Hindi Films

काठमाडौंका चोक-चोकमा ‘स्मार्ट ट्राफिक ’

Unknown | 00:52 | 0 comments

७ असार, काठमाडौं । काठमाडौंका मुख्य सडकका चोकहरुमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’ राख्न थालिएको छ । पुराना आइल्याण्डलाई झिकेर नयाँ र आधुनिक किसिमको आइल्याण्ड राख्न सुरु गरिएको हो ।
ट्राफिक प्रहरीका सहप्रवक्ता राजेन्द्र भट्टकाअनुसार २० वटा चोकमा यस्ता आइल्याण्ड जडान भइसकेको छ भने अब थप १० वटा चोकहरुमा जडान गरिनेछ । पहिले जस्ताले छाएका आइल्याण्ड मुनि उँभिएर ट्राफिक प्रहरीले यातायात व्यवस्थापन गर्दथे ।

पुराना आइल्याण्ड बिभिन्न कम्पनिहरुले सहयोग गर्दथे र त्यसमा आफ्ना विज्ञापन राख्दथे । अब ति पुरानालाई हटाएर स्मार्ट किसिमको आइल्याण्ड राख्न सुरु भएको हो । विदेशमा प्रयोग हुने किसिमको आधुनिक आइल्याण्ड नेपालमा पनि प्रयोग सुरु भएको हो ।

हेर्दा पनि चिटिक्क देखिने नयाँ आइल्याण्डले सहरी सुन्दरता प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । यसमा बसेर ट्राफिक व्यवस्थापन गर्न पनि प्रहरीलाई सहज हुनेछ । सिसा पनि जोडिने ‘पहिले भन्दा यो ट्राफिक प्रहरीलाई सुविधाजनक र सुरक्षित छ,’ सहप्रवक्ता भट्टले भने, ‘यो आइल्याण्डमा सिसा पनि जडान गरिनेछ । जसबाट ट्राफिक प्रहरीलाई पनि धुँवा-धुलोका कारण स्वास्थ्यमा पर्ने प्रत्यक्ष प्रभाव कम हुनेछ ।’

 यो आइल्याण्ड भित्र बस्ने भाग पहिलेको भन्दा अग्लो छ । यसै कारण ट्राफिक प्रहरीले टाढासम्म रोकिएका सवारीहरु सजिलै देख्न सक्नेछन् । लैनचौर, केशरमहल, पुतलीसडक, माइतीघर, कमलपोखरी, बानेश्वरलगायत २० प्रमुख चोकमा स्मार्ट आइल्याण्ड राखिसकिएको छ । नयाँ आइल्याण्ड पहिलेको जस्तो लाम्चो आकारको छैन गोलो आकारको ट्राफिक प्रहरीले विभिन्न सामग्री राख्न मिल्ने बक्स पनि जडान गरिएको छ । यसमा प्राथमिक स्वास्थ्य उपचार सामग्री पनि राख्न मिल्ने गरी घर्रा जडान गरिएको छ ।

 यो स्टिलबाट बनेको आइल्याण्ड हो । सडक विभाग र काठमाडौं महानगरपालिकासँगको समन्वयमा एक निजी कम्पनी प्रिफेक नेपालले यसलाई जडान गरेको हो । यसमा सोलार सिस्टमबाट बत्ती पनि जडान गरिएको छ । यसमा विज्ञापन राख्न महानगरपालिकाले अनुमति दिएको छ ।
 व्यवसायिक प्रयोजनकै लागि यसलाई जडान गरिएको भएपनि ट्राफिक प्रहरीलाई पहिलेको भन्दा सहज भएको छ भने सडकको सुन्दरता पनि बढेको छ ।

Category:

0 comments