रौतहटका घरघरमा भारतीय मोबाइल फोन
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१२ माघ, रौतहट । नेपाली मोबाइलन कम्पनीहरुले आफ्नो सेवालाई देशभर पुर्याएको बताइरहँदा रौतहटका अधिकांश्ा गाविसमा भने भारतीय फोनको प्रयोग बढिरहेको छ ।
रोजगारी गर्न भारत र खाडी मुलुक गएका आफन्तसँग सस्तोमा कुरा हुने लोभमा अधिकांशले भारतीय मोबाइल फोन प्रयोग गरेका हुन् । रौतहटको हजमिनिया, भेडियाई, गम्हरिया बिर्ता, राजपुर फरहदवा, औरया, सरुअठा, राजपुर तुल्सीलगायत ६० भन्दा बढी गाविसका बासिन्दाका घरमा भारतीय कम्पनीका मोबाइलका एन्टेना देख्न पाइन्छ ।
गैरकानुनी भारतीय फोन र मोबाइलका कारण नेपाली रुपैयाँ भारततर्फ गइरहेको छ । भारतीय मोबाइलको सिमकार्ड, एन्टेना र रिचार्ज कार्डहरू नेपाली बजारमै खुलेआम बिक्री भइरहँदा पनि सम्बन्धित निकाय मौन छ ।
दश रुपैयाँदेखि एक सय रुपैयाँसम्मका विभिन्न भारतीय मोबाइल कम्पनीका सिमकार्ड रौतहटको गौर, गरुडा, शिवनगर, कटहरिया लगाएका स्थानीय बजारमा बिक्री हुने गरेको छ । भारतीय सञ्चार निगम लिमिटेड (बिएसएनएल), एयरटेल, स्मार्ट, रिलायन्स, टाटा-डोकोमो लगायतका भारतीय मोबाइल कम्पनीहरूको एन्टेना घरमा राखेको पाइन्छ । रोजगारीका लागि खाडी मुलुक तथा भारत गएकाहरूले फोन गर्दा सस्तो पर्ने उनीहरूको भनाइ छ ।
भारतीय कम्पनीको मोबाइलबाट विदेश फोन गर्दा ५० पैसादेखि दुई रुपैयाँमा हुने राजपुर तुल्सी गाविस निवासी भारतीय कम्पनीका मोबाइल प्रयोगकर्ता मोहम्मद अन्सारीले बताए । सुरक्षा प्रमुखदेखि नेपाल टेलिकमका कर्मचारीलाई गैरकानुनीरुपले भारतीय कम्पनीका मोबाइल चलाएको थाहा भएर पनि सबै मौन छन् ।
भारतीय कम्पनीका मोबाइल नेपालमा प्रयोग हुनाले शान्तिसुरक्षामा चुनौती थपिएको जिल्लास्थित एक सुरक्षा अधिकृतले बताए । राजपुर फरहदवा-७ रहेको ३ सय घरमध्ये २ सय ५० परिवारले भारतीय मोबाइल प्रयोग गर्ने गरेको स्थानीयबासी बताउँछन् ।
भारतीय कम्पनीका मोबाइल फोन व्यवस्थित गर्न जरुरी रहेको छ । भारतीय मोबाइल प्रयोगकर्ताहरू बढ्दा करोडौँ रुपैयाँ बर्सेनी भारत गइरहेको नेपाल टेलिकम रौतहटका एक कर्मचारीले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments