प्रचण्ड प्रधानमन्त्री बन्ने अर्को उपाय !
|
राजनीति भनेको असीमित सम्भावनाको खेती हो । एउटा युग थियो–युद्ध र प्रेममा सबथोक जायज हुन्छ, आजको युगमा चाहिं राजनीतिमा जे पनि जायज हुन्छ, नाजायज भन्ने केही हुँदैन । जायज र नाजायजको कुरा गर्ने हो भने केपी ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको एमाओवादी एकजुट भएर सरकार चलाउँछन् भन्ने कसले कल्पना गरेको थियो ? यी दुई नदीको दुई किनार जस्ता थिए । नदीका दुई किनार कहिले एक हुँदैनन् तर राजनीतिमा नदीका दुई किनार एक भएको रमिता देख्न सकिन्छ, खासगरी नेपालको राजनीतिमा ।
प्रचण्डका सीमा र सम्भावना
उच्च नेताहरूको प्रसंगमा चर्चा गर्दा पहिले नै एउटा कुरामा स्पष्ट हुनुपर्छ–उनीहरू सत्ताप्राप्तिका लागि राजनीति गर्छन् । प्रचण्डमा पनि सत्ताप्राप्तिको लालसा प्रचुर छ । विगतमा उनले बुझेको सत्ता व्यापक अर्थको थियो, राज्यका सम्पूर्ण निकाय र अंगको समष्टि रुप सत्ता बुझ्थे प्रचण्डहरू, अहिले सरकारलाई नै सत्ता बुझ्छन् । कुरा जे होस्, प्रचण्डको अभीष्ट प्रधानमन्त्री बन्ने हो । प्रचण्डका अगाडि दुईटा बाटो छ– एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने कि कांग्रेसको समर्थनमा ?
एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भनेको अहिलेकै गठवन्धनलाई निरन्तरता दिनु हो । यही गठवन्धनलाई निरन्तरता दिए भारतले समर्थन गर्ने छैन, मधेसवादी पार्टीहरूले साथ दिने छैनन् । कांग्रेससांग गठवन्धनमा गए भारतको साथ पाइने सम्भावना हुन्छ, तर पूर्ण रुपमा साथ पाइने ग्यारेन्टी भने छैन । भारतले मधेसवादी दलहरूलाई सरकारमा जानबाट रोक्नसक्ने सम्भावना यथावत रहेको छ । किनभने भारतले मधेसवादीलाई होइन आफ्नो स्वार्थलाई मायाँ गर्छ । भारतीय स्वार्थ नेपाललाई अस्थिरतामा फसाएर अहिलेको संविधान र राजनीतिक कोर्ष नै समाप्त पार्ने हो, यो कारण कांग्रेससागको गठवन्धन बन्दैमा भारतले समाधान गर्न प्रचण्डका लागि बाटो खोलिदिन्छ भन्ने छैन । तैपनि ओली सरकारलाई गरेजत्तिको असहयोग प्रचण्डको सरकारलाई भारतले नगर्न सक्छ ।
सम्भावनाको अर्काे पाटा के हो भने कांग्रेससागको गठवन्धनमा जानु भनेको प्रो–इण्डिया सरकार बन्नु हो जसको नेतृत्व गरेपछि प्रचण्डले चिनियाँ आडभरोस र समर्थन नपाउन सक्छन् । अर्थात्, एकापट्टि भीर अर्कापट्टि पहिरोको हालतमा प्रचण्डको भावी सरकार हुनेछ ।
कांग्रेस के गर्छ ?
कांग्रेसले प्रचण्डलाई किस्तिमा राखेर प्रधानमन्त्री पद दिएकै हो । प्रचण्डले घाँटी हेरेर मात्र हाड निल्न खोजे । कांग्रेससाग मिलेर ओली सरकार गिराउन सकिन्छ तर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन सजिलो छैन भन्ने देखे प्रचण्डले । मधेसवादीको साथ नपाइने, भारतले पनि पूरै काँध नथाप्ने देखेपछि प्रचण्ड ब्याक भएका हुन् भन्ने जगजाहेर छ । बरु, एमालेसाग मिलेर भविष्यमा सरकारको नेतृत्व गर्ने ढोका खुला बनाए प्रचण्डले । यसो गर्दा कांग्रेससंगको सम्भावना पनि जीवितै राखे । यसबाट प्रचण्ड सजिलो ठाउँमा पुगे भने कांग्रेस अप्ठेरोमा फस्यो । अब प्रचण्डको दुवै हातमा लड्डु छ, कांग्रेस या एमालेको समर्थनमा उनी प्रधानमन्त्री बन्न सक्छन् । तर, राजनीति हो, यी दुवै सम्भावना समाप्त भएर प्रचण्ड उत्तानोचित पनि पर्न सक्छन् ।
कांग्रेसले प्रचण्डको नेतृत्वमा स्थानीय चुनाव गराउने र आफ्नो नेतृत्वमा आमचुनाव गराउने फर्मूला प्रस्ताव गरेको थियो । कांग्रेस र एमाओवादी गठवन्धन बनेको अवस्थामा भारतले स्थानीय चुनावलाई समर्थन गर्छ ? आमचुनावसम्म देशलाई पुग्न दिन्छ ? कांग्रेस आफै पनि प्रष्ट हुन सकेको छैन । पछिल्ला घटनाक्रमहरूले के स्पष्ट गरिसकेको छ भने कांग्रेस सम्पूर्ण रुपमा भारतीय कित्तामा उभिइसकेको छ । आफूसागै एमाओवादी भारतीय कित्तामा उभिने कि नउभिने भन्ने कांग्रेसको शंका समाधान भएन । त्यसैले आगामी दिनमा पनि कांग्रेसले प्रचण्डको हातमा सत्ता सुम्पन्छ भन्ने सुनिश्चितता भएको छैन ।
तर, कांग्रेसका सामु सीमित उपाय मात्र छ । एमाओवादीलाई हर हालतमा एमालेबाट अलग नगराई उसलाई सुखै छैन । एमाओवादी साथमा रहेसम्म एमाले सत्तामा रहिरहने छ । सत्ताको शिविरमा प्रवेश गर्न कांग्रेसलाई एमाओवादीको काँधमा नचढी सुखै छैन । त्यसैले भारत या चीन फ्याक्टरले जे भने पनि एमाओवादीसंग गठवन्धन बनाउनु कांग्रेसको बाध्यता हो । यो बाध्यतालाई भारतले पनि बुझेको छ । त्यसैले भारतीय सत्ता शिविरसंग नजिक रहेकाहरूले प्रचण्ड र एमाओवादीलाई प्रहार कम गरेका छन् । उता युद्धकालीन मुद्दा ब्यँुत्याउने माओदीलाई तर्साउने काम पनि उनीहरूले गरिरहेका छन् । यी कारणहरूले गर्दा भविष्यमा एमालेको समर्थनमा भन्दा कांग्रेसकै समर्थनमा प्रचण्ड सत्तारुढ हुने सम्भावना धेरै भएको दृष्टिगोचर हुन्छ ।
एमालेले कसो गर्छ ?
बजेट प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री केपी ओलीको कुर्सी डगमगाउन थाल्ने निश्चित छ । ओलीको ठाउँमा आफू हुनुपर्छ भन्ने प्रचण्डको अभीष्ट अब जति छिपाए पनि छिप्दैन । यसो गरे पनि सरकारको नेतृत्व छाड्नुपर्ने, उसो गरे पनि छाड्नुपर्ने अवस्थामा एमाले पुग्न थालेको देखिन्छ । आफूले नेतृत्व नपाएको अवस्थामा ओलीलाई टिकाइराख्ने पक्षमा प्रचण्ड उभिने छैनन् । अर्थात्, सरकार गिर्ने अवश्यंभावी हुनेछ । यो अवस्थामा एमालेका सामु दुई/तीनवटा विकल्प हुनेछन्–प्रचण्डलाई वा शेरवहादुर देउवालाई सरकारको नेतृत्व सुम्पने, एमालेभित्रै प्रधानमन्त्रीको विकल्प खोज्ने या प्रतिपक्षमा बस्ने । यी मध्ये एमाले प्रतिपक्षमा बस्न पनि सक्छ, सहमति जुटे एमालेभित्रै प्रधानमन्त्री ओलीको विकल्प खोज्ने खोज्न पनि तयार हुन सक्छ । यसका केही कारण छन् । प्रचण्डको नेतृत्वमा एमाओवादीसंगको गठवन्धन निरन्तर रहँदा पनि राजनीतिक गतिरोध समाधान हुने छैन, स्थानीय चुनाव गराउने अवस्था पनि हुने छैन । बरु, कांग्रेससंगको गठवन्धन सरकार बन्न दिए चुनाव हुने सम्भावना केही भएपनि बढ्छ । ओलीलाई हटाएपछि कांग्रेस र एमाओवादीले मधेसवादीलाई चित्त बुझाउन सकेको अवस्थामा समाधान हुन्छ र राजनीतिक समाधान पछिको अवस्थामा एमालेले सत्ताको खेल फेरि पनि खेल्न सक्ने ठाउँ हुन्छ ।
एमाओवादी आफै पनि एमालेसंगको गठवन्धनमा निरन्तर बस्नुभन्दा कांग्रेससंग गठवन्धन बनाउन इच्छुक बन्न सक्छ । यसको संकेत प्रचण्डले दिन थालिसकेका छन् । उनले यो गठवन्धनलाई निरन्तर गर्ने भनिरहेका छैनन्, उनी भनिरहेका छन्–राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । यस्तो सरकार चाहिन्छ भन्नुको अर्थ ओलीको नेतृत्वको वर्तमान गठवन्धनलाई चाहिं निरन्तरता नदिने भनेको पनि हो । आफ्नो सरकारमा कांग्रेस र एमाले दुवैलाई ल्याउन सम्भव छैन भन्ने प्रचण्डले बुझेका छन् । कांग्रेससंगको गठवन्धन सरकार बनाएर समाधानका लागि सम्भावनाको नयाँ क्षेत्र खोजी गर्न प्रचण्डले प्रयास गर्नु अस्वाभाविक होइन । एमालेलाई भावी सरकारमा जति भाग दिनुपर्छ, त्योभन्दा थोरैमा कांग्रेसले मान्न सक्छ । यी कारणले भविष्यमा कांग्रेस र एमाओवादी गठवन्धन सरकार बन्ने सम्भावना प्रबल रहेको देखिन्छ ।
कुरा मुद्दाको
एमाले र एमाओवादी दुवै पार्टी वर्तमान सरकारलाई वाम गठवन्धनको सरकार भन्न रुचाउँदैनन् । यो वाम गठवन्धन सरकार होइन पनि, वामपन्थी बाहुल्यको गठवन्धन सरकार भने हो । संसदीय पूँजीवादी राजनीतिक प्रणालीलाई अंगीकार गरेर दुवै पार्टी यो गठवन्धनमा बसेका हुन् । राष्ट्रियताको एउटै प्रकृतिको मुद्दा बोकेर अगाडि जाँदा आफूलाई भन्दा एमालेलाई लाभ हुन्छ र भइरहेको पनि छ भन्ने एमाओवादीको बुझाई छ । ओली सरकारको राष्ट्रवादी अडानमा निश्चय पनि एमाओवादीको समेत हिस्सेदारी छ तर जस भने एमालेले एकलौटी पाइरहेको एमाओवादी बुझाई छ । भावी राजनीति र चुनावलाई दृष्टिगत गरेर एमाओवादी आफ्नो स्वतन्त्र पहिचान र राजनीतिक धार सिर्जना गर्न चाहन्छ । यसका लागि उसलाई कांग्रेससंगको गठवन्धन सजिलो हुनसक्छ । भारतसंग सम्बन्ध सुधार गर्ने र नजिकिन खोज्ने एमाओवादीको नीतिलाई पनि कांग्रेससंगको गठवन्धनले नै योगदान गर्न सक्छ । हालै भएको पार्टी एकीकरणले एमाओवादीलाई अतिवादी कम्युनिष्ट धारमा जान खोजेको आरोप लाग्न थालेको छ । यो आरोप धोईपखाली गर्न पनि उसले गैरकम्युनिष्ट गठवन्धन रोज्न सक्छ ।
यी कारणहरूले गर्दा एमालेको समर्थनमा होइन कांग्रेससंगको गठवन्धनमा प्रचण्ड प्रधानमन्त्री बन्नसक्ने सम्भावना देखिन्छ । ख्याल गरौं, राजनीति सम्भावनाहरूको खेती हो र असम्भव ठानिने काम सम्भव तुल्याउनु नै राजनीति हो ।
(बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)
(बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)
|
Category: News
0 comments