Hindi Films

‘बाह्र नेपाली, एक चिहान'लाई सेन्सरको स्वीकृति

Unknown | 04:00 | 0 comments

काठमाडौं– लामो समयसम्म सेन्सर बोर्डको अवरोध खेपेको नेपाली फिल्म ‘बाह्र नेपाली, एक चिहान' अन्ततः सेन्सरबाट पास भएको छ। सेन्सर बोर्ड सदस्यले गत बिहीबार फिल्म हेरी फिल्म प्रदर्शनयोग्य भएको प्रमाणपत्र प्रदान गरेका छन्। फिल्मले बालबालिकाले अभिभावकका साथ हेर्न जानुपर्ने गरी ‘पिजी' प्रमाणपत्र पाएको निर्देशक अरुण प्रधानले जनाए। २०६१ सालमा वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेका १२ नेपालीको हत्यामा आधारित फिल्मलाई मृतकको परिवारले गरेको पत्राचारका आधारमा सेन्सर बोर्डले पोहोर भदौ २५ गते फिल्मलाई सेन्सरका लागि सिफारिस नगर्न चलचित्र बिकास बोर्डलाई पत्राचार गरेको थियो। बोर्डले फिल्मको प्रोमोसमेत अनलाइनहरूबाट हटाउन चलचित्र विकास बोर्डलाई आदेश दिएको थियो। फिल्मले अमेरिकामा चलिरहेको मुद्दा प्रभावित हुने भन्दै पीडित परिवारले फिल्म प्रतिबन्धको माग गरेका थिए।
मृतकका आफन्त, सेन्सर बोर्ड सदस्य तथा निर्देशकबीचको बैठकले फिल्मले मुद्दा प्रभावित हुने दृश्य भए, त्यसमा पुनर्विचार गर्ने सहमतिमा सेन्सर फिल्म हेर्न राजी भएको थियो। तर फिल्ममा मुद्दा प्रभावित हुने कुनै दृश्य नभएपछि केही दृश्यलाई काँटछाँट गर्ने निर्देशनसहित फिल्मलाई प्रदर्शनको अनुमति दिइएको हो। निर्देशक अरुण प्रधानले सेन्सर फुकुवा भएसँगै फिल्मलाई मंसिर महिनामा रिलिज गर्ने तयारी भइरहेको जानकारी गराए। संगीता प्रधान निर्माता रहेको फिल्ममा राजन खतिवडा, उत्तमजंग लिम्बु, विक्रम सिंह, जतिन ताम्राकार, रवीन्द्र झा, रामभजन कामत, घनश्याम मिश्र आदिको अभिनय छ। फिल्म आगामी असोज ५ मा हङकङमा पुनः प्रदर्शन हुँदैछ भने नेपालको सार्वजनिक प्रदर्शनअघि मकाउ र सिंगापुरमा पनि प्रदर्शन हुनेछ।

Category:

0 comments