Unknown |
02:08 |
0
comments
 |

राजदेव राम
2०५५ सालमा लाहान न.पा. २, सिरहाका २७ वर्षीय श्याम सुन्दर महतोको बुवा लक्ष्मी महतोको निधन भयो । लक्ष्मी महतो तीनवटी श्रीमतिका श्रीमान थिए । लक्ष्मीकी जेठी श्रीमतिको पनि कालगतिले मृत्यु भइसकेको छ । जेठी पट्टिका २ छोरा र २ छोरीमध्ये दुई छोराको बाल्यकालमै मृत्यु भयो । २ छोरीको सामाजिक परम्पराअनुसार नै विवाह भयो ।
छोराको लागि लक्ष्मीले अर्को विवाह गरे र भित्र्याए कौशल्यादेवीलाई । कौशल्याका दुई छोरा जन्मिए । तर कान्छो छोराको सानै उमेरमा मृत्यु भयो भने जेठो छोरा श्याम सुन्दर महतो लक्ष्मीका एक्लो छोरो बने । श्यामसुन्दर सानै छँदा आमा कौशल्यादेवीको मृत्यु भयो । उनका बुबा लक्ष्मीले फेरि अर्को विवाह गरे र भित्र्याए समुद्रीदेवीलाई । उनीबाट जन्मिए एक छोरा र दुई छोरी ।
मधेशमा माहामारीको रुपमा रहेको दहेज प्रथा र भोज प्रथालाई चुनौती दिंदै २०५९ सालमा सामाजिक वैदिक परम्परा अनुसार श्यामसुन्दरले सप्तरीको पत्थरगढा पोखरभिन्डा ८ को रामचन्द्र मेहताकी जेठी छोरी रीतादेवीसँग विवाह गरे । केही बर्षमै श्यामसुन्दर र रीतादेवीका दुई छोरा जन्मिए ।
बुवा लक्ष्मीको मृत्युको ८ वर्ष नपुग्दै श्यामसुन्दरको परिवारमा भएको तीन बिघाहा जग्गाको अंशबण्डालगायतको विषयमा तनाव सुरु भयो । श्यामसुन्दरकी कान्छी आमा (सौतनी आमा) समुद्रीदेवीले आफूसहित आफूपट्टिका एक छोरा र दुई छोरी गरी अंशवण्डा हुनुपर्ने भन्दै अंशवण्डाको मुद्दा कानुनी रुपमै चलाइन् ।
श्यामसुन्दरले भन्दै आएका थिए, बहिनीहरुको उमेर पुगिसकेको छ, विवाह गरौं । लागेको खर्च परिवार सबै मिलेर बेहोरौं । अनि बिहे गरेर बसेको सबै सम्पत्ति कान्छी आमा, भाइ र आफू गरी तीन भाग लगाऔं । तर गाउँले, आफन्तहरुको उक्साहट परेर कान्छी आमा र भाइ भरतले अंशबण्डा मुद्दा चलाए । “सम्पति लोभको कारण उमेर पुगिसकेका बहिनीहरुको पनि विहे गरेको छैन । गर्न पनि मान्दैनन् ।” श्यामसुन्दर भन्छन् ।
अंशबण्डा मुद्दा चलेदेखि श्यामसुन्दर परिवारसहित घरबार छाडेर बाहिर बस्दै आएका छन् । उनले अंश मुद्दाको चार वर्षमा जिल्ला र पुनरावेदन दुवैमा हारिसकेका छन् । अदालतले कान्छी आमाकै पक्षमा मुद्दा फैसला गरिदिएको छ । अहिले त्यही मुद्दा सर्वोच्चमा चलिरहेको छ ।
अंशबण्डा मुद्दाकै कारण श्यामसुन्दरको घरमा अर्को विपत्ति पनि आइलाग्यो । केही वर्ष अघि जतिबेला नेकपा(माओवादी) भर्खर शान्तिप्रक्रिमा प्रवेश गरेको थियो र मुलुक माओवादीमय भएको थियो । समाजमा माओवादी भनेपछि सकारात्मक र नकारारतमक दुबै प्रभाव थियो । तर, गरीव दीनदुःखीहरुको हितमा भने सकारात्मक प्रभाव थियो । त्यसबेला माओवादी जनसरकारले यसखाले मुद्दाहरु मिलाएर धेरैलाई गुन लगाएको श्यामसुन्दर पनि सुनेका थिए । आफूले न्याय पाउने आशमा उनले माओवादीको खोजी गरे ।
संयोगवस एकदिन लाहानको तरकारी बजारको एक चिया पसलमा लहान क्षेत्र नं. १ का इञ्चार्ज, मलहन्मा गोविन्दपुर ३ खपानी टोलका देवनारायण महतोसँग उनको चिनजान हुन पुग्यो । आफ्नै जातीको नेता भएको नाताले श्यामसुन्दर निकै खुशी भए । पछि आफ्नै नातामा परेको पनि पत्तो लाग्यो । उनलाई आफ्नो पारिवारिक दुःख अब यहि नै अन्त हुन्छ जस्तो लाग्यो । श्यामसुन्दरले देवनारायणलाई आफ्नो सम्पूर्ण पारिवारिक वृतान्त सुनाए । उता देवनारायणले पनि आश्वासनका कुनै पनि शब्द बाँकी राखेनन् । ‘माओवादी भनेको माओवादी नै हो चिन्ता लिनु पर्दैन, तिम्रो सबै समस्याको जिम्मा मेरो भयो । बाँकि कुरा काम सकेपछि गरौँला’ देवनारायणले भने । श्यामसुन्दरलाई आश्वस्त बने । तर, त्यो सपना पनि पूरा हुन सकेन । त्यो सपना र आश्वासन बरु अर्कैतिर मोडियो ।
देवनारायण र श्यामसुन्दरबीच बीच भेटघाट र निकटता त बढ्दै जानथाल्यो । कैयौपल्ट श्यामसुन्दरले आफ्नो घरमै ल्याएर देवनारायणको अतिथि सत्कार गरे । आफ्नै सम्झेर उनले देवनारायणसँग आफ्नो सबै मनपेट खोले । उनी धेरै खुशी थिए, पारिवारिक समस्या समाधान हुन्छ भन्नेमा । तर, त्यो खुशी केहि दिन नवित्दै दुःखमा परीणत भयो ।
श्यामसुन्दर १४ वर्षदेखि लहानको बुकिङ काउण्टरमा काम गरी जीविको चलाउँदै आएका थिए । घरबाट विहानै निस्केपछि खाना खाने र राती आउने बाहेक अरुबेला उनलाई घरमा जाने फुर्सद नै हुँदैनथ्यो । उता उनकी श्रीमती रीतादेवीको काम पनि दुई छोरालाई स्कुल पठाउने र स्याहार्ने बाहेक अरु खासै काम थिएन । श्यामसुन्दरलाई थाहै नदिई माओवादी नेता देवनारायण घरमा जाँदारहेछन् । घरमा श्रीमती रीतादेवी बाहेक अरु कोही हँुदैन्थे । श्यामसुन्दर नभएकोबेला कैयौपटक देवनारायण रीतादेवीलाई भेट्न मौका छोपी आईरहेको कुरा गाउँलेहरुमार्फत् उनले थाहा पाए । तर श्यामसुन्दरले त्यस विषयलाई नराम्रो नजरले कहिल्यै हेरेनन् । गाउँलेहरुले धेरै चासो देखाएपछि उनले देवनारायणलाई एकदिन सोधे पनि । तर, देवनारायणले ‘तिमीलाई भेट्न आउँथे तर नभेटेपछि फर्केँ’ भन्थे ।
श्रीमती रीतादेविसँग श्यामसुन्दर कहिल्यै मनमुटाव गर्दैन थिए । त्यो विषयलाई लिएर पनि कहिल्यै झगडा भएन । एक दिन उनकी श्रीमतीले म पनि माओवादी बन्छु र आफ्नो घरपरिवारको सबै मुद्दा मिलाउछु भनिन् । तर श्यामसुन्दरले श्रीमतिको त्यो कुरालाई मानेनन् । श्रीमतिले त्यसो भनेकोे एक महिना पनि नवित्दै २०७० बैशाख ५ गते दिउसोतिर एकाएक घरमा ताल्चा लगाएर रीतादेवी गायब भइन् । गाउँलेहरु सबै मिली धेरै खोजतलास भयो । कहाँ गई ? के भयो ? श्यामसुन्र निकै तनावमा परे । माईती पक्षका मान्छेहरुलाई बोलाएर पनि खोजतलास गर्न लगाए । नानीहरु स्कुलबाट घर फर्किसकेका थिएनन् । साथीहरुलाई सोधे, कतै केही पनि सुईको पाइएन । ujad
केहीदिन पछि श्रीमती रीतादेवीलाई देवनारायणको मोटरसाईकलमा घुमीहिडेको खबर आयो । “म अक्क न बक्क भएँ, दिमागले केही सोच्न सकेन । तर पनि उनीहरुको खोजीमा लागे”, श्यामसुन्दर भावुक हुँदै सुनाए । तथापि उनले श्रीमतीलाई घर फर्काउन धेरै कोशिस गरे तर सफल भएनन्, उनलाई कसैले साथ दिएनन् । उल्टै देवनारायणसँग भागेको एक महिनापछि श्रीमतिले श्यामसुन्दरका विरुद्ध अंश मुद्दा र छोडपत्रको मुद्दा एकैसाथ दायर गरेको पत्र अदालतले उनको हातमा थमाइदियो ।
मलहनमा गोविन्दपुर ८ को रञ्जित कुशवाहको वारीसनामा भएको सो पत्रमा रीतादेवीले मेरो श्रीमान् गाडिलाईनमा काम गर्ने गरेको र रक्सी खाएर रातदिन गालीगलौज गर्ने, कुटपिट गर्ने, राख्न नमान्ने र घर निकाला गर्ने गरेको आरोप सो पत्रमा उल्लेख गरिएको थियो । गाउलेहरुले समेत आफूलाई साथ नदिएको पत्रमा आरोप थियो । अदालतबाट सवन आएपछि श्यामसुन्दरले मुद्दाको प्रतिवादी बने । केही सोचविचार नगरी उनी सिराहा जिल्ला अदालत पुगे । र, आरोपको खण्डन गर्दै नगद र जिन्सी सहित श्रीमती देवनारायणसँग पोइल गएको मुद्दा जोडे । तर अदालतले उनको कुराको कुनै सुनवाइ गरेन । न्याय माग्दै थुप्रै अरु मान्छेहरुलाई भेटो । कसैले पनि साथ दिएनन् । जहाँ पनि दलाली र घुसाखोरी मात्रै भेटेको उनको तीतो अनुभव छ । उनी भन्छन्, ‘नेपालमा पैसा र पावर भए जे पनि हुनेरहेछ । प्रशासनदेखि अदालत र मिडिया सबै पैसामा खरिदबिक्री हुने रहेछन् ।’
धेरै प्रयासपछि सिराहा जिल्ला अदालतले २०७१ अषाढ ७ गते सहरजमीनको लागि टोली पठायो । सयौंको संख्यामा गाउँलेहरुको उपस्थिति भए । सहरजमिनमा रीतादेवी र देवनारायणलाई आउछन् भनि हेर्न उत्सुकता थियो । शान्ति सुरक्षाका लागि भनेर लहान इलाका प्रहरीबाट थुप्रै प्रहरीहरु खटाईएका थिए । तर, रीतादेवि र देवनारायण दुबैजना उपस्थित भएनन् । अन्ततः उनीहरुको वारीस रहेको साधु महतो उपस्थित भए । रीताको बुवा आफ्ना दुबै नातीहरुलाई काखमा च्यापेर बसेका थिए । दुई छोरा आमालाई हेर्न आतुर थिए । तर, आमा उपस्थित नभएपछि काञ्छा छोरा स्कुलको बरण्डामै मुर्छित भए । सो सहरजमिनमा रीतादेवीका बुवा स्वयम् र अरु ८ जनाले गाउँलेहरुले रीतादेवी र देवनारायणको अनुचित सम्बन्ध रहेको बयान दिए ।
पछि अदालतले सहरजमिनकै आधारमा गरेको फैसलामा रीतादेवी र देवनारायणलाई दोषी कायम गरी कुनै पनि अंश नपाउने गरी रीतादेवी र देवनारायणलाई कानुनी प्रावधान अनुसार दुवैलाई ३५ दिने जेल र एक एक हजार जरीवाना तोक्यो ।
कम्युनिष्ट पार्टीमा साँस्कतिक र आर्थिक नैतिकतालाई प्रमुख रुपमा लिइन्छ । यसबाट भ्रष्ट हुने ब्यक्ति आफ्नो पार्टीमा कार्वाहीमा पर्ने गर्छन् । त्यसमा पनि विगतमा साँस्कृतिक र आर्थिक रुपमा भ्रष्ट हुने व्यक्तिलाई भौतिक कार्वाही समेत गरिन्थ्यो । तर, शान्ती प्रक्रियामा आईसकेको माओवादीका लागि यी कुराहरु क्रमशः पुरानो समाजका उपहार सावित हुनथालेका छन् । यस्ता देवनारायण महतो जस्ता पात्र र प्रवृत्ति थुप्रै जन्मन थालेका छन् । यसखाले विकृति र विसंगतिहरुलाई कसले र कहिले अन्त गर्ने ? कसलाई विश्वास गर्ने ? रक्षक सम्झेको मान्छे नै भक्षक भएपछि । आज एकजना माओवादी कार्यकर्ताका कारण श्यामसुन्दरको घर उजाड भएको छ, साना नानीहरुको कन्तबिजोग भएको छ । समाजमा हुने यस्ता खालका घटनाप्रति न त राज्य संवेदनशिल छ, न त प्रशासन नै । राजनीतिक पार्टीहरुबाट त आश गर्ने ठाउँ नै छैन ।
 |
Category:
News
0 comments