अस्थायी घर निर्माणका लागि प्राविधिकको टोलीसहित भट्टराई गोरखामा
|
May 16, 2015
गोरखा, जेठ २– एमाओवादी नेता डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा सबै पार्टीहरु एक भएर लाग्नुपर्ने बताएका छन् । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको वैशाख १२ को भूकम्पपछि चौथोपटक गोरखा पुगेका भट्टराईले अहिलेको सरकारबाट आशा गर्न नसकिने र यो विपतका बेला राष्ट्रिय सरकार बनाएर पुनर्निर्माणमा सबै पार्टी लाग्नुपर्ने बताएका हुन् ।
बर्खा काट्ने गरी अस्थायी घर निर्माणका लागि केही प्राविधिक र इन्जिनियरको टोलीसहित भट्टराई शनिबार गोरखा आइपुगेका छन् । गोरखा नगरपालिका–७ सरस्वती उच्चमाविको प्रांगणमा नमुना अस्थायी घर निर्माण कार्य सुरु गरेका भट्टराईले यो अभियान देशभरि नै अघि बढाउन आफू र आफ्नो पार्टी लागिपर्ने बताए । ‘बर्खा सुरु हुनुअघि नै जनतालाई अस्थायी ओतमा राख्नैपर्छ,’ उनले भने, ‘यसमा हाम्रो पार्टीको पूर्ण साथ रहनेछ । विपतले कुनै पार्टी भनेन, अब सबै पार्टी मिलेर पुनर्निर्माणमा अघि बढ्नुपर्छ ।’
सरकारले बनाइदेला भनेर भत्केका घर कुरेर बस्न नहुने र अस्थायी खालको बास बनाउन थालिहाल्नुपर्ने उनको भनाइ छ । ‘यो कछुवाको चालमा हिँड्ने सरकारले गरिखाँदैन । सरकारले तुरुन्तै आएर घर बनाइदेला भन्ने भ्रममा नपर्नुस् । केही राहतका सामग्री देला, घरै बनाइदिने भ्रममा हामी पर्नुहुँदैन,’ उनले भने, ‘अब हामी नै अघि सर्नुपर्छ । सधैँभरि कसले देला र खाउँदा भनी पाल टाँगेर बस्यो भने हाम्रो अवस्था हाइटीको जस्तै हुन्छ । हाइटीमा भूकम्प गएको पाँच वर्षपछिसम्म पनि जनताले पाल टाँगेर बसिरहेका छन् । अब हामी हाइटीको नियति होइन, जापानको विकासको बाटोमा अगाडि बढ्नुपर्छ ।’
जनताले कतिपय ठाउँमा माटोको गारो उठाएर स्थायी निर्माण सुरु गरिसकेको सुन्नमा आएको र त्यसलाई रोकी देशभरि एउटै खालको आवास नीति ल्याएर पुनर्निर्माण अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले अर्कासँग मागेर कोही धनी नहुने र सबै एकजुट भएर पुनर्निर्माण लागे छिटै अघि बढिने बताए ।
‘गैरसरकारी संस्थाले घर बनाइदिने लगायत विभिन्न सहयोग आफैँ गर्ने बताएका छन्,’ उनले भने, ‘दातृनिकायको सहयोगलाई पनि सरकारले नै समन्वय गर्नुपर्छ । दुःखमा दाताको सहयोग लिनु सामान्य हो । तर, मागेर कोही धनी हुँदैन । अब हामीले हाम्रै स्रोत र साधनको भरपुर उपयोग गर्नुपर्छ ।’
|
Category: News
0 comments