राजमार्ग सुरक्षाको जिम्मा महिला प्रहरीलाई
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१ माघ, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्गअन्तर्गत मनहरा पुलदेखि सूर्यविनायक, साँगासम्मको सडकको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिएको छ
राजमार्ग सुरक्षाका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा सातजना महिला प्रहरीको टोली खटिएको भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले बताए ।
महिला प्रहरीलाई कार्यालयभित्रका काममात्र दिने परम्पराविपरीत प्रहरी उपरीक्षक श्रेष्ठले उनीहरुलाई फिल्डमा परिचालन गरेका हुन् । राजमार्गमा गस्ती गर्ने र दुर्घटना भए तत्कालै उद्धार गर्ने जिम्मेवारी महिला प्रहरीलाई दिएको श्रेष्ठले बताए ।
‘फिल्डमा खटेर महिला प्रहरीले पनि काम गर्न सक्छन् भन्ने देखाउन उनीहरुलाई कार्यालयबाहिरको जिम्मेवारी दिएका हौं’, श्रेष्ठले भने,‘यसले महिला प्रहरीप्रतिको जनताको धारणामा परिवर्तन आउने विश्वासमा छौं ।’
टोलीमा सवारीचालक भने पुरुष रहेका छन् । श्रेष्ठले चालक पनि महिला राख्ने प्रयास भइरहेको बताए । प्रहरी प्रधान कार्यालयसँग महिला सवारीचालक माग गरिरहेको जानकारी दिँदै श्रेष्ठले त्यसको व्यवस्था हुनेबित्तिकै चालकसहित पूरै महिला प्रहरीको टोली परिचालन गरिने बताए ।
महिला प्रहरीको टोलीले राजमार्गमा गस्ती गर्ने, चोकचोकमा पैदलयात्रीको सुरक्षा दिने र राजमार्गमा दुर्घटना भए आकस्मिक उद्धार गर्ने जिम्मेवारी पाएको छ ।
महिला प्रहरी सडकमा खटिएपछि सवारी दुर्घटनामा कमी आएको श्रेष्ठको दाबी छ । ‘महिला प्रहरी परिचालन गरेपछि सडक सुरक्षामा प्रगति भएको छ । दुर्घटना कम भएका छन्,’ उनले भने–‘यसले महिला प्रहरीको क्षमता र विश्वसनीयता प्रमाणित गर्दछ ।’
सडक सुरक्षाको जिम्मेवारी पाएपछि महिला प्रहरी खुसी भएकाका छन् । टोली प्रमुख प्रहरी सहायक निरीक्षक रश्मी पैजुले नयाँ जिम्मेवारी चुनौतीपूर्ण भएता पनि रमाइलो लागेको बताइन् ।
महिला प्रहरीको कामलाई विश्वास गरी परिसरले जिम्मेवारी दिएपछि उनीहरुमा राम्रो काम गरेर देखाउने हिम्मत र जाँगर बढेको छ । ‘महिला प्रहरीले पनि पुरुष प्रहरीको जत्तिकै जिम्मेवारी बहन गर्न सक्छन् भन्ने आत्मविश्वास बढेको छ’–पैजुले भनिन्, ‘जिम्मेवारी दिने हो भने जुनसुकै क्षेत्रमा महिलाले पनि उल्लेख्य काम गरेर देखाउन सक्छन् ।’
भक्तपुर सदरमुकामको सुरक्षा जिम्मा पनि महिला प्रहरीलाई
यसैबीच परिसरले भक्तपुर सदरमुकामको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिने तयारी गरिरहेको छ । भक्तपुर दरबार स्क्वायरस्थित प्रहरी प्रभागमा महिला प्रहरीको व्यवस्था गरी दरबार स्क्वायर परिसर र भक्तपुर सदरमुकाम क्षेत्रको सुरक्षा महिला प्रहरीलाई दिने तयारी गरिरहेको भक्तपुरका प्रहरी प्रमुख श्रेष्ठले दिए ।
प्रभागमा महिला प्रहरीलाई नुहाउनका लागि व्यवस्थित ठाउँको अभाव भएकाले सोको व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिँदै श्रेष्ठले व्यवस्थित बाथरुमको व्यवस्था भएपछि प्रभागमा पूरै महिला प्रहरीको व्यवस्था गरिने बताए । दरबार स्क्वायरक्षेत्र पर्यटकीयक्षेत्र भएकाले यसले विदेशमासमेत महिला प्रहरीको कार्यक्षमताको सकारात्मक प्रचारप्रसार हुने श्रेष्ठले विश्वास व्यक्त गरे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments