Hindi Films

पुरुषका आठ गुण

Unknown | 22:59 | 0 comments




संसारमा जीवको सृष्टिसँगै महिला र पुरुष गरी दुई जात बने । ती दुईको सम्बन्धबाट जीवनको विस्तार हुँदै गयो । मानिस तथा जनावरमामात्र हैन कतिपय रुखबिरुवामा समेत भाले र पोथी गरी दुई जात छन् । प्रकृतिले नै ती दुई जातलाई कतिपय अलगअलग काम लगायो भने कतिपय समाजले महिला र पुरुषको कार्य विभाजन गर्य ।
प्रकृतिले छुट्याएका काम अझै पनि जस्ताको तस्तै सम्पादन दुवैथरिले गर्दै आएका भए पनि समाज र मानवजातिले लगाएका काममा भने समयअनुसार परिवर्तन हुँदै आएको छ । विभिन्न धर्मशास्त्र तथा समयअनुसारका अरु नीति–तर्कशास्त्रले मात्र नभई साहित्यले समेत स्त्री र पुरुषलाई सामाजिक गुणका आधारमा विभाजन गरेको छ । मुख्यतया स्त्रीलाई सौन्दर्य, माया, वाणी, कोमलता, क्षमा आदिजस्ता गुणका आधारमा हेरियो भने पुरुषलाई वीरता, पराक्रम, नेतृत्व तथा उद्यमशीलाता आदिजस्ता गुणले हेर्ने काम भयो । हुन त यी दुवै प्रकारका गुण दुवै जातिमा पाइन्छ, तर पनि हजारौँ वर्षसम्म समाजमा यो परम्परा बन्यो र अझै छँदैछ । गुणको आधारमा फरक गर्ने काम विकासशील राष्ट्रमा मात्र नभई अत्यन्त विकसित राष्ट्रमा पनि उत्तिकै भएको पाइन्छ ।

यसरी प्राकृतिकरूपमा आएको भन्दा फरक ढंगले शास्त्रले गुण विभाजन गर्दा स्त्रीका गुणलाई ऐश्वर्य भनियो, जुन सातप्रकारका हुन्छन् । तर, पुरुषका गुण भने प्रकृतिसँगै जोडेर बनाइयो । शास्त्रीय भाषामा प्रकृति भनेको पञ्चमहाभूत पृथ्वी, जल, आकास, वायु र अग्नी तथा मन, बुद्धि र अहंकार गरी आठ तŒवको सम्मिश्रण हो । यही आठ तŒवमध्ये जुन गुण बढी हुन्छ, त्यो पुरुष त्यही गुणको अधीनमा रहन्छ । जुन गुणको प्रधानता हुन्छ, पुरुषले त्यही गुणअनुसारको कर्म गर्छ । ती प्राकृतिक पुरुष गुण कस्ता हुन्छन् त ?

पृथ्वी स्वभाव भएका पुरुष सुव्यवस्थित हुन्छन्, स्थिर स्वभावका हुन्छन्, कर्ममा विश्वास गर्छन् । भोगविलासमा बढी लाग्छन् । उनीहरू धेरै हदसम्म रजोगुण र तमोगुणको बीचतिरको जीवननिर्वाह गर्छन् । लोभ, स्वाद, पद उनीहरूको रहर हुन्छ र समाजको विकासमा लागिरहन्छन् । उनीहरू सांसारिकरूपमा खुसी र अध्यात्मिकरूपमा दुःखी जीवन बिताइरहेका हुन्छन् । खोज अनुसन्धानमा लाग्ने, धर्मलाई अन्धविश्वास हो भन्दै सबै विज्ञान हो भन्ने विचार तिनको हुन्छ । आजका सबै पुरुषमा धेरथोर यो गुण पाइन्छ । राजनीतिकर्मी, शिक्षक र अनुसन्धानकर्ता यो श्रेणीमा पर्छन् । तर, यस्ता पुरुष निश्चित गन्तव्यमा पुगेपछि प्रकृतिको अर्को गुणतर्फ आकर्षित हुन खोज्छन् ।

जल स्वभावका पुरुष मीठो बोलेर अरुलाई बसमा पार्ने, मीठो खानुपर्ने र रमाइलो धेरै गर्नुपर्ने खालका हुन्छन् । यिनीहरू भोलिबारे कममात्र चिन्ता गर्छन् । बचत गर्नुपर्छ भन्ने उनीहरूको विचार हुँदैन । कलाकार व्यवहारका यी पुरुष अरुको निन्दाचर्चा गर्दैनन् र आफ्नो निन्दाचर्चा अरुले गरेको पनि मन पराउँदैनन् । काममा नियमित नहुने हुँदा यस्ता मानिस जागिर वा उद्यममा खासै सफल हुँदैनन् । हाँसोठट्टामा धेरै समय बिताउने यस प्रकारका मानिसको अरुले कमै विश्वास गर्छन् । कलाकार, मूर्तिकार र गायक यो कोटीमा पर्छन् । बचतको अभावले यिनको जीवनको पछिल्लो पाटो विपन्नतामा बित्छ ।

अग्नि स्वभावका पुरुष नेतृत्वदायी भूमिकामा पुग्न आतुर हुन्छन्, यिनीहरूको स्वभाव चञ्चल हुन्छ, हमेसा नयाँ कुराको खोजीमा हुन्छन् । यिनीहरू तिखो बोल्ने हुँदा यदाकदा विवादमा आउँछन्, स्वभावैले भोक सहन नसक्ने तथा भोकाउँदा धेरै र जे पनि खाने बानी हुन्छ । क्रूर स्वभावका हुनेहुँदा माथिल्लो तहमा पुगे पनि टिकिरहन भने सक्दैनन् । अरुको अस्तित्व स्वीकार गर्न गाह्रो मान्ने उनीहरू धेरै स्थानमा लुकेर बस्ने चरित्रका हुन्छन् । तर, जब आफ्नो पालो आउँछ तब कसैलाई नछाड्ने खालका हुन्छन् । उनीहरू धार्मिक स्वभावका हुन्छन् र अन्धविश्वासी पनि हुन्छन् । उनीहरूलाई अरुले कुरा बुझाउन कठिन हुन्छ । आफूले भनेको कुरा अरुले नमानेमा रिसाउने र ती मानिससँग शत्रुता मोल्ने यस्ता पुरुषको स्वभाव हुन्छ । सरकार, सेना र प्रहरीका उच्च पदमा हुने पुरुषमा यो गुणको बाहुल्यता पाइन्छ ।

वायु स्वभावका पुरुष चञ्चल, दुब्ला र भ्रमणशील हुन्छन् । यस्ता मानिस एकै स्थानमा कर्म गर्न नचाहने हुन्छन् । धेरैजसो व्यापारीमा यो गुणको प्रधानता पाइन्छ । चाँडै रिसाउने पनि वायु स्वभावको गुण भएकाले उनीहरू कुनै पनि बेला अप्ठेरोमा पर्न सक्छन् । यही किसिमको कर्म–व्यापार गर्नुपर्छ भन्ने नभएकोले उनीहरू जे पनि गर्न अघि बढ्छन् । घर पनि परिवर्तन गरिरहन्छन् र पेशा पनि । आफ्नो पेशामा जति समर्पित भए पनि यो गुणप्रधान पुरुष झुट बोल्छ । आफ्नोमात्र स्वार्थमा कार्य गर्ने हुँदा यस्ता पुरुषबाट अरुलाई घाटा हुन्छ ।

आकास स्वभावका पुरुष काममा निपुण हुन्छन् । उनीहरू खुल्ला विचार र उच्च तथा प्रभावशाली भाषण गर्न सक्ने हुन्छन् । यो स्वभावका पुरुष कुशल प्रशासक, गतिशील नेता र प्रभावकारी शिक्षक हुन्छन् । यो स्वभावमा अग्नि तŒवका सकारात्मक गुण मिसिएको खण्डमा त्यो पुरुष अत्यन्त प्रभावशाली हुन्छ । सानातिना समस्यामा विचलित नहुने र कार्यलाई निरन्तरता दिने भएकाले यस्ता पुरुष सफल हुन्छन् । स्पष्ट विचार, धार्मिक भावना, सहयोगी र क्षमताका कारण यस्ता पुरुषका पछाडि धेरथोर मानिस सदैव हुन्छन् । उनीहरू पनि अरुलाई ध्यान दिन कहिल्यै चुक्दैनन् ।

माथिका पञ्चमहाभूतसँग सम्बन्धित गुणका पुरुषलाई प्रकृतिका अरु तीन तŒव मन, बुद्धि र अहंकारका आधारमा पनि पृथक बनाएको पाइन्छ । मनले देवताको गुणको प्रतिनिधित्व गर्छ भने बुद्धिले मानिसको गुणको । अहंकारले दानव गुणको प्रतिनिधित्व गर्छ । यी तीन नै सत्व, रज र तम गुणको आधार पनि हुन् । मन स्वभावका पुरुष देवतातुल्य हुन्छन् । शास्त्रका ज्ञाता, सत्मार्गमा लागेका उनीहरू समाजमा राम्रो व्यवहारको प्रचारमा लागेका हुन्छन् । उनीहरू त्यागी हुन्छन् । सामान्य क्रोध उनीहरूसँग भए पनि त्यसले कसैको केही बिगार्दैन । सबैसँग समान भाव राख्छन् र धर्मको रक्षामा आफूलाई समर्पित गर्छन् । उनीहरूको स्वभाव र भोजन दुवै सत्वगुणको हुन्छ । सेवा उनीहरूको आदर्श हुन्छ । जीविकाका निम्ति अरुमा भर पर्दैनन् । सत्य बोल्छन् र सामान्य जीवन बाँच्छन् । अरुको लागि युद्धै गर्नुपरे पनि निस्वार्थ ढंगमा गर्छन् । आफ्नो स्वार्थ नहुने र अरुको सेवामा तत्पर हुने हुँदा यस्ता पुरुष सबैको आदर्श हुन्छन् ।

बुद्धि स्वभावका पुरुष संगीतमा भिज्ने, राम्रो कपडा लगाउन मन पराउनेखालका हुन्छन् । कर्मयोगी उनीहरू साथी र नातागोताका सहयोगी हुन्छन् । कसैको दुःख हेर्न नसक्ने, ठीक–बेठीकबीच भेद गर्न सक्ने शक्ति हुन्छ । यो स्वभाव भएका पुरुष नेतृत्व तहमा भन्दा अलि तल बीचको स्तरमा बसेर काम गर्न रूचाउँछन् र सफल पनि हुन्छन् । रजोगुण प्रधान यस्ता पुरुषको खानामा चिल्लो, अमिलोको मात्रा बढी हुनेहुँदा रोगी हुन्छन् । अहिले संसारमा भएका अधिकांश पुरुष यही गुणमा आश्रित छन् । धन कमाउनु, परिवारका लागि खर्च गर्नु, रमाइलो गर्नु यो गुणका पुरुषको दिनचर्या हो । धर्म, पाप, झगडा, माया सबै यी गुणका पुरुषमा धेरथोर पाइन्छ ।

अहंकार स्वभावका पुरुष चाँडै रिसाउने, दुष्ट र रिस पछिसम्म राखी बदलाको भावमा काम गर्ने हुन्छन् । पापकर्ममा सदैव तत्पर यी हतियार संग्रह गर्छन् र डरधाकको जीवन बाँच्न चाहन्छन् । परिवार, समाजप्रति खासै वास्ता नगर्ने, धर्ममा विश्वास नगर्ने, कालो धन्दा र गलत व्यवसायमा लाग्छन् । केही समय राम्रो गरे पनि उनीहरूको जीवनको पछिल्लो समय कठिन हुन्छ । उनीहरूलाई राम्रो लगाउन र मीठो खान नपर्ने हुँदा हेर्दा पनि सारै सामान्य हुन्छन् । तामसी गुणयुक्त पदार्थ खानाले के ठीक, के बेठीक भन्ने छुट्उयाउन सक्ने शक्ति नास भैसकेको हुन्छ ।

माथिका कुनै एकमात्र स्वभाव भएको पुरुष समाजमा हुन सक्दैन । कुनै पुरुष जन्मँदा उसले स्वभाव साथमा लिएर जन्मँदैन । ऊ हुर्केको वातावरण, पाएको शिक्षा तथा उसले काम गर्ने स्थान र कामको प्रकृतिले समयअनुसार गुण परिवर्तन हुन्छ । तसर्थ, कसैलाई यो मानिस यस्तो भन्नेभन्दा पनि उसलाई प्राप्त वातावरणमा ध्यान दिनु जरुरी हुन्छ । कसैको गुण परिवर्तन गराउनुपर्यो भने पनि वातावरणमा परिवर्तन ल्याइदिनु जरुरी हुन्छ । 



Category:

0 comments