शनिवार अन्तरंग कुराकानीका लागि शुक्रवार कार्यालय आइपुगेकी उनी हतारमा थिइन्। उनी त्यही दिन अस्ट्रेलिया उड्ने तयारी थियो। आउनेबित्तिकै नेपाली उखान भनिन्, 'अरू कुरा छाड्दिऊँ, पोइल जाने कुरा गरौँ।' अर्थात्, कामको कुरा गरौँ। उनीसँग डिबी खड्काको अन्तरंग कुराकानीः
आधुनिक आस्थालाई पुराना नेपाली उखानटुक्का पनि आउने रहेछ!
मलाई टिपिकल नेपाली कुरा मन पर्छन्। यस्तो धेरै उखानटुक्का आउँछन् पनि। कुराको प्रसंगमा जोडिहाल्छु। मेरा साथीहरू त 'कसरी आउँछ तँलाई यस्तो?' भन्छन्। म आफू जे छु, त्यस्तै प्रस्तुत हुन रुचाउँछु। मलाई यस्ता कुरा प्राकृतिक लाग्छन्। 'दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ' गीतमै भनेकी छु नि।
स्टेजमा प्रस्तुत हुँदा पनि यस्ता कुरा बोल्नुहुन्छ?
बानी नै चञ्चल छ। स्टेजमा पुगेपछि दर्शकलाई रमाइलो गराउन अनेक हतकण्डा अपनाउँछु। गीत गाउने मात्र होइन, हाँस्ने/हँसाउने काम पनि गर्छु। प्रसंगअनुसार जोक पनि भन्छु। एकचोटि म गएको ठाउँको दर्शकले कहिल्यै नबिर्सिऊन् भन्ने लाग्छ।
त्यही भएर एकै थलोमा दोहोर्यापएर बोलाइरहेका छन्!
एकचोटि गएको ठाउँका मान्छेसँग उमेरअनुसार साइनो गाँसेर आएकी हुन्छु। पैसा ठूलो कुरा होइन, मन ठूलो हुनुपर्छ भन्ने मान्यता छ मेरो। माया दिए न माया पाइन्छ। सकेसम्म सबैसँग राम्रै गर्न खोजिन्छ।
एकपल्ट त 'कन्सर्ट गर्नेहरूले भनेजस्तो पारिश्रमिक नै दिँदैनन्, त्यसैले त्यति जान्नँ' भन्नुहुन्थ्यो?
मेरो त्यस्तो 'हाई डिमान्ड' छैन। आफ्नो 'स्ट्यान्डर्ड'अनुसार दक्षिणा त माग्नुपर्यो नि। त्यसमा तलमाथि नहोस् भन्ने चाहन्थेँ। मेरा लागि पैसै ठूलो कुराचाहिँ होइन।
यो सिजनमा कतिवटा कार्यक्रम गरियो त?
अघिल्लो वर्षको जति यसपल्ट गरिनँ। किनभने, म मास्टर्स पढिरहेकी छु। जाँचका कारण गत वर्ष नगएको ठाउँमा मात्रै गएँ। विदेशचाहिँ गइरहेकी नै छु।
'चौबन्दीमा पटुकी' अनपेक्षित रूपमै चर्चित भयो है!
त्यही त। यसको भिडियो समेत बनेको छैन। नेपाली गीत सुन्ने अधिकांशले यो गीत सुनिसकेका छन्।
पहिलो एल्बम 'आधार'का चलेका गीत 'डिमान्डवाला' छन्। स्वभावअनुसारका गीत छान्नुभएको हो?
मैले रोनाधोनाका गीत कहिल्यै गाइनँ। बालगीत पनि मेरा त्यस्तै खालका थिए। सुरेश अंकल (संगीतकार सुरेश अधिकारी) लाई मेरो स्वभाव थाहा छ। त्यसैले यस्ता गीत सिर्जना गर्नुभयो। मलाई सानैदखि 'मोटिभेसनल' गीत मन पर्थे। मेरो आवाज पनि 'हस्की' छ। आवाजअनुसार पनि यस्ता गीत 'सुट' हुन्छन् ।
रिमिक्स गीतले चिनायो र पार्श्वगायनले थप चर्चित बनायो। तर, आफ्नो एल्बम 'आधार'का गीत हिट भएपछि पार्श्वगायन एकाएक कम गर्नुको कारण?
फिल्म 'मायाज बार'को 'माया यो माया' हिट भयो। धेरैले त्यसलाई आइटम गीत भन्ठाने। तर, मैले बुझेअनुसार त्यो आइटम होइन, फिल्मकी मुख्य हिरोइनले नै नाच्नै गीत कसरी आइटम हुन्छ? डान्सिङ गीत हो त्यो। त्यसपछि फिल्मका आइटम गीतमा यस्तरी अफर आयो कि सबै गीत गाउने हो भने डेढ सय फिल्ममा गाइसकेकी हुन्थेँ। आइटम गीतको कुनै भविष्य छैन, यो एउटा भेल हो। भेलसँग आफ्नो करिअर बगाउनु हुँदैन भनेर छानेर मात्रै गाउन थालेकी हुँ। मैैले छाडेका केही गीत हिट पनि भएका छन्, तर मलाई कुनै बिस्मात छैन।
केही गीतका शब्द मन परेनन् भनेर समेत अस्वीकार गरेको सुनियो। व्यावसायिक गायिका भएपछि यस्तो भन्न पाइन्छ र?
त्यै आइटम गीत त थिए ती। भारतीय फिल्मबाट यो आइटम गीतको खोला बगेर नेपालमा आयो। तर, यहाँ यो रोकिन सकेन, बग्दै कता पुग्यो कता! आइटम गीत भनेर आएकामध्ये मैले अस्वीकार गरेकामा शब्द उच्छृंखल थिए। म संगीतसँगै हुर्केकी मान्छे हुँ। जस्तो पायो, त्यस्तै गीत गाएर ममीबाबाका लागि पनि बत्तीमुनिको अँध्यारो हुन चाहन्नँ।
आवाजजस्तै मान्छे पनि 'बोल्ड' हुनुहुन्छ है!
बाहिर प्रस्तुत हुने त्यसरी हो। अन्यायविरुद्ध लड्छु। हामी कलाकार अरूका लागि लड्नुपर्छ जस्तो लाग्छ। तर, भित्री रूपमा साह्रै पिञ्चे छु। आँशु त आँखाको डिलैमा छन्, अलिकति दुःख लाग्ने कुरा भयो भने आँशु झरिहाल्छ। संगीत क्षेत्रको मामिलामा यो जरुवाको पानी हो, नहल्लाईकन पिउँदा राम्रो हुन्छ भन्छु। हल्लायो भने त पिँधको माटोले धमिलिहाल्छ नि।
तपाईंलाई सबैभन्दा धेरै के कुराले दुःखी बनाउँछ?
कतिपय अवस्थामा मान्छेबाट गल्ती हुन्छ, तर माफी माग्न ऊ तयार हुँदैन। मानवीय स्वभाव आफ्नो दुःखमा भन्दा पनि बढी अरूको खुशीमा दुःखी हुने हुन्छ। धेरै जना अरू खुशी रहेकोमा दुःख मनाउ गर्छन्। कलाकारितामा यो अझ धेरै छ। राम्रो प्रतिभा र राम्रो कामबारे एक शब्द फेसबुकमा खर्चिन निकै कष्ट हुन्छ मान्छेहरूलाई। मैले अरूको खुशीमा खुशी हुन सक्दा कहिल्यै दुःखी हुनुपर्दैन भन्ने शिक्षा घरमै पाएँ। त्यसैले सानातिना दुःखले मलाई छुँदैन।
आफ्नो कमजोरी लुकाउने प्रयास कत्तिको गरिन्छ?
मलाई कमजोरीसहित मान्छेलाई स्विकार्नुपर्छ जस्तो लाग्छ। अस्ति बीबीसीमा मेरो अन्तर्वार्ता थियो। प्रश्नकर्ताले सबै पोजिटिभ कुरा खोतल्नुभयो। आफैँले 'मेरो नराम्रो बानी पनि सोध्नुहोस् न' भनेँ। उहाँ छक्क पर्नुभो। कमजोरी छोपेर अघि बढ्नु त नेपाली उखान 'डोकाले छोप्दा देखिन्छ' भन्याजस्तै हो। आफ्ना कमजोरी एकछिनका लागि लुकाउन सकिएला। डोकाले छोप्दा टाढाबाट नदेखिएला तर नजिक आउँदा त छर्लंगै देखिन्छ नि। कमजोरीसहितको मान्छेका रूपमा अरूका मनमा बस्ने सके दिगो हुन्छ। ममीले 'सफलताले जस्तो उचाइ चुमे पनि पैताला भुइँमै राख्नू' भनेर सिकाउनुभएको छ।
मायाप्रेमका गीत गाउन त्यति रुचाउनुहुन्न रे। किन?
मैले गायन करिअरको सुरुवात नै 'क'बाट 'कछुवा'बाट गरेकी होइन। म भाग्यमानी छोरी हुँ। बाआमाको एक्लो सन्तान हुँ। छोरा/छोरी जे भने पनि मै हुँ। तर, सबै नेपालीका छोरी आस्था राउतजस्तो भाग्यमानी छैनन्। त्यतिबेला नै छोरा र छोरीमाथि हुने विभेदको गीत गाइसकेकी थिएँ। अधिकांश मेरा बालगीत 'विद्रोही' छन्। जसलाई म 'रिभाइब' गर्ने योजनामा छु। अब ठूली भएँ, महिला हकहितका लागि गाउँछु।
आफू केटीबाट महिलाचाहिँ कहिले हुने?
ठूली भएपछि यो कुराको पिर घरपरिवार र आफन्तलाई हुँदो रहेछ। घरमा भनेकी छु, 'राइट पर्सन' फेला पारेपछि भन्छु भनेर। बाआमाले 'प्रेसर' गर्नुभएको छैन। तर, अस्ति एउटा चाइनिज फिल्म हेरेकी थिएँ। त्यहाँ भनिएको थियो, 'मान्छे दुई प्रकारका हुन्छन्। एउटा धोका दिन चाहन्छ, अर्काे धोका दिन्छ।' मलाई यी दुई खालेभन्दा भिन्न मान्छे चाहिएको छ।
त्यस्तो 'पर्फेक्ट' मान्छे पाइएला र?
जस्तो पायो, त्यस्तो वा लर्तरो मान्छेले मलाई झेल्न सक्दैन! मेरो जीवनसाथी मात्रै होइन, मेरा बाआमाको छोरा हुन सक्ने मान्छे चाहिन्छ। किनभने, बाआमाकी एक्ली सन्तान हुँ म। कहीँ होला, एक दिन भेटिएला। राम्रो मान्छेलाई भगवान्ले राम्रैका लागि पठाएका हुन्छन् रे!
तपाईंलाई चाहनेहरूको लाइनमा त्यो मान्छे छैन?
म लाइनमा राख्ने खालको मान्छे नै होइन। मलाई आंशिक माया चाहिँदैन। आंशिक बदली हुँदा पानी नपरेजस्तै, आंशिक मायाको के काम?
तपाईंको जीवनसाथी हुन चाहनेमा न्यूनतम के-के गुण हुन जरुरी छ?
कोही पनि फर्फेक्ट हुँदैन भनेर पनि भनिन्छ। तर, इमानदार होस्। नारीलाई सम्मान गरोस्, सपोर्ट गरोस्। ममीले लेखिदिनुभएको गीतमा भनिएजस्तै, 'म रुँदा सँगै रुने धेरै पाइन्छ, मलाई त आँशु पुछ्ने साथी चाहिन्छ।' यसले पनि धेरै बुझाउँछ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
न्युरोडभएर बगिरहेको भीडमा बुधबार बेलुकी अचानक मुलुकले चिनेका एकजना विद्वान कवि देखापरे। उनको पाखुरालाई एउटी सुन्दर युवतीले च्याप्प समातेकी थिइन्। ठीक विपरित दिशामा बढ्दैगरेका हामी खिचापोखरी मोडैमा आमनेसामने भयौं।
सामान्य औपचारिकतालगत्तै कवि तुलसी दिवसले ती टाँसिएरै उभिएकी युवतीसँग अंग्रेजीमा परिचय गराए।
‘उनी नवल अल आली हुन्,’ त्यतिखेरै युवती मुसुक्क हाँसिन्, ‘जोर्डनकी कवयित्री एवं लेखिका।’
अघि देख्दैखेरि उज्यालो लागेको दुवै अनुहार अब मेरानिम्ति भने चम्किन पनि थाले। यस्तो लाग्दै थियो सिंगो न्युरोड त्यतिखेर आफैँमा एउटा रंगिन क्यानभास बनेको छ र त्यस बीचमा चित्रकारले एउटा विशिष्ट दृश्य उभ्याइदिएका छन्।
‘एकदमै खुशी लाग्यो,’ युवतीको मुस्कानमा अड्किएको मेरो ध्यानलाई कवि दिवसतर्फ मोड्दै सोधेँ, ‘सर, अनुमति दिनुहुन्छ भने एउटा फोटो खिचौं?’
‘स्योर... गो अहेड...’
मैले क्यामरा तेस्र्याएँ। र, दुई–तीन–चारवटै फोटो खिचेँ
‘क्लिक क्लिक क्लिक’
घर आएपछि फोटोलाई कम्प्युटरमा राखेँ। एकछिनसम्मै हेरेँ। ध्यान उतै लागिरह्यो।
प्रेम,जीवन,कवि र उमेर...
मेरो मनमा यो चारवटा शब्द घुम्न थाल्यो। देस विदेसका थुप्रै विश्वविद्यालयमा पढाइसकेका दिवसलाई यो चारवटा शब्दमा मात्र केन्द्रित रहेर प्रवचनका निम्ति अनुरोध गर्ने निधो गरेँ। समय मिल्यो, शुक्रबार बेलुकी
***
पुल्चोक क्याम्पस नजिकै उनी स्वयंले हाँक्दैगरेको सेतो कारलाई म मोटरसाइकलले पछ्याइरहेको छु। उपत्यकाकै लोभलाग्दोमध्येको टोल हो यो। कामगर्ने मान्छेले ढोका खोलिदिएपछि फराकिलो बगैँचा भएको घरभित्र हामी प्रवेश गर्छौं जहाँ एउटा बाघजस्तै एलसिसिएन र अर्को पनि कुनै विदेशी नश्लको कुकुरले तर्साएर स्वागत गर्छ।
‘३५ सालतिरै बनाएको घर हो यो,’ दिवस भन्छन्, ‘यसको आर्किटेक्ट अहिले नास्टका उपकुलपति भएका छन्।’
बैठक भित्र जाने मानेका चित्रकारहरुको ठूल्ठूला पेन्टिङ झुण्डिएका छन्।
‘के पिउने ?’ उनले सोधे
‘कालो चिया,’ मैले भनेँ
र सोफामा आमने सामने भएर बस्यौं
***
ठूल्ठूला साहित्यकारले इच्छा राख्ने नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यतासमेत पाएका यी ७४ वर्षे कविसँग के छैन ? हत्तपत्त अरुले नपाउने देस विदेसका अनुभव, पैसा, नाम...सबथोक छ। तर, सबैसँग हुनेगरेको एकचिज भने उनीसँग छैन– जीवनसाथी। हो, उनले आजसम्म बिहे गरेका छैनन्।
‘नचाहेर ?’
‘होइन, चाहेको कुरा नपाएर...’
मैले कालो चियालाई सुरुप्प पारेँ र त्यो चाहेर पनि नपाएको कुरोबारे जान्ने इच्छा दर्शाएँ।
‘धनकुटाछँदै पद्मकन्या क्याम्पसमा शिक्षकको नियुक्ती पाएँ,’ उनी भन्न थाले, ‘यसरी २०२२ सालमा म काठमाडौं भित्रिएको थिएँ।’ उतिबेला नेपालकै एकमात्र महिला क्याम्पसमा उनी अतिरिक्त क्रियाकलापका गुरु थिए। नचाउने, वादविवाद गराउनेदेखि लिएर खेलकूदसम्म भ्याउनु पर्ने भर्खरका तन्नेरी शिक्षक।
छात्राहरुदेखि लिएर प्राध्यापिकासम्म उनीसँग नजिकिन्थे। यसले ‘बाइप्रोडक्ट’का रुपमा टन्नै चर्चा पनि जन्माउँथ्यो।
‘घरि योसँग भनेको छ–घरि उसँग,’ उनले भने, ‘जसजसलाई जो जोसँग मनलाग्छ उसैसँग जोडेर मेरा कुरा चलाइन्थे।’
तर, हावामा उडिरहने यस्ता हल्लाहरु सधैभरि झुठ भने भइरहेनन्। सुरुमा त एकजना गुरुआमासँगै अलिक नजिकिए। तर, उनीसँग कुरा मिलेन। त्यतिबेलै एकजना विद्यार्थीसँग भने उनको हिमचिम बढ्न थाल्यो।
‘नभएको कुरासमेत चर्चा गर्नेहरुले अब त मसँगै टेबलटेनिस खेल्ने र नाचगानमा भाग लिने ति छात्रासँग मेरो नजदिकी देखिरहेका थिए,’ उनले भने, ‘एक दिन त बिहे भएकोमा बधाइसमेत धमाधम पाउन थालेँ।’
यो विहेको चर्चा पनि तिनै टेबलटेनिस खेल्ने छात्रासँग जोडेर गरिएको थियो, जो काठमाडौंकै परिचित सम्भ्रान्त परिवारकी थिइन्।
सोच्दै जाँदा आफूसँग नाम जोडिएकी ती विद्यार्थी सबै हिसाबले उपयुक्त नै छिन् भन्ने उनलाई पनि लाग्यो। कुरा गर्न बोलाए। आइन्।
‘के हो हाम्रा बारेमा नानाथरिका कुरा चल्दैन् रे...’ भनेर सोधे। जवाफमा ति छात्राले पनि दंग पर्दै ‘हो, मेरा साथीहरु पनि त्यहि कुरा गर्दैछन्’ भनिछिन्।
‘हामी बीच त त्यस्तो केहि छैन। यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। यो खेलवाडको विषय होइन।’
मनभित्र अर्थोकै भए पनि दिवस तत्काल एउटा शिक्षकको मर्यादामा बस्न रुचाए।
‘अभिव्यक्तिकै निम्ति चिनिने एउटा कवि जीवनको महत्वपूर्ण क्षणमा अभिव्यक्तिकै मामलामा चुक्यो,’ उनले भने, ‘त्यसको सजाय त पाउनै थियो।’
कोठा एकछिनसम्म शान्त भयो। मैले फेरि कप उठाएर सुरुप्प पारेँ।
‘दुई महिना पनि नबित्दै एउटा बिहेको कार्ड हातमा पर्यो...’ उनी फेरि थामिए र एकैछिनपछि फेरि थर्थराएको आवाजमा बोल्न खोजे, ‘त्यहि त्यहि...’
आँखाको दुवै कुनामा थोरै सेतो टल्किन थाल्यो। उनले चश्मा उठाएर पुछे।
‘म गएँ र वरवधुलाई बधाइ दिएँ।’ अब बिर्सनुको कुनै विकल्प बाँकी रहेन।
त्यसको एक महिनापछि मात्रै उनी क्याम्पस पुगे।
गेरुवा साडी लगाएकी छात्राहरु सिँढीमा लहरै बसेका थिए। एकजनाको झर्झराउँदो उज्यालो अनुहार टाढैबाट देखापर्यो। सिन्दुर पनि पोतिएको त्यो अनुहार धपधपी बलिरहेको थियो। दिवस सरलाई खपिनसक्नु भयो। एक किसिमको प्रहारजस्तो भइरहेको थियो उनलाई। एकछिनसम्मै मर्माहत भए।
‘आफैँलाई ढाँटेर शिक्षकको मर्यादामा बस्न खोज्दा मैले कत्रो सजाय पाइरहेको थिएँ,’ उनले भने, ‘त्यति एउटा सानो क्षणको सानो कुराले मेरो जीवनको आकार प्रकार सबै फेरिदियो।’
***
दिवस सरलाई बेला बेलामा एक्लो महशुस हुन्छ। केहि समयअघि पनि त्यस्तै भएको थियो। त्यसैले न्याश्रो मेट्न घरबाट अलिक पर रहेको चिडियाखाना पुगे। त्यहाँ फरक फरक जनावर देखेपछि एकछिन मन भुल्यो।
‘फर्किने बेलामा फेरि अर्कै कुरा मनमा खेल्यो,’ उनले सुनाए, ‘त्यहाँ देखेका पशुपक्षीका गुण त सबै मै भित्र छ। म कहिले बाघ जस्तो गर्जन्छु, कहिले कुकुरजस्तो भुक्छु, बाँदरजस्तो चकचक पनि गर्न मनलाग्छ अनि गधाजस्तो बिसिद्धि पनि बनिदिन्छु। कहिलेकाँहि मृग वा खरायोको बच्चाजस्तै शान्त हुन मनलाग्छ। म भित्रै घोडा छ, स्याल छ, ठुँग्ने सर्प छ। भनेपछि त प्रत्येक मान्छे भित्र सिंगो चिडियाखाना रहेछ।’
उनले ८४ लाख जुनीको कुरा पनि निकाले जुन मान्यता अनुसार सम्पूर्ण पशुपंक्षीको जीवन भोगीसकेपछि मात्र मान्छेको जुनी पाइन्छ भनिन्छ। विकासवादी सिद्धान्तले पनि त मान्छेलाई सबैभन्दा पछि विकसित भएको प्राणी भनेको छ। र, समयअनुसार आफूभित्र अन्तर्निहित पाशविक गुणको व्यवस्थापन गर्नसक्ने मान्छे नै सफल हुने उनको निश्कर्ष छ। उचित समयमा भुक्ने, गर्जिने, झम्टिनेदेखि शान्त बन्ने सम्मका पाशविक गुणहरुको व्यवस्थित प्रयोग हुनुपर्ने उनको मान्यता छ।
‘यसरी मान्छेले जुनी अनुसार भोगेका पाशविक गुण बोकेका हुँदारहेछन्,’ उनले भने, ‘त्यसो हो भने त प्रत्येक जुनीमा एक वा अर्को प्रकारले गरिने प्रेम त अझ खाँदिएर रहने नै भयो।’
एउटा प्रेम असफल भयो भन्दैमा मान्छे सँधैका निम्ति यसबाट टाढा रहिरहन पनि त सक्दैन। अब कुरा निस्कँदै थियो दिवस सरको अर्को प्रेमको।
दुईपटक टोकियो विश्वविद्यालयका ‘भिजिटिङ प्रोफेसर’ रहिसकेका दिवस सर त्यतिबेला पहिलो कार्यकालका निम्ति जापान जाँदै थिए। त्यतिबेला उनलाई विश्वविद्यालयले परिवार र सहयोगीको खर्च पनि व्यहोर्ने बताएको थियो। परिवार त उनीसँग थिएन। सहयोगीका रुपमा भने कुनै जापान तिरकै मान्छे पाए राख्ने धारणा बनाए।
उनकी सानीआमाकी एकजना जापानी साथी रहिछन्, कोलकातास्थित शान्ति निकेतनमा पेन्टिङमा स्नातकोत्तर गरेकी। अंग्रेजी, हिन्दी र बंगाली पनि राम्रोसँग बोल्ने। सानीआमाले उनको ठेगाना दिइन् र त्यहि बोकेर दिवस जापान लागे।
टोकियो कै प्रसिद्ध रोपोंगीमा विश्वविद्यालयले उनको बसोबासको प्रवन्ध मिलाएको थियो। सानीआमासँग लिएर गएको ठेगानामार्फत् उनले तीनमहिनासम्मै ती जापानी युवतीलाई खोज्ने कोशिस गरे। भेट भएन।
‘मैले अध्ययन र फिल्डवर्क पनि गर्नुपथ्र्यो,’ उनले भने, ‘त्यसैले मान्छे खोज्ने काम छाडेर आफ्नै काममा व्यस्त भएँ।’
जापानको कार्यकाल सकिएपछि उनी नेपाल फर्किए।
त्यतिबेला उनी नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानको सदस्य भइसकेका थिए। एकदिन उनलाई भेट्न एउटा गुलावी साडी लगाएको सुन्दर विदेशी युवती आइपुगिन्। साथमा थिइन् सानीआमा। तीन महिना लगाएर खोज्दा पनि जसलाई उनले जापानमा भेटेका थिएनन् ति युवती त यिनै रहिछन्।
‘यता म जीवनमै पहिलोपटक उनलाई भेट्दैछु,’ उनले भने, ‘उता उनीचाहिँ भेट्न पाएको छैन ‘म तिमीसँग बिहे गर्नकै निम्ति आएकी हुँ’ पो भन्छिन्।’
यसरी भेटै नभएको मान्छेसँग एकैपटक बिहे नै गरिहाल्ने हिसाबले मनपराउनुको कारणबारे दिवस जिज्ञासु बनेछन्। जवाफमा ति युवतीले पनि उनका बारे छापिएका र प्रशारण भएका धेरै सामग्री हेरिसकेको सुनाए। त्यसैगरि शान्ति निकेतनमा पढिरहेकै बेला पनि सानीआमामार्फत् पाएका जानकारीहरुबाट उनी उत्साहित बनेकी रहिछन्।
‘काठमाडौं बसुन्जेल साह्रै गरेपछि मैले उनको विहेको प्रस्तावबारे जवाफ दिनै पर्ने भयो,’ दिवसले त्यतिबेलाको जवाफ पनि सुनाए, ‘तिमीले निधो गरे पनि म यसरी अचानक बिहेको निर्णय लिन सक्दिनँ।’
ति युवती जापानकै एकजना दिवंगत अर्बपतिकी एक्ली छोरी थिइन्। बिहे गर्नेले नमानिदिएपछि सम्पत्ति र रुपले के गथ्र्यो ? उनी निराश भएर फर्किइन्।
त्यो भेटघाटको दुई महिनापछि नै दिवसलाई हवाइ जानुपर्ने भयो। फर्केर आउँदा बाटोमा जापान पथ्र्यो।
‘तत्काल बिहे नगर्ने भए पनि जापान पुगेको बेला भेट्ने वचन मैले उनलाई दिएको थिएँ,’ दिवसले भने, ‘फेरि भेट जुर्यो।’
ति जापानी युवतीले घरमा असाध्यै राम्रो स्वागत गरिन्। आमासँग पनि भेट गराइन्।
त्यसपछि दिवसले आफू बसेको प्रिन्स होटलमै दोश्रो भेटघाटका निम्ति बोलाए।
‘हाउ डु यु फिल नाउ ?’ कफि पिइरहेकै बेला उनको ताजा मनोदशा बुझ्ने हिसाबले दिवसले सोधे, ‘के तिमीभित्र अहिले पनि मप्रति उस्तै धारणा छ ?’
तर, गजब भयो। उनले त नचिताएको जवाफ पो फर्काइन्।
‘नो आइ डन्ट ह्याब द्याट फिलिंग नाउ,’ भनिछन्, ‘म अब तिमीसँग बिहे गर्न चाहन्न।’
एकछिन् त दिवसलाई झट्का लागेजस्तै भयो। तै पनि सम्हालिँदै बोल्ने तरखरमा जुटे।
‘मैले भनेकै थिएँ नि, जीवनमा तत्काल ठूलो निर्णय लिनुहुँदैन,’ उनले त्यतिबेला बोलेको सम्झिए, ‘लौ हेर त पछुताउनु पथ्र्यो कि पर्दैन थियो?’
कपमा कफी बाँकी भएपछि कुरा त गरिरहनै पर्यो। त्यसमाथि दिवसलाई लरोतरो पाराले हार मान्न मन थिएन।
‘त्यतिबेलाको मेरो व्यवहारबाट दुःखित भएर अहिले पनि मनमा एउटा कुरा मुखमा अर्को कुरा गरेकी त होइनौ ?’ उनले भनेछन्, ‘पछि फेरि पछुताउनु पर्ला नि।’
अनायास निस्कँदै गएका शब्दहरु र व्यवहारबाट दिवसलाई आफुले ति जापानी मनपराउन थालेको अनुभूति हुँदै गएछ।
‘तिम्रो मनमा अहिले पनि मेरानिम्ति उस्तै विचार छैन भने किन भेट्नलाई यत्तिको उत्साह देखायौ ? पहिलोपटक तिमीलाई बोलाएर पनि म होटलमा उपस्थित हुन सकिन। तै पनि तिमी दोश्रोपटक मलाइ भेट्न आयौ। यतिधेरै उपहारहरु मलाइ ल्याइदिएकी छौ। किन ?’ उनले सोधेछन्।
‘म नेपाल गएको बेला तिमीले जे जति गर्यौ त्यसका निम्ति म अनुगृहित थिएँ। हामी जापानीहरु गुन बिर्सँदैनौं,’ उनले पनि फर्काइन्।
दिवसले फेरि पनि झकझक्याउन खोजे। उनी अडिगै रहिन्।
‘उनले पहिलोपटक भावना व्यक्त गर्दा मैले गम्भीरतापूर्वक लिइदिइँन,’ दिवसले भने, ‘त्यसैले उनको आत्मसम्मानमा ठेस लागेर यस्तो निश्चयमा पुगिछन्।’
त्यतिन्जेल साँझ परिसकेको थियो।
दिवसले उनलाई आइदिएकामा र उपहारहरु ल्याइदिएकामा धन्यवाद भने।
उनी जुरुक्क उठिन् र ठम् ठम् ढोकातिर लागिन्। पहिलो ढोका नाघिन्। त्यसपछि होटलको दोश्रो र अन्तिम ढोका थियो। त्यहाँचाहिँ टक्क अडिन्। फरक्क पछाडि फर्केर हेरिन्।
‘त्यो बेला अस्ताउँदै गरेको सूर्यको पहेँलो किरण उनको अनुहारमा परेको थियो,’ उनले भने, ‘उनका रसाएका आँखा दुवै किनाराबाट यस्तरी झर्न थाल्यो, मानौ त्यो अनुहारलाई धपक्क बाल्ने सूर्य त्यहीँनिर पग्लेर तप् तप् चुहिरहेको छ।’
त्यसपछि दिवसको ति जापानी युवतीसँग जीवनमा कहिल्यै भेट भएन। तर, छुट्टिने बेलाको त्यो घाम परेको अनुहार र आँसुलाई उनी अहिले पनि सम्झिन्छन्।
‘जसरी धेरै वर्ष पहिले पद्मकन्यामा मैले आफ्नो विद्यार्थीलाई भनेको कुरा मेरो आफ्नो मनको अभिव्यक्ति थिएन,’ उनले थपे, ‘त्यसैगरि ती जापानीले मलाई जे भनेर विदा भएकी थिइन् त्यो पनि उनको कुरा थिएन।’
***
तुलसी दिवसका निम्ति उमेर एउटा बितिरहेको–बगिरहेको कुरा हो। यसलाई च्याप्प समातेर–थन्क्याएर राख्न कसैले पनि सक्दैन। सक्रिय जीवन बाँच्नेहरुका निम्ति उमेर भनेको संख्याभन्दा बढी केहि हुँदा पनि हैन।
उमेरलाई सोचेर बस्नुभन्दा पनि युवा युवतीहरुसँग सिर्जनात्मक रुपले टक्कर लिनुमा उनलाई आनन्द आउछ।
‘मान्छे क्रियाशील रहुन्जेल उ तन्नेरी हो,’ उनी भन्छन्, ‘कोहि यदि निश्क्रिय भएर बसिरहेको छ वा उसको आन्तरिक उर्जा उठिरहेको छैन भने कलिलै उमेरमा पनि उ बुढो बन्छ।’
त्यसैले त अहिले पनि कवि तुलसी दिवस व्यस्त जीवन बाँच्छन्। दुई दसकअघि उनैले स्थापना गरेको ‘फोकलोर सोसाइटी’ (लोकवार्ता समाज)का उनी अहिले पनि अध्यक्ष छन्। विहान सबेरै घरबाट हिँडेपछि अफिसबाट फर्कँदा प्रायः रात परिसकेको हुन्छ। संस्थामा उनलाई उपाध्यक्षका रुपमा अर्का परिचित प्राध्यापक अभि सुवेदीले सघाइरहेका छन्।
भौतिक तथा अभौतिक साँस्कृतिक सम्पदा नै नेपालीको सम्पन्नताका सबैभन्दा ठूलो आधार ठान्ने यो संस्थाले थुप्रै जातजातीमा आधारित पुस्तक र श्रब्यदृश्य दस्तावेजहरु तयार पारिसकेको छ।
सोसाइटीले यहि बैशाख ११, १२ र १३ गते काठमाडौंमा अन्तर्राष्ट्रिय सम्पदा सम्मेलनको आयोजना गरिरहेको छ। १५ भन्दा बढी मुलुकबाट आउने त्यसका सहभागीले सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेभएका छन्।
यसरी संस्थाको काममा मात्र होइन। साहित्यिक गतिविधिमा पनि उनको उत्तिकै समय जान्छ। आइतबार नै उनी बंगलादेशमा आयोजना हुनलागेको एक साहित्यिक जमघटका निम्ति नेपालको प्रतिनिधित्व गरेर जाँदैछन्। त्यसैगरि देस भित्रै पनि विभिन्न कार्यक्रमका निम्ति आउने निम्तो उनी सकभर छुटाउँदैनन्।
***
प्रेमलाई केवल शारिरिक प्रकृयासँग जोडेर हेरियो भने मात्र त्यो उमेरसँग सम्वन्धित हुने कवि तुलसी दिवसको धारणा छ। नत्र भने यो अनन्तसम्म फैलिएको निराकार विषय हो।
‘प्रेमलाई उमेरले कहिल्यै बाधा पार्दैन,’ उनी भन्छन्, ‘अर्कोतिर मनका हिसाबले हेर्ने हो भने मान्छे पाको हुन्छ, बुढो कहिल्यै हुँदैन।’
त्यसैगरि स्त्री पुरुष सम्वन्धलाई हेर्ने दृष्टिकोण पनि बदलिँदो समयसँगै फेरिन थालेको उनको ठहर छ।
‘सम्वन्ध मात्र होइन कुनै पनि कुरालाई परम्परागत हिसाबले एउटा मात्र दृष्टिकोणबाट हेर्ने र व्याख्या गर्ने समय गयो,’ उनी भन्छन्, ‘हामी अब बहुरेखामा एकैपटक धेरै प्रकारको जीन्दगी, धेरै प्रकारको चिन्तन र धेरै प्रकारको अनुभूति बोकेर हिँड्न थालेका छौं।’
प्रेम भनेको एकजनाले एकजनालाई मात्र गर्न सक्छ भन्ने पुरानो आदर्शको कुरा अब काम नलाग्ने उनी बताउँछन्।
‘पाखण्डी नै भएर बाँच्ने हो भने बेग्लै कुरा,’ उनी भन्छन्, ‘नत्र कुनै कुनै बेला मान्छेलाई एकसाथ धेरैजनाको माया लागिरहेको हुन्छ। प्रेम भइदिन सक्छ। भइदियो भने के गर्ने ? र यो सत्य हो।’
अहिले पनि परम्परागत मान्यताले डो¥याएको समाज भएकै कारण एउटै महिलासँग जीवन बिताउनु वा एउटै पुरुषसँग जीवन बिताउनुलाई नै आदर्शको ट्याग लगाइएको छ। अब यस्ता कुराहरुको समयले आफैँ विनिर्माण गरिदिने उनको दाबी छ।
यो सबै कुराको आधारमै उनी भन्छन्, ‘जीन्दगी सोचेको भन्दा नसोचेकै ज्यादा हो। देखेको भन्दा नदेखेकै ज्यादा हो। बुझेकोभन्दा नबुझेकै ज्यादा हो। योजना भित्रभन्दा अयोजना भित्रै ज्यादा छ।’
त्यस्तै अयोजनाले एउटा नयाँ परिस्थितीमा पु¥याइदिएको रहेछ कवि तुलसी दिवसलाई यो साता।
केहि समय पहिले भारतस्थित साहित्य अकादमी र भारतीय सँस्कृति मन्त्रालयको आयोजनामा विश्व कविता महोत्सव भएको थियो। नेपालको प्रतिनिधित्व गर्दै उनी दिल्ली पुगे। उनैले सभापतित्व गरेको एउटा सेसनमा एकजना प्यालेस्टिनी कविले कविता वाचन गरेका थिए।
तिनै प्यालेस्टिनी कविको गत साता एउटा इमेल आएछ।
इमेलमा उनकी एक जोर्डनी कवि एवं लेखिका साथी नेपाल घुम्न आउँदैगरेको जानकारीका साथ दिवससँग तिनले अन्तर्वार्ता लिन चाहेको उल्लेखित थियो। दिवसले जवाफमा आफ्नो टेलिफोन नम्वर पठाइ दिए।
गत मंगलबार दिवसको फोनमा एउटा अपरिचित महिला आवाज गुञ्जियो। रेडिसन होटलमा बसेकी तिनै जोर्डनी रहिछिन्। दिवस होटलमै पुगे।
‘उनीसँग त्यो मेरो पहिलो भेट थियो,’ दिवस भन्दै गए, ‘तर, यस्तो लाग्दै थियो हामी जन्मौंजन्मदेखि एक अर्कालाई चिन्छौं।’
एकअर्काका प्रत्येक कुरामा हार्दिकता मिसिन थाले। कुनै अप्ठेरो त्यहाँ थिएन। प्रत्येक कुरा एउटा रोचक र रमाइला सन्दर्भका रुपमा परिणत हुनथाले।
‘मलाइ उनको उमेर थाहा थिएन, न उनले मेरो उमेर सोधिन्,’ उनी भन्छन्, ‘त्यहाँ हाम्रा निम्ति उमेरको कुनै माने नै थिएन।’
यसरी सुरुभएको कुराकानी कला, सँस्कृति र साहित्यका बारेमा मात्र सीमित नरहेर बिस्तारै घेरा नाघ्दै गयो। महिला र पुरुषको सम्वन्धमा पनि विषयले प्रवेश गर्यो। प्रेमका कुरा हुन थाले।
‘त्यहाँ कुनै पर्दा बाँकी थिएन,’ उनले भने, ‘हामी दुवै उन्मुक्त भइसकेका थियौं।’
उनीहरुले कोठा मात्र होइन घरि होटलको रुफटपमा पुगेर कुरा गरे, घरि स्विमिंग पुल छेउमा त घरि रेष्टुरेन्ट। जता जता मनलाग्यो त्यतै त्यतै बस्न र बात मार्न थाले।
‘म किन आजसम्म अविवाहितै रहेँ भन्ने कुरामा पनि जिज्ञासा राखिन्,’ उनले भने, ‘त्यसैगरि उनको पनि एकजना पूर्व प्रेमी रहेछन्, त्यो प्रेमका बारेमा पनि कुरा भयो।’
आफूले विवाह गर्दिन भनेर कहिल्यै कसम नखाएको दिवसले उनलाई बताए। ‘जीवन मेरा सामुन्ने जसरी उपस्थित भयो मैले त्यसका प्रत्येक पललाई त्यसैगरि ग्रहण गर्दै आएँ,’ उनले दोहो¥याए, ‘यो जसरी जसरी बग्दै गयो, म आजसम्म त्यहि त्यहि धारमा बढ्दै आएको छु।’
जोर्डनी कवयित्री आलीले लण्डनमा हिस्ट्री अफ आर्ट पढेकी रहिछन्। युरोपियन युनियनको छात्रवृत्तिमा फ्रान्समा पनि पढेको दिवसलाई सुनाइन्।
साथमा रहँदा अरबिक भाषा र नेपाली भाषाका कृतिहरुको दुवैजनाले अंग्रेजी माध्यमलाई समातेर सक्दो बुझ्ने बुझाउने कोशिस पनि गरे।
‘मैले उनलाई होटलमा बसेर मात्र सबैथोक बुझिन्न बाहिर हिँड भनेँ,’ दिवस भन्छन्, ‘त्यसपछि मेरो कार होटलमै पार्क गरेर हामी दुवै ट्याक्सीमा न्युरोड गेट पुग्यौं।’
दिवसले त्यसदिन हाम्रो भेटघाट हुँदाको क्षणसँग सन्दर्भलाई नजिक्याउँदै ल्याए।
‘जसै न्युरोडमा ओर्लिएर हिँड्न थाल्यौं मेरो सामुन्ने भाइब्रेन्ट र कलरफुल दृश्यहरु दौडिरहेका थिए,’ उनले थपे, ‘यता हामी दुइजना छौं, उता थरि थरिका मान्छेहरु, थरि थरिका सामानहरु, अनेक लुगाफाटा अनि संसारैभरिका मान्छेहरु थुप्रिएर त्यहाँ आइपुगेजस्तो।’
दिवस जोडिसँग भेट हुँदाको क्षण अर्थात् बुधबार बेलुकी पनि हामीलाई न्युरोड सँधैको जस्तो उहि भीडभाड उहि धुलोधुँवा लागेको थियो। तर उनीहरु त अर्कै दुनियाँमा पुगेका रहेछन्।
‘देख्दै आएका वसन्तपुरको तिनै दृश्य तिनै परेवाका बथानमा म एउटा नयाँ अनुभूति गरिरहेको थिएँ,’ उनले भने, ‘त्यो क्षण हामी दुवैका निम्ति कुनै महान प्रेमीहरुले पेरिस वा लण्डनमा बिताएको भन्दा एकरत्ति पनि कम थिएन।’
दिवसका थुप्रै कविताहरु बोकेर नवल अल आली शुक्रवार दिउँसो स्वदेस फर्किसकेकी छिन्।
मेरो डेस्कटपमा भने बुधबार बेलुकीको तस्बिर अहिले पनि मुस्काइरहेको छ।
साभार:सेतोपाटी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आस्था राउतको पहिलो एल्बम 'आधार'का गीत 'झुम्के बुलाकी' र 'चौबन्दीमा पटुकी' निकै रुचाइएका छन्। स्टेज कार्यक्रमका लागि यतिबेला उनको माग उच्च छ। देशका साथै विदेशका धेरै ठाउँमा उनले आफ्नो प्रस्तुति पस्केकी छिन्। एक महिनापछिका कार्यक्रमका लागि समेत उनी 'बुक्ड' हुन्छिन्। नयाँ वर्षका अवसरमा हुने कार्यक्रमका लागि मात्रै २२ ठाउँबाट फोन आइसकेको बताउँछिन् उनी।

.jpg)