Hindi Films

यस्तो बन्ने छ पोखरा क्षेत्रीय विमानस्थल

Unknown | 23:11 | 0 comments

 


वैशाख ७, २०७३- कुनै बाधा/अवरोध नभए अबको चार वर्षपछि पोखरामा बन्ने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमानको आवतजावत सुरु हुने पक्का छ ।
यहाँबाट बढीमा ५/६ घन्टासम्मको हवाई दूरी रहेका भारतीय तथा चिनियाँ सहरहरूसहित बैंकक, ढाका, क्वालालमपुर, दोहा, हङकङ, भुटान सम्मका क्षेत्रीय गन्तव्यबाट बोइङ ७५७ र एयरबसको ए ३२० सम्मको सिरिजका जहाजले उडान भर्ने छन् ।
यी जहाजले कम्तीमा १ सय ५० देखि २ सय हाराहारीसम्म यात्रु ओहोरदोहोर गर्ने क्षमता राख्छन् । उड्डयन क्षेत्रमा यी विमानलाई ‘मिडियम रेन्ज’ का विमान मानिन्छ ।
यो विमानस्थल पृथ्वी राजमार्गबाट १ दशमलव २ किलोमिटर पर छ । यसलाई राजमार्गसँग जोडिने छ । यसको धावनमार्गको लम्बाइ २ किलोमिटर ५ सय मिटर रहने छ ।
यो काठमाडौंको धावनमार्गको दाँजोमा ५ सय ५६ मिटर मात्रै छोटो हो भने अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलको धावनमार्गको लम्बाइको दाँजोमा १ हजार ५६ मिटर लामो हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले यहाँको धावनमार्गको चौडाइ ४५ मिटर रहने बताउँदै रन–वे सिमेन्ट कंक्रिट रहने बताए । सिमेन्ट कंक्रिट प्रयोग हुने धावनमार्ग अलकत्राको दाँजोमा बलियो हुन्छ ।
यसको एप्रोनमा ६ वटा विमान पार्किङ गर्न सकिने छ । विमानस्थलमा १० हजार वर्गमिटर क्षेत्रफलको आन्तरिक र ५ हजार वर्गमिटर क्षेत्रफल भएको बाह्य गरी दुइटा टर्मिनल भवन बन्ने छन् ।
जेट विमान एप्रोनमा आइसकेपछि बोडिङ ब्रिज (टर्मिनलबाट सिधै जहाजमा यात्रु जान मिल्ने बाटो) ले जेट विमानलाई टर्मिनल भवनमा सोझै जोड्ने छ । अहिले काठमाडौंमा जस्तो नेपाल वायु सेवा निगमले सञ्चालन गरिरहेका सिँढी जडान भएको गाडी विमानको ढोकामा जोडिने छैन । र यात्रुले पार्किङ–वेबाट बस चढेर टर्मिनल भवनसम्म आउनुपर्ने झन्झट पनि रहने छैन ।
अर्थ मन्त्रालयका अनुसार यो विमानस्थल बनाउन २२ अर्ब रुपैयाँ लाग्ने छ । निर्माणका लागि चीनको एक्जिम बैंकले ऋण उपलब्ध गराएको छ ।
प्रधानमन्त्री ओलीले हालै गरेको चीन भ्रमणमा २ देशबीच भएको ऋण सम्झौताले प्रक्रिया अघि बढेको संकेत गरिसकेको छ । प्राधिकरणका अनुसार चीन सरकारले उपलब्ध गराउनेमध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र बाँकी २५ प्रतिशत रकम चिनियाँ सरकारको निब्र्याजी ऋण लगानी हुने छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीका अनुसार दसैंपछी निर्माण सुरु हुने छ । ४ वर्षमा निर्माण सक्ने प्रतिबद्धता जनाउँदै यसको ठेकेदारका रूपमा चिनियाँ निर्माण कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी’ छनोट भइसकेको छ ।
कम्पनीकी अध्यक्ष लाउ एन नयाँ वर्षका दिन शिलान्यास कार्यक्रममा पोखरामै आइपुगेकी थिइन् ।
वैशाख १ गते प्रधानमन्त्री केपी ओलीले यसको शिलान्यास गरेका हुन् । उनले तत्कालै डिजाइन बनाएर निर्माणको काम थाल्ने भनेकी छन् । आयोजना प्रमुख अधिकारीका अनुसार प्रस्तावित क्षेत्रीय विमानस्थलको डिजाइन र विस्तृत अध्ययन प्रतिवेदनको कार्य बाँकी नै छ । उनले यो विमानस्थल अत्याधुनिक हुने बताउँदै नेपालमा हालसम्म यस्तो विमानस्थल नरहेको बताए ।
विमानस्थल भएपछि मौसम र भिजिबिलिटीको कुरा जोडिन्छ नै । अन्य विकसित देशमा पाइलटहरूको धावनमार्गसँग भिजवल कन्टेक्ट टुटेपछि उपकरण (आईएलएस) प्रविधिको माध्यमले जहाजलाई शून्य भिजिबिलिटीमा पनि (एप्रोच) अवतरण गराउँदै आएका छन् ।
तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आईएलएस (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम) मा जोडिन सकेको छैन । तर, पोखराको एप्रोज सिस्टम आईएलएस हुने छ ।
प्राधिकरणका महानिर्देशक गौतमले पोखरामा इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टमअन्तर्गत क्याट–वान (पहिलो वर्ग) को प्रविधि रहने बताए ।
यो प्रविधिमा तीन डिग्रीका दरले झुकेर अवतरण गरिरहेको जेट विमानले ककपिटबाट कम्तीमा सिधा ५ सय ५० मिटर र जहाजको तल/माथि को भिजिबिलिटी ६० मिटरसम्म देखे अवतरण गराउन सकिने छ । यो एप्रोच प्रणाली काठमाडौं विमानस्थलमा छैन ।
यहाँ भीओर–डीएमई रेडियो नेभिगेसन प्रणालीले ठूला विमानहरूलाई धावनमार्गसम्म ल्याइदिन्छ । त्यसपछि चालकहरूले उपकरणको सहायताबिना म्यानुअल विधिबाट अवतरण गरी ट्याक्सी–वे हुँदै पार्किङ–वेमा जहाज ल्याइपुर्‍याउँछन् ।
भीओआर भनेको भीएचएफ ओम्नी डिरेक्सनल रेडिएसन प्रणाली हो यसले जहाजलाई धावनमार्ग नजिकको दिशानिर्देश गरिदिन्छ भने डीएमई भनेको डिस्टेनस मेजरिङ इक्युपमेन्ट हो । यो प्रविधिले विमानस्थलदेखि जहाजसम्मको दूरी मात्रै देखाइदिन्छ ।
पोखराको अहिलेको आन्तरिक विमानस्थलमा भीओआर–डीएमई एप्रोच प्रणाली पनि छैन । पाइलटहरूले जीपीएस हेरेर जहाज अवतरण गराउँछन् ।
अहिलेको विमानस्थलको टर्मिनल भवन, जहाजको पार्किङ–वे, धावनमार्गको क्षमता अत्यधिक न्यून भएको पोखरेलीले महसुस गरेपछि २०३२ सालमा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनाउन ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
तर, विमानस्थल निर्माण प्रक्रिया रोकिँदै आएको थियो । ०७० पछि प्राधिकरणले थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरेपछि निर्माण प्रक्रिया पनि साथसाथै बढेको थियो । पछिल्लोपटक सरकारले थप अधिग्रहणका लागि मात्रै ३ अर्ब रुपैयाँ मुअब्जामा खर्च गरेको छ ।
परियोजनाका अनुसार यसपटक जग्गा अधिग्रहण गर्दा कम्तीमा २० देखि ६७ लाख रुपैयाँ प्रतिरोपनी मुआब्जा वितरण गरिएको छ । तर, २०३२ सालमा अधिग्रहण गरिएको जमिनको मुआब्जा भने प्रतिरोपनी २५ सय रुपैयाँ वितरण गरिएको परियोजना प्रमुख अधिकारीले बताए ।
यो विमानस्थल बनेपछि हालको विमानस्थलमा पनि आन्तरिक उडान हुने छैनन् । उक्त विमानस्थललाई केमा प्रयोग गर्ने भन्नेबारे प्राधिकरणले अध्ययन गरिरहेको छ ।


http://bit.ly/1Vz4lsN

Category:

0 comments