाँ बस्नै सकिनँ। सर्जरी वार्डबाट बाहिर आएर बसेँ।
त्यहाँ थाहा पाएँ कि ८ कक्षामा पढ्ने एक छात्रको अघिल्लो दिन खुट्टाको शल्यक्रिया भएको रहेछ तर सफल नभएपछि काट्नुपर्ने अवस्था आएको रहेछ। उनकी आमा शब्दविहीन मूर्तिझैँ भएकी थिइन्। म उनको पीडा महसुस गरिरहेकी थिएँ।
मेरो मन छटपटिरहेको थियो। महाभूकम्पमा परी कति बालबालिकाले आफ्नो हात खुट्टा गुमाएका होलान्। तिनका घर भत्किएका होलान्। आफन्त बितेका होलान्। अस्पतालहरुबाट डिस्चार्ज भएर कहाँ जालान्। अभिभावक आफ्नै तनावमा भएको बेलामा मुखबाट जे शब्द वा गाली पनि निस्कन सक्ला।
केही दिनपछि विद्यालय जालान्। उनीहरूलाई अनुकूल हुने वातावरण पाउलान् कि नपाउलान्। साथीभाइले स्कूलमा केही भनिदेलान् कि। यिनै कुराले मलाई अहिलेसम्म पिरोलिरहेको छ।
भूकम्पमा केही नभएका हामी जस्ता परिपक्व त मानसिक त्रास र भयबाट अझै मुक्त हुन सकेका छैनौँ। झन् आफैँले आफैँलाई सम्हाल्न नसक्ने उमेर , त्यसैमाथि शरीरको अंग काटिएका यस्ता बालबालिकालाई मानसिक वा भावनात्मक रुपमा कस्तो असर पारेको होला।
हात खुट्टा नभए पनि जीवनमा धेरै गर्न सकिन्छ भनेर उनीहरुमा आत्मबल बढाउनैपर्छ। साहित्यकार झमककुमारीको उदाहरण दिन सकिएला। दुइटै हात दुइटै खुट्टा नभएका तर आफ्नो साहस र दृढताका लागि … अष्ट्रेलियन योङ्ग सिटिजन अवार्ड 'जित्न सफल निक भ्वोयचिचको कथा सुनाउन र देखाउन सकिन्छ। यस्ता उदाहरण धेरै छन्।
बालबालिकाका लागि काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु छन्। हामीमध्ये नै कोही अभिभावक छौँ। कोही शिक्षक अनि कोही संचारकर्मी छौँ। मनोविज्ञ र विज्ञ छौँ। खुशीसाथ जिन्दगी जिउन सकिन्छ भनेर यस्ता बालबालिकालाई कसरी उत्प्रेरित गर्न सकिन्छ , त्यसतर्फ लागौँ।
संस्थागत वा व्यक्तिगत रूपमा कसरी के के गर्न सकिन्छ, गरिहालौँ। सूचना प्रविधिको प्रयोग गरौँ। जाने बुझेकासँग सोधौँ र सिकौँ। महाभूकम्पबाट त बचे उनीहरू, अब उनीहरुलाई सम्भावित नैराश्यपन र त्यसले पुर्याउन सक्ने क्षतिबाट बचाउन अति आवश्यक छ।
सुब्बा शिक्षा पत्रिकार समूहकी महासचिव हुन्
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments