दुखद खबर,कोरियामा एक नेपाली कामदारको मृत्यु
|
सोल, जेष्ठ २ - दक्षिण कोरियामा आल्मुनियम उद्योगको विस्फोटमा परेर एक नेपाली कामदारको मृत्यु भएको छ । अर्का एक नेपाली गम्भीर घाइते भएका छन् ।
ख्यङगीदो फेन्थेकमा रहेको फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका अतिउल्लाह खान शुक्रबार आल्मुनियमको पोर्मिल धूलो हाल्ने क्रममा विस्फोट भएर घाइते भएका थिए । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सोलमा रहेको हालिम युनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकहरूले खानलाई मृत घोषणा गरेको थियो ।
आल्मुनियमको धूलो विस्फोट भएकोबारे कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनी स्रोतले जनाएको छ । सोलस्थित नेपाली दूतावासका श्रम सहचारी अनिलकुमार गुरुङ घटनालगत्तै त्यहाँ पुगेका थिए । खानको शव यङदम्पोको एक अस्पतालमा राखिएको छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदन आएपछि घटनाको विवरण थाहा हुने सोलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए । प्रतिवेदन सोमबार आउने सम्भावना छ ।
खानसँगै दुर्घटनामा परेका बारा हरैया नयाँ बस्तीका हरि सुवेदी गम्भीर घाइते भएका छन् । त्यहाँ कार्यरत एक नेपाली कामदारका अनुसार सुवेदीको अवस्था चिन्ताजनक छ ।
|
Category: News
0 comments