Hindi Films

हिमालय एयरलाइन्सको एयरबस भोलि आउँदै

Unknown | 00:21 | 0 comments


चैत ३० देखि व्यवसायिक उडान, पहिलो गन्तव्य दिल्ली

Himalaya Airlines

२५ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो एयरबस नेपाल भित्र्याउने भएको छ । कम्पनीको ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ ।
तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । यही चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताए ।
‘विमान आउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी व्यवसायिक उडान सुरु गर्छौं,’ केसीले भने- ‘हाम्रो पहिलो उडान दिल्लीमा हुनेछ र सोही दिन कतारको दोहामा दोस्रो उडान हुनेछ ।’
हिमालयको विमान ३० गते विहान ११ बजे काठमाडौंबाट भारतको नयाँँदिल्ली उड्ने तालिका छ । दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं फर्किएर राती ८ बजे दोहातर्फ उड्नेछ । अर्को दिन विहान सवा ७ बजे दोहाबाट काठमाडौं अवतरण गर्ने छ ।
हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । अहिले सो एयरबस चीनको चेङ्दुमा रहेको छ । यसअघि नै व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको कम्पनीले भूकम्पका कारण कार्यतालिका सारेको थियो ।
दोस्रो विमानबाट चीन उडान
हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । अर्को चरणमा १२८ सिट क्षमताको ए३१९ विमान ल्याएर चीनको चेङ्दू, ल्हासा र बेइजिङ उडान भर्ने महाप्रबन्धक केसीले जानकारी दिए । उनका अनुसार यो जहाज लगातार ७ घण्टा उड्न सक्छ ।
कम्पनीले सन् २०१६ मा दुई जहाजबाट छिमेकी मुलुक चीन र भारतका पाँच गन्तव्यमा उडान भर्ने कार्ययोजना बनाएको छ । सन् २०१७ मा थप दुई एयरबस जहाज भित्र्याएर उडान विस्तार गर्ने योजना कम्पनीको छ । दुइवटा एयरबस थपेपछि कम्पनीले हङकङ, बैंकक, कोलम्बो, अहमदाबाद, मलेसीया, सिंगापुर लगायतका सम्भावित गन्तव्यहरुमा उडान गर्ने योजना छ । तिब्बत एयरलाइन्सको सहकार्य रहेको हुँदा हिमालयले काठमाडौं-ल्हासा उडानलाई नै प्राथमिकतामा राखेको छ ।
यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको ‘फ्लाई यती’ को नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएर साढे दुई अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिएको हो । हिमालयमा एचआइएफ एभियसन इन्भेष्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेष्टमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ । कम्पनीमा ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी छ ।

Category:

0 comments