Home �
News
� जेठाजुको कुटाइबाट गर्भ तुहियो
Unknown |
04:19 |
0
comments
 |

सिरहा : सिरहाको सोनमती मझौरा-६ मा गर्भवती महिला हजिरा खातुनलाई उनकै जेठाजु र नाता पर्नेहरूले कुटपिट गर्दा गर्भमा रहेको नौ हप्ताको बच्चा तुहिएको छ। बकरइदका लागि बलि दिन राखिएको जेठाजुको बोका आइतबार बेलुका आफ्नो आगनमा आएपछि बाँध्न अनुरोध गर्दा आफूमाथि जेठाजुलगायत चार/पाँचजनाले कुटपिट गरेपछि आफ्नो गर्भ तुहिएको ३३ वर्षीया हजिराले बताइन्। हजिराले आफूलाई जेठाजु रफिद, उनका छोरा मतेबुल रहमान, रेशमा खातुन र मो. सफियाले कुटेको आरोप लगाइन्।
कुटपिटका कारण तल्लो पेटबाट रगत बग्ने क्रम नरोकिएपछि मंगलबार मात्र हजिरालाई लहानस्थित फ्रेन्ड्स मोडेल अस्पतालमा उपचारार्थ ल्याइएको थियो। अस्पताल प्रशासनले हजिराको गर्भ तुहिएको जनाएको छ।
'मैले बोको जथाभावी नछोडी बाँध्न मात्र के भनेको थिएँ, उनीहरूले मलाई पेट र छातीमा जथाभावी हिर्काए', आफन्तबाटै पीडित हजिरा भन्छिन्, 'कुटाइको वेदना सहन नसकी दुई दिनसम्म घरमै बसेर स्थानीय स्वास्थ्यकर्मीसँग उपचार गराएपछि मंगलबार अस्पताल भर्ना भएँ।'
'आफूमाथिको आक्रमण सार्वजनिक भएपछि अहिले प्रहरी कार्यालयमा उजुरी नहाल्न दबाब आएको छ', पीडित हजिराले बताइन्, 'पति वैदेशिक रोजगारका लागि दुई महिनाअगाडि कतार गएका छन्। घरमा कोही पनि नभएको बेला एक्लै रहेकी १२ वर्षीया कान्छी छोरी गुलसनालाई बलात्कार गर्छु भनेर धम्की आइरहेको छ।'
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले घटनाका कारणबारे बुझ्न बाँकी रहेकोले अहिले नै कुनै कारबाही अगाडि नबढाइएको बताए। 'घटना कुटपिटकै कारणले हो वा अन्य कारणले हो बुझ्ने कार्य भइरहेको छ', उनले भने, 'अहिले एकजना आरोपीलाई थुनामा राखेका छौं।'
 |
Category:
News
0 comments